बनेपा/बनेपा नगरपालिका भित्र रहेका ४ वटा सामुदायीक विद्यालयका विद्यार्थीलाई अध्ययनसँगै विभिन्न पेशा, व्यवसाय तथा रोजगारीका अवसरबारे जानकारी गराउने उद्देश्यले विद्यार्थीलाई कामको संसार चिनाउने दोस्रो वर्षको कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा समयको परिवर्तन र प्रविधिको विकाससँगै शैक्षिक प्रमाणपत्र मात्र नभई व्यावहारिक सीप, नेतृत्व क्षमता, सञ्चार कला, प्रविधिको प्रयोग र सकारात्मक सोच पनि उत्तिकै आवश्यक रहेकाले कामको संसार चिनाउने कार्यक्रमको आयोजना गरिएको शिक्षा शाखा अधिकृत शिवराज त्रिपाठीले बताए । नेपाल सरकार र हेविटासको सहकार्यमा उक्त कार्यक्रम लागु गरिएको हो । बनेपा नगरपालिका भित्र आजाद माध्यमिक विद्यालय, चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालय, चक्रज्याती माध्यमिक विद्यालय र श्वेत बराह माध्यमिक विद्यालयमा उक्त कार्यक्रम सञ्चालन भएको छ । उक्त कार्यक्रम सञ्चालनले विद्यार्थीहरुलाई विद्यालयको पठन पाठनसँगै वास्तविक कार्यक्षेत्रको अनुभव दिलाउने, करियरबारे स्पष्ट दृष्टिकोण विकास गर्ने तथा आत्मविश्वास बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । आगामी दिनमा पनि विभिन्न पेशा र व्यवसायसँग सम्बन्धित व्यक्तिहरूसँग अन्तरक्र्रिया गराउँदै विद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
शिक्षा शाखा प्रमुख उपसचिब देवराज निरौलाले विद्यार्थीहरुले आफ्नो रुचि, क्षमता र लक्ष्य अनुसार करियर योजना बनाउन सुझाव दिँदै अध्ययनकै क्रममा आवश्यक सीप विकास गर्न आग्रह गरेका थिए । निरौलाले स्वदेशमै रहेका रोजगारी तथा उद्यमका सम्भावनाबारे जानकारी दिँदै आत्मनिर्भर बन्न प्रेरित गरेका थिए । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष चन्द्र बहादुर खड्का, विद्यालयका प्रधानाध्यापक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । विद्यार्थीहरुले आफुले सिकेका सिपलाई प्रर्दशनी तथा प्रस्तुति गरेका थिए । आफुले उत्पादन गरेका सामानको बजार अभाव, सामान महंगो, पढाईले गर्दा समय दिन नसकिने, जस्ता समस्या चुनौती र अवसरकावारे प्रस्तुती गरेका थिए । श्वेत बराह माविका विद्यार्थीहरुले गड्यौलाको प्राङ्गारीक मल बनाउने र विक्री गरी त्यसको बजार, रासनायीक ममले वातावरण सम्बन्धी पार्ने असर, प्राङ्गरिक मलको फाईदा, उत्पादन बढ्ने, माटो नबिग्रने जस्ता प्रस्तुतहरु प्रस्तुत गरेका थिए ।









