2026 July 05/ 11:53: 46pm

    धुलिखेल/राष्ट्रिय तथ्याङ्क कार्यालयअन्तर्गत तथ्याङ्क समन्वय कार्यालय, काभ्रेपलाञ्चोकले आर्थिक, कृषि, स्वास्थ्य, यातायात तथा पर्यटनलगायत विभिन्न क्षेत्रका राष्ट्रियस्तरका गणना र सर्वेक्षणहरू सम्पन्न गरेको छ । 
    चालु आर्थिक वर्षमा राष्ट्रिय आर्थिक गणनादेखि व्यवसायिक तरकारी खेती, निजी स्वास्थ्य संस्था, स्थलगत यातायात तथा आन्तरिक पर्यटन सर्वेक्षणसम्मका महत्वपूर्ण कार्यक्रम सम्पन्न भएको तथ्यांक समन्वय कार्यालय काभ्रेका प्रमुख तथ्याकं समन्वय अधिकारी दिपक कोईरालाले बताए । राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत कार्यक्षेत्रमा करिब २२ हजार १०० उद्योग, व्यवसाय तथा प्रतिष्ठानको गणना सम्पन्न भएको छ । गणनाका लागि ५८ जना गणक र ८ जना सुपरिवेक्षकलाई करिब दुई महिनादेखि दुई महिनाअढाइसम्म करारमा नियुक्त गरी स्थलगत रूपमा तथ्याङ्क संकलन गरिएको थियो । ११ हजार ५ सय व्यावसायिक तरकारी किसानको सूची तयार भएको छ । कार्यालयले सञ्चालन गरेको व्यवसायिक तरकारी खेती सर्वेक्षण २०८२ अन्तर्गत कार्यक्षेत्रका जिल्लामा ११ हजार ५०० व्यावसायिक तरकारी खेती गर्ने कृषक तथा कृषि फर्मको सूचीकरण सम्पन्न गरेको छ । तीमध्ये नमुनाका रूपमा छनोट भएका २ सय ४८ कृषि फर्म तथा कृषकबाट विस्तृत प्रश्नावलीमार्फत तथ्याङ्क संकलन सम्पन्न भइसकेको छ । 
    स्थलगत यातायात सर्वेक्षण २०८२ अन्तर्गत १ हजार ७०० यातायात व्यवसायीको सूचीकरण गरिएको छ । तीमध्ये १६४ व्यवसायीबाट विस्तृत तथ्याङ्क संकलन सम्पन्न भएको छ । त्यस्तै, निजी स्वास्थ्य संस्था सर्वेक्षण २०८२ अन्तर्गत कार्यक्षेत्रमा सञ्चालनमा रहेका सबै निजी स्वास्थ्य संस्थाको सूची तयार गरी नमुनामा परेका ७६ वटा स्वास्थ्य संस्थाबाट विस्तृत विवरण संकलन गरिएको छ । कार्यालयले आन्तरिक पर्यटन सर्वेक्षण अन्तर्गत कार्यक्षेत्रका पाँच वटा गणना क्षेत्रमा स्थलगत तथ्याङ्क संकलन सम्पन्न गरेको जनाएको छ । यसैबीच, स्थानीय तहको विकास योजना तथा तथ्याङ्क व्यवस्थापनलाई सुदृढ बनाउन मन्थली नगरपालिका (रामेछाप) र गौरीशंकर गाउँपालिका (दोलखा) को पालिका प्रोफाइल निर्माण कार्य पनि सम्पन्न गरिएको छ । त्यसैगरी स्थानीय तहमा राष्ट्रिय तथ्यगत विवरण कार्यान्वयनको अनुगमन तथा तथ्याङ्कीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरिएको कार्यालयले जनाएको छ । 
    कार्यालयले संघ, प्रदेश र स्थानीय तहको योजना निर्माण तथा नीतिगत निर्णयको आधार विश्वसनीय तथ्याङ्क भएको उल्लेख गर्दै नागरिक, उद्योगी, व्यवसायी तथा संस्थाहरूलाई सही विवरण उपलब्ध गराउन आग्रह गरेको छ । कार्यालयका अनुसार गणना तथा सर्वेक्षणका क्रममा संकलन गरिएका सबै व्यक्तिगत तथा संस्थागत विवरण तथ्याङ्क ऐन, २०७९ अनुसार पूर्ण रूपमा गोप्य राखिनेछ । ती विवरण व्यक्तिगत रूपमा सार्वजनिक नगरिने र केवल समष्टिगत तथ्याङ्कीय प्रयोजनका लागि मात्र प्रयोग गरिने जनाइएको छ । तथ्याङ्क समन्वय कार्यालयले वर्षभरि विभिन्न नियमित कार्यक्रम सञ्चालन गर्दै आएको छ । सरकारी कार्यालय तथा प्रतिष्ठानबाट त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्क संकलन, संघ, प्रदेश, स्थानीय तह, उद्योग तथा होटलबाट वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क संकलन, छनोट भएका उद्योगबाट औद्योगिक उत्पादन तथा मूल्य तथ्याङ्क संकलन, पाँच प्रमुख बजारबाट निर्माण सामग्रीको मूल्य सङ्कलन
छनोट भएका कृषकबाट कृषि उपजको मूल्य तथ्याङ्क संकलन प्रमुख रहेका छन् । 
    राष्ट्रिय तथ्याङ्क कार्यालयका मुख्य कार्यक्रम राष्ट्रिय तथ्याङ्क कार्यालयले नियमित रूपमा राष्ट्रिय जनगणना, राष्ट्रिय कृषिगणना, राष्ट्रिय आर्थिक गणना, नेपाल जीवनस्तर सर्वेक्षण, नेपाल श्रमशक्ति सर्वेक्षण, बहुसूचक सर्वेक्षण, वार्षिक घरपरिवार सर्वेक्षण, वातावरणसम्बन्धी सर्वेक्षण, राष्ट्रिय लेखा अनुमान, मूल्य सूचकाङ्क निर्माण तथा विभिन्न विषयगत अनुसन्धान सञ्चालन गर्दै आएको छ । सरकारको आर्थिक योजना, विकास नीति, बजेट निर्माण, लगानीको प्राथमिकता निर्धारण तथा सेवा प्रवाहलाई वैज्ञानिक र प्रमाणमा आधारित बनाउन यस्ता तथ्याङ्कीय गतिविधिले महत्वपूर्ण आधार तयार गर्ने विश्वास गरिएको छ ।