2026 October 02/ 02:27: 09pm

    बनेपा/विश्व मुटु दिवस २०२६ को अवसरमा नेपाल हृदय रोग निवारण प्रतिष्ठान काभ्रेले आयोजना गरेको जिल्लास्तरीय निबन्ध लेखन प्रतियोगितामा चण्डेश्वरी श्रृस्टिकान्त माध्यमिक विद्यालय, बनेपाकी रश्मि श्रेष्ठ प्रथम भएकी छन् ।
    प्रतियोगितामा बनेपास्थित बनेपा निस्ट माध्यमिक विद्यालयकी प्रतिभा शर्माले द्वितीय र चण्डेश्वरी श्रृष्टिकान्त माध्यमिक विद्यालयकी प्राइशा खुप्पाले तृतीय स्थान हासिल गरेका छन् । उनीहरूलाई क्रमशः प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गरिएको छ । प्रतिष्ठानले उत्कृष्ट हस्तलेखनतर्फ जनक माध्यमिक विद्यालय, नमोबुद्ध भकुण्डेकी स्वस्तिका मिजारलाई पुरस्कृत गरेको छ । त्यस्तै, सान्त्वना पुरस्कारतर्फ बनेपास्थित विद्यासागर अंग्रेजी माध्यमिक विद्यालयकी संरचना नेपाल र नेपाल प्रहरी विद्यालयकी सृष्टि कुमारी यादव पुरस्कृत भएका छन् ।
    प्रतियोगितामा दुर्गम क्षेत्रका विद्यालयबाट सहभागी भएका विद्यार्थीलाई पनि विशेष सम्मान गरिएको थियो । रोशी गाउँपालिकास्थित भीमेश्वर माध्यमिक विद्यालयकी जस्मिन रायमाझी र महाभारत गाउँपालिकास्थित ग्रामोन्नति माध्यमिक विद्यालयकी जेनी स्याङ्तानलाई सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ ।
    श्रवण अपाङ्गता भएका विद्यार्थीहरूको सहभागितालाई प्रोत्साहन गर्दै काभ्रे बहिरा विद्यालय, बनेपाका निशान श्रेष्ठ र प्रिन्स बैठालाई पनि विशेष सम्मान गरिएको छ । दृष्टिसम्बन्धी अपाङ्गता भएका विद्यार्थीहरूबीच छुट्टै प्रतिस्पर्धा गराइएको थियो । उक्त विधामा ललितपुरस्थित नमुना मच्छिन्द्र माध्यमिक विद्यालयका शंकर थिङ प्रथम, काठमाडौंस्थित टेक्सास इन्टरनेसनल कलेजका प्रज्वल उप्रेती द्वितीय र भक्तपुरस्थित आदर्श माध्यमिक विद्यालयका अजय नेपाल तृतीय भएका छन् । सोही विधामा आदर्श माध्यमिक विद्यालयकै सन्देश स्याङ्बोलाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ ।
    प्रतियोगितामा ७७ प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने १६ जना विद्यार्थीलाई पनि प्रतिष्ठानले उत्कृष्ट प्रदर्शनका लागि सम्मान गरेको छ । सम्मानित हुनेमा जनक माध्यमिक विद्यालयकी प्रतिमा कुइँकेल, ज्ञानकुञ्ज एकेडेमीका कृष्ण घिमिरे, काभ्रे अंग्रेजी माध्यमिक विद्यालयकी विमशा थापा, नेपाल प्रहरी विद्यालयकी सोनिया खड्गी र काभ्रे अंग्रेजी माध्यमिक विद्यालयकी जोया लामा रहेका छन् । त्यसैगरी, विद्यासागर अंग्रेजी माध्यमिक विद्यालयका जयन्त थापा, काभ्रे अंग्रेजी माध्यमिक विद्यालयकी अर्पिता गुरागाईं, नेपाल प्रहरी विद्यालयकी यश्ना सोनाम, श्रीखण्डपुर माध्यमिक विद्यालयका सालिन बिष्ट, भालेश्वर माध्यमिक विद्यालयकी स्मिता मगराती, शिक्षा सदन माध्यमिक विद्यालयका अनुज अवाल, विद्यासागर अंग्रेजी माध्यमिक विद्यालयका प्रनिश श्रेष्ठ, श्रीखण्डपुर माध्यमिक विद्यालयकी रविना कुमारी राना, नेपाल प्रहरी विद्यालयकी ऋद्धिश्री प्रजापति, काभ्रे माध्यमिक विद्यालयकी ग्रिशिका कँडेल र चण्डेश्वरी श्रृष्टिकान्त माध्यमिक विद्यालयकी पुष्पा दाहाल पनि सम्मानित भएका छन् । 
    प्रतिष्ठानका अनुसार प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई पुरस्कार तथा सम्मान प्रदान गर्न रोटरी क्लब अफ धुलिखेल, रोटरी क्लब अफ काभ्रे बनेपा, रोटरी क्लब अफ काभ्रे भ्याली, लायन्स क्लब अफ काभ्रे बनेपा, किवानिस क्लब अफ काभ्रे नेपाल, सर्वश्री क्वालिटी प्रिन्टिङ प्रेस, कोमलप्रकाश घिमिरे, पतञ्जली योग केन्द्र र अमरनाथ सगरनाथ बादेले सहयोग गरेका थिए । यसैबीच, रोटरी क्लब अफ धुलिखेलले पुरस्कार प्राप्त गर्ने सबै विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत वितरण गरेको थियो ।
    मुटु स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, विद्यार्थीलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने तथा मुटुरोगको रोकथामबारे जानकारी दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नेपाल हृदय रोग निवारण प्रतिष्ठान काभ्रेले जनाएको छ । प्रतिष्ठानले प्रतियोगितामा सहभागी सबै विद्यार्थी, विद्यालय, शिक्षक, अभिभावक, सहयोगी संस्था तथा व्यक्तिलाई धन्यवाद दिँदै यस्ता कार्यक्रमले बालबालिका तथा युवालाई मुटु स्वास्थ्यको सन्देशवाहक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । विश्व मुटु दिवसको अवसरमा आयोजित कार्यक्रमले आफ्नो मुटुलाई माया गरौँ, मुटुको रक्षा गरौँ र मुटुको धड्कनलाई निरन्तरता दिऔँ भन्ने सन्देश प्रवाह गरेको छ ।