2026 July 10/ 11:53: 31pm

    पाँचखाल/पाँचखाल नगरपालिका–११, फेदीस्थित सामुदायिक भवनमा सार्वजनिक सामग्री राख्ने क्रममा विवाद उत्पन्न भएको भन्दै स्थानीयले सार्वजनिक सम्पत्तिमाथि व्यक्तिगत नियन्त्रण कायम गर्न खोजिएको आरोप लगाएका छन् ।
    स्थानीयका अनुसार नगरपालिकाको बजेट तथा वडा कार्यालयको सिफारिसमा खरिद गरिएका सामग्रीहरू दाहसंस्कार कोष, विपद् व्यवस्थापन समिति तथा अन्य सामुदायिक प्रयोजनका लागि सामुदायिक भवनमा राख्ने निर्णय भएको थियो । उक्त निर्णयका क्रममा वडा अध्यक्ष, वडा सदस्य, बुद्धिजीवी, समाजसेवी तथा अधिकांश स्थानीयको उपस्थितिमा बैठकसमेत बसेर तत्काल उक्त भवन प्रयोग गर्ने सम्वन्धमा छलफल भएको थियो । तर केही व्यक्तिले सामुदायिक भवनलाई निजी सम्पत्तिजस्तै व्यवहार गर्दै भवनमा ताला लगाएको, सार्वजनिक सामग्री भवनभित्र राख्न नदिएको तथा सामग्री वर्षायाममा बाहिरै छाडेको आरोप स्थानीयले लगाएका छन् ।
    स्थानीयका अनुसार सामुदायिक भवन सरकारी बजेटबाट निर्माण भएको सार्वजनिक सम्पत्ति भएकाले कुनै व्यक्ति, समूह वा राजनीतिक दलको नियन्त्रणमा रहन नहुने उनीहरूको धारणा छ । स्थानीयहरूले विगतदेखि नै उक्त भवन धार्मिक, सामाजिक तथा सार्वजनिक कार्यक्रम सञ्चालनमा समेत अवरोध हुने गरेको, भवन प्रयोग गर्न केही व्यक्तिको अनुमति आवश्यक पर्ने जस्तो अवस्था सिर्जना भएको गुनासोसमेत गरेका छन् । यद्यपि यी आरोपबारे सम्बन्धित पक्षको आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन । घटनाप्रति ध्यानाकर्षण गराउँदै स्थानीयहरूले पाँचखाल नगरपालिकाका प्रमुख, वडा नं. ११ का वडा अध्यक्ष तथा सम्बन्धित निकायसँग निष्पक्ष छानबिन गर्न माग गरेका छन् । उनीहरूले सार्वजनिक सम्पत्तिमाथि व्यक्तिगत अधिकार जमाउने वा प्रयोगमा अवरोध गर्ने जोसुकै भए पनि कानुनबमोजिम कारबाही गर्नुपर्ने बताएका छन् ।
    यसैगरी सामुदायिक भवन सबै स्थानीयले समान रूपमा प्रयोग गर्न पाउने वातावरण तत्काल सुनिश्चित गर्न तथा सार्वजनिक सम्पत्तिलाई कुनै व्यक्ति वा समूहको नियन्त्रणमा राख्ने प्रवृत्तिको अन्त्य गर्न उनीहरूले आग्रह गरेका छन् । स्थानीयहरूले सार्वजनिक सम्पत्ति सबै समुदायको साझा सम्पत्ति भएकाले यसको संरक्षण र उपयोग समान रूपमा हुनुपर्नेमा जोड दिएका छन् ।