2026 September 11/ 04:32: 22pm

    धुलिखेल/धुलिखेल नगरपालिका–४ को आयोजनामा बखुण्डोल आधारभूत स्वास्थ्य केन्द्रमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । रेयुकाई मासुनागा आँखा अस्पताल, बनेपाको प्राविधिक सहयोगमा आयोजित शिविरमा एक सयभन्दा बढी नागरिकले आँखा परीक्षण तथा स्वास्थ्य सेवा लिएका छन् ।
    वडा अध्यक्ष उत्तमप्रसाद तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले वडाभित्रका सबै नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य केन्द्रमार्फत विभिन्न स्वास्थ्य शिविर, नियमित स्वास्थ्य परीक्षण तथा खोप कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनका अनुसार स्वास्थ्य केन्द्रबाट गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण, गर्भपतन सेवा, ज्येष्ठ नागरिकका लागि नियमित स्वास्थ्य सेवा, खोपलगायतका कार्यक्रम सञ्चालन भइरहेका छन् । यस्ता कार्यक्रम नागरिकका लागि प्रभावकारी र उपयोगी बन्दै गएको उनले बताए ।
    बखुण्डोल आधारभूत स्वास्थ्य केन्द्रकी इन्चार्ज हेमा संग्रौलाले केन्द्रमा हरेक वर्ष आँखा शिविर आयोजना गर्दै आएको बताइन्। गत वर्ष आयोजित शिविरमा ९६ जनाको आँखा परीक्षण गरिएको र त्यसमध्ये मोतियाविन्दु देखिएका चार जनाको निःशुल्क उपचार गरिएको उनले जानकारी दिइन् । स्वास्थ्य केन्द्रबाट प्रदान हुँदै आएका सेवाको गुणस्तर तथा नागरिकको विश्वास बढ्दै गएको बताउँदै संग्रौलाले यस वर्ष पनि रेयुकाई मासुनागा आँखा अस्पतालसँगको सहकार्यमा मोतियाविन्दु देखिएका बिरामीको निःशुल्क उपचार गरिने बताइन् ।
    कार्यक्रममा धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले चालु आर्थिक वर्षमा नगरपालिकाका १२ वटै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको बताए । सबै वडामा आयोजित शिविरबाट पहिचान भएका मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रियालगायत उपचार गर्ने गरी नगरपालिकाले अस्पतालसँग सम्झौता गरेको उनले जानकारी दिए । धुलिखेललाई स्वस्थ शहरका रूपमा विकास गर्ने उद्देश्यले नगरपालिकाले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विभिन्न समयमा स्वास्थ्य शिविर तथा अन्य स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको केसीले बताए ।
    शिविरमा स्वास्थ्य शाखाका सरोज थापा, वडा सदस्यहरू गोवद्र्धन थापा मगर, कुमार थापा मगर, सेतीदेवी संस्थाका कोषाध्यक्ष रामगोपाल घले, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य केन्द्रका कर्मचारी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । शिविरमा एक सयभन्दा बढी नागरिकले निःशुल्क आँखा परीक्षण तथा स्वास्थ्य सेवा लिएका छन् ।