2026 September 18/ 05:07: 16pm

    धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लामा मुद्दाको चापलाई आधार मानेर इजलास थप गरिएको छ । पर्याप्त पूर्वाधार नभए पनि तत्काल पूर्वाधार निर्माण गर्ने प्रतिबद्धतापछि सर्वोच्च अदालतले एउटा इजलास थप गर्ने निर्णय गरेको हो । अब काभ्रेमा चारवटा इजलासबाट मुद्दाको सुनुवाइ हुनेछ।
    श्रेस्तेदार उपसचिव सञ्जित गौतमका अनुसार हरेक वर्ष करिब ३ हजार ७ सयभन्दा बढी मुद्दा हेर्नुपर्ने अवस्था रहेकाले त्यसको चाप कम गर्न, समयमा नै न्यायको अनुभूति गराउन तथा भौगोलिक विकटतालगायतका कारण जिल्लामा न्यायाधीश अपुग भएको महसुस भएपछि जिल्ला अदालत काभ्रेपलाञ्चोकको प्रस्तावमा थप एउटा इजलास व्यवस्थापन गरिएको हो । सर्वोच्च प्रशासनले इजलास थप गर्ने निर्णय गरेसँगै उक्त इजलासमा काठमाडौं जिल्ला अदालतमा कार्यरत न्यायाधीश दीपक घिमिरेलाई सरुवा गरिएको छ ।
    न्यायाधीश प्रेमप्रसाद न्यौपाने अनिवार्य अवकाशमा गएपछि दुई महिनादेखि दुईवटा मात्रै इजलास सञ्चालनमा थिए । आज असोज १ गतेदेखि तीनवटा र असोजको पहिलो सातादेखि चारवटा इजलास सञ्चालन हुनेछन् । इजलास नम्बर २ मा बारामा कार्यरत न्यायाधीश गीता श्रेष्ठको सरुवा भएको छ । प्रमुख जिल्ला न्यायाधीश माधवप्रसाद मैनाली तथा इजलास नम्बर ३ मा नगेन्द्रकुमार कालाखेती कार्यरत छन् ।
    नयाँ थप गरिएको इजलास निर्माणको काम धमाधम भइरहेको श्रेस्तेदार गौतमले बताए । त्यसका लागि आवश्यक जनशक्ति तथा अन्य तयारीसमेत गरिएको उनले जानकारी दिए । चालु आर्थिक वर्षका लागि अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका १ हजार ५ सय ८६ थान मुद्दा कायम छन् ।  इजलास र न्यायाधीशको संख्या थप भएसँगै काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट हुने कार्यसम्पादन छिटो र छरितो हुने विश्वास गरिएको छ। यद्यपि भौतिक पूर्वाधारलगायतका संरचनाको भने अझै अभाव छ ।
    अदालत प्रशासनले पूर्वाधार व्यवस्थापन तथा भवनसहितका संरचना निर्माणका लागि सर्वोच्च प्रशासन र अन्य सम्बन्धित निकायसँग समन्वय गरिरहेको श्रेस्तेदार गौतमले बताए ।