2026 September 11/ 05:29: 26pm

    बनेपा/भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको सहयोगका लागि प्याब्सन काभ्रेले ३६ लाख ३६ हजार ४२४ रुपैयाँ सहयोग गरेको छ ।
    प्याब्सन काभ्रेमा आबद्ध जिल्लाका ७४ सदस्य विद्यालयबाट संकलित रकम प्याब्सन केन्द्रमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको हो । केन्द्रीय प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा प्याब्सन केन्द्रमा आयोजित कार्यक्रममा प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेलसहित जिल्लाका पदाधिकारी तथा सदस्यहरूले संयुक्त रूपमा उक्त रकम हस्तान्तरण गरेका हुन् । कार्यक्रममा केन्द्रीय सह–अध्यक्ष गोपालप्रसाद आचार्य, वरिष्ठ उपाध्यक्ष दिपिका रिमाल थापा, उपाध्यक्ष आशिष श्रेष्ठ र सन्तोषमणि न्यौपाने, महासचिव आर.बी. कटवाल, कोषाध्यक्ष गणेशबाबु पोखरेल, उपमहासचिव भीमसेन के.सी., केन्द्रीय सचिवालय सदस्य हिरा शर्मा नेपाल, केन्द्रीय परिषद् सदस्य रवि श्रेष्ठलगायतको उपस्थिति थियो ।
    प्याब्सन काभ्रेअन्तर्गत सबैभन्दा बढी सहयोग प्याब्सन बनेपाबाट १७ लाख ५७ हजार २३५ रुपैयाँ संकलन भएको छ। त्यस्तै पनौतीबाट ११ लाख २४ हजार ३३, पाँचखालबाट २ लाख ९५ हजार ४८४, धुलिखेलबाट २ लाख ८० हजार ६६६, मण्डनदेउपुरबाट १ लाख ३८ हजार ४०१, नमोबुद्धबाट २० हजार, रोशीबाट १५ हजार ५० र भुम्लुबाट ५ हजार ५५५ रुपैयाँ सहयोग संकलन भएको प्याब्सन काभ्रेले जनाएको छ । विपद्को समयमा पीडितको साथमा उभिनु मानवताको सच्चा परिचय भएको भन्दै प्याब्सन काभ्रेले सहयोग अभियानमा सहभागी सम्पूर्ण सदस्य विद्यालय, विद्यालय परिवार तथा सहयोगीहरूप्रति आभार व्यक्त गरेको सचिव विमल न्यौपानेले बताए ।