2026 September 18/ 03:38: 01pm

    धुलिखेल/बेरोजगारको संख्या कतिसम्म छ भन्ने जान्न सरकारी कार्यालयहरूले खुलाउने रोजगारीसम्बन्धी विज्ञापनमा परेको आवेदनले समेत पुष्टि गर्छ । काभ्रेपलाञ्चोक जिल्ला अदालतले एक जना डिठ्ठा र दुई जना कार्यालय सहयोगी पदमा करार सेवाका लागि ९५ जनाको आवेदन दर्ता भएको छ । यति धेरै आवेदकरुबाट जिल्ला अदालतले छनौट गरेको कर्मचारीहरुको पारदर्शिता र कार्यविधि समेत सार्वजनिक गरिदिएको छ । 
    जसका कारण न्याय पाउने अदालतमा हुने गतिविधिहरु पूर्ण रुपमा स्वतन्त्र र निश्पक्ष हुन्छन भन्ने उदाहरण देखिएको छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०८३ भदौ १५ गते कर्मचारी माग गरेको थियो । कार्यालय सहयोगी पदका लागि ५४ जना र डिठ्ठा पदका लागि ४१ जनाले आवेदन दिएका थिए । डिठ्ठा पदका लागि ३० अंकको लिखित परीक्षामा १० वटा प्रश्न तयार गरिएको थियो। कम्प्युटर सीप परीक्षणका लागि १५ नम्बर र अन्तर्वार्ताका लागि २० नम्बर तोकिएको थियो । लिखित परीक्षामा १४ जना मात्रै उत्तीर्ण भएका थिए । भदौ २३ गते लिखित परीक्षा सञ्चालन गरिएको थियो भने २४ गते कम्प्युटर सीपसम्बन्धी परीक्षा सञ्चालन गरिएको थियो । सोही दिन नतिजा प्रकाशन गरिएको शाखा अधिकृत अक्षयकुमार दनुवारले जानकारी दिए ।
    जसमा रुपकबहादुर खत्री सफल उम्मेदवार बने भने ज्ञानबहादुर तामाङ वैकल्पिक उम्मेदवार बने । अदालतले लिखित परीक्षामा उत्तीर्ण भएका १४ जनाकै प्राप्ताङ्क सार्वजनिक गरेको थियो । जसमा खत्रीले ३४.३३ नम्बर प्राप्त गरेका थिए भने वैकल्पिक उम्मेदवार ज्ञानबहादुरले ३० नम्बर प्राप्त गरेका थिए । सबैभन्दा कम गीता बस्नेतले २१.२७ नम्बर प्राप्त गरेको सार्वजनिक गरिएको नतिजामा उल्लेख छ । त्यस्तै, कार्यालय सहयोगी पदका लागि अन्तर्वार्तामा १५ अंक, व्यक्तित्वमा ५ अंक, विषयगत ज्ञानमा ५ अंक र सीपमूलक तालिमबापत ५ अंक राखिएको थियो । जसमा सीटीईभीटीबाट प्राप्त विद्युत् र धारापानीसम्बन्धी प्रमाणपत्र भएको व्यक्ति अनिवार्य गरिएको थियो । 
    अनुप दनुवार र विशाल भ्लोन सफल उम्मेदवार भए । राजन दनुवार, सुन्दरलाल श्रेष्ठ र रामचन्द्र कार्की वैकल्पिक उम्मेदवार भए। अनुप र विशालले ७÷७ अंक प्राप्त गरे। सबै परीक्षार्थीहरूको नम्बरसमेत अदालतले सार्वजनिक गरेको छ। सफल उम्मेदवारहरूले नियुक्ति लिएर काम सुरु गरिसकेका छन् । कर्मचारी छनोटका लागि अदालतले शाखा अधिकृत अक्षयकुमार दनुवारको संयोजकत्वमा नायव सुब्बा चिरञ्जीवी पोखरेल र सूचना प्रविधिक सहायक गौतम खत्रीलाई जिम्मेवारी तोकेको थियो ।
    श्रेस्तेदार उप सचिव सञ्जित गौतमले अदालतमा माग गरिएका करार सेवाका कर्मचारीहरूको छनोट विधि पारदर्शी हुनुका साथै उनीहरूले प्राप्त गरेको नम्बरसमेत सार्वजनिक गरिएको बताए । सबैलाई न्याय दिने अदालत आफैँले गरेका कामकारबाही पारदर्शी, निष्पक्ष र व्यवस्थित हुनुपर्ने उदाहरण कर्मचारी छनोट विधि र सार्वजनिक गरिएका नतिजाले दिएको श्रेस्तेदार गौतमले बताए ।