मंगलटार/विपी राजमार्ग स्थित रोशी गाउँपालिका ९ मंगलटारमा रहेको इलाका प्रहरी कार्यालयले लागूऔषध नियन्त्रण अभियानअन्तर्गत ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ ।
रोशी गाउँपालिका–९ मंगलटारस्थित प्रहरी चेकपोस्टमा नियमित सवारी जाँचका क्रममा बर्दिबासबाट काठमाडौंतर्फ जाँदै गरेको एक इलेक्ट्रिक कारबाट करिब ५६.७५ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । सोही कारमा सवार पाँचै जनालाई नियन्त्रणमा लिइएको हो । प्रहरीले पक्राउ परेकाहरूबाट केही सुनका गरगहना तथा नगद रकम समेत बरामद गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय मङ्गलटारका इन्चार्ज प्रहरी निरिक्षक निकिताकुमारी मिश्रका अनुसार पक्राउ परेकामध्ये दुई जनाको लागूऔषध सेवन परीक्षण (डोप टेस्ट) गर्दा रिपोर्ट पोजिटिभ आएको छ । पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले लागूऔषधविरुद्धको अभियानलाई प्रभावकारी बनाउन नागरिकको सचेतना, सहयोग र सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता गतिविधिविरुद्ध सूचना उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरेको छ ।









