धुलिखेल/विश्व पर्यटन दिवस २०२६ को सन्दर्भमा नेपालको पर्यटन क्षेत्रमा काभ्रेपलाञ्चोक जिल्लालाई एक प्रमुख र सम्भावनायुक्त गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यसहित विस्तृत कार्ययोजना सार्वजनिक गरिएको छ ।
होटल संघ नेपाल (हान) काभ्रेपलाञ्चोक धुलिखेलका अध्यक्ष प्रल्हाद प्याकुरेलले प्रस्तुत गरेको विवरण अनुसार जिल्लामा पर्यटन पूर्वाधार र लगानी तीव्र रूपमा विस्तार भइरहेको छ । होटल व्यवसाय र आर्थिक योगदानको बलियो आधारजिल्लामा पर्यटकहरूको बसोबासलाई मध्यनजर गर्दै विभिन्न क्षेत्रमा होटल तथा लजिङ सुविधा उपलब्ध छन् । तथ्याङ्क अनुसार काभ्रेपलाञ्चोक जिल्लाभर कुल १८९ वटा होटलहरू सञ्चालनमा रहेका छन् । धुलिखेल क्षेत्रमा मात्रै ८८ वटा होटल (२३ वटा पर्यटक स्तरीय, १३५० कोठा र २८५० बेड क्षमता) रहेका छन् । नगरकोट क्षेत्रमा ६३ वटा होटल, बनेपा क्षेत्रमा १५ वटा होटल, पनौती, बल्थली र कुशादेवी क्षेत्रमा ७ वटा होटल, दोलालघाट क्षेत्रमा ७ वटा होटल नमोबुद्ध क्षेत्रमा ६ वटा होटल, पलाञ्चोक क्षेत्रमा ३ वटा होटल रहेका छन् ।
धुलिखेल क्षेत्रमा मात्रै पर्यटन क्षेत्रमा करिब २५ अर्ब रुपैयाँ लगानी भएको छ भने बैंकमार्फत १५ अर्ब रुपैयाँ कर्जा परिचालन भई वार्षिक १ अर्ब रुपैयाँ ब्याज भुक्तानी भइरहेको छ । यस क्षेत्रबाट प्रत्यक्ष रूपमा १३ सय जनाले रोजगारी पाएका छन् । जसमध्ये ८० प्रतिशत (१०४० जना) स्थानीय जिल्लाकै जनशक्ति रहेका छन् । साथै, यस क्षेत्रको वार्षिक कारोबार २ सय करोड रुपैयाँभन्दा बढी र कर योगदान ३० करोड रुपैयाँभन्दा बढी रहेको छ । भौगोलिक विविधता र प्रमुख आकर्षण रहेको काभ्रेपलाञ्चोक जिल्लामा २८० मिटरको कोखाजोर खोलादेखि ३०१८ मिटर उचाइको बेथानचोक नारायणस्थानसम्मको उचाइमा फैलिएको छ । जहाँ भौगोलिक, साँस्कृतिक र जैविक विविधतायुक्त प्रचुर पर्यटकीय सम्भावना रहेको छ । जिल्लाका प्रमुख गन्तव्यहरु मध्ये धुलिखेल (सूर्योदय र नेवारी संस्कृति), बनेपा (व्यापारिक र ऐतिहासिक बजार), पनौती (ऐतिहासिक सहर, इन्द्रेश्वर मन्दिर र बल्थली), नमोबुद्ध (पवित्र स्तूपा तथा गुम्बा), पलाञ्चोक भगवती, दोलालघाट र नगरकोट रहेका छन् । साहसिक तथा थप सम्भावना रहेका क्षेत्र भोटेकोशी– दुम्जा–चतरा ह्वाइट वाटर ¥याफ्टिङ, धुलिखेल–कुशादेवी–चण्डेनी क्षेत्रमा प्याराग्लाइडिङ, महाभारत पर्वतीय श्रृंखला (जहाँ ७ किसिमका गुराँस पाइन्छन्) रहेका छन् । ध्यान केन्द्र, बर्डरबटरफ्लाई कलेक्सन सेन्टर, रक क्लाइम्बिङ (कुईभिर, रानीपहाड) र कृत्रिम जलासय (देवीटार) । जिल्लाको पर्यटन विकासमा केही चुनौतीहरू रहेको अध्यक्ष प्याकुरेलले बताए । पर्यटन सम्बन्धी निश्चित योजना र पर्याप्त चेतनाको अभाव, व्यवस्थित सूचना केन्द्र, सेवा केन्द्र तथा पर्यटक गाइडहरूको कमी, सम्भाव्य क्षेत्रहरूको प्रचारप्रसार र अद्यावधिक डकुमेन्ट्रीको कमी, स्थानीय कृषि उत्पादनलाई बजारसँग जोड्न नसक्दा परनिर्भरता बढ्दै जानु लगायतका रहेका छन् ।
धुलिखेललाई नेपालकै पहिलो पर्यटकमैत्री सहरको रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य राखिएको छ । पर्यटकहरूको बसाइ लम्ब्याउन वेलनेस प्याकेज (योग रिट्रीट), मेडिकल प्याकेज (धुलिखेल अस्पतालसँगको सहकार्यमा) र एड्भेन्चर प्याकेज (जिपलाइन, माउन्टेन बाइकिङ, ¥याफटिङ) सञ्चालनमा छ । काठमाडौँको ठमेलबाट धुलिखेलसम्म नियमित पर्यटक बस सञ्चालन गर्ने, पोखरा, चितवन र लुम्बिनीबाट सिधा बस सेवा विस्तार गर्ने, पनौती र नमोबुद्धलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने तथा जिल्लामा ‘पर्यटक प्रहरी’ को व्यवस्था गर्न माग गरिएको छ । सार्वजनिक–निजी साझेदारी मोडलमा स्थायी संयन्त्र निर्माण गरी काभ्रेको समग्र पर्यटन प्रवद्र्धनमा जुट्ने प्रतिबद्धता सरोकारवालाहरुले ब्यक्त गरेका छन् ।









