2026 July 05/ 11:53: 20pm

      धुलिखेल/नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काभ्रे शाखाले नयाँ कार्यसमितिको पदस्थापन गर्दै आगामी कार्यकालका लागि नयाँ नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेको छ । 
    उद्यमशीलताको विकास, युवालाई व्यवसायतर्फ आकर्षित गर्ने अभियान र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धतासहित नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको हो । यसपटक मञ्चको अध्यक्षको जिम्मेवारी युवा उद्यमी क्षितिज श्रेष्ठले सम्हालेका छन् । उनीसँगै निर्वतमान अध्यक्षका रूपमा आशिष हुमागाई, प्रथम उपाध्यक्षमा जुलिया श्रेष्ठ, द्वितीय उपाध्यक्षमा रोहित श्रेष्ठ तथा सदस्यहरूमा सुजल मानन्धर, श्रीजल रञ्जितकार, अजय थापा, रोजन श्रेष्ठ, श्रेया श्रेष्ठ, शुसान्त थपलिया र हेभन श्रेष्ठ रहेका छन् ।
    कार्यक्रममा निवर्तमान अध्यक्ष आशिष हुमागाई नेतृत्वको कार्यसमितिले आफ्नो एकवर्षे कार्यकाल (२०२५÷०२६) मा सम्पन्न गरेका महत्वपूर्ण गतिविधिको समीक्षा प्रस्तुत गरिएको थियो । कार्यसमितिका सदस्य अजय थापाले गत कार्यकालमा सम्पन्न भएका २० वटा प्रमुख कार्यक्रमबारे विस्तृत प्रस्तुति दिएका थिए । उनले उद्यमशीलता विकास, सीप अभिवृद्धि, सामाजिक उत्तरदायित्व, नेटवर्क विस्तार तथा युवा सहभागिता बढाउन केन्द्रित गतिविधिहरूको उपलब्धि सार्वजनिक गरेका थिए ।
    कार्यक्रमको प्रारम्भमा जुलिया श्रेष्ठले सहभागी अतिथिहरूलाई स्वागत गर्दै नयाँ कार्यसमितिले अघिल्लो नेतृत्वका सफल अभ्यासलाई निरन्तरता दिँदै थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने विश्वास व्यक्त गरिन् । कार्यक्रम सञ्चालन श्रेया श्रेष्ठले गरेकी थिइन् । पदस्थापन समारोहमा नेपाली युवा उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष सुदीप घिमिरे प्रमुख अतिथिका रूपमा उपस्थित थिए । उनले नेपालमा उद्यमशीलताको सम्भावना विशाल रहेको उल्लेख गर्दै युवाहरूलाई रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने मानसिकता विकास गर्नुपर्नेमा जोड दिए । उनले मञ्चले युवालाई उद्यमतर्फ आकर्षित गर्नुका साथै उनीहरूलाई व्यवसायमा टिकाइराख्ने वातावरण निर्माण गर्न निरन्तर काम गर्ने बताए । समाजमा सकारात्मक सोच, सिर्जनशीलता र आर्थिक आत्मनिर्भरताको सन्देश फैलाउन एनवाईईएफले देशभर सक्रिय भूमिका खेलिरहेको उनको भनाइ थियो ।
    नवनिर्वाचित अध्यक्ष क्षितिज श्रेष्ठले आफ्नो कार्यकाललाई परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्र र शैक्षिक संस्थासँग सहकार्य गरी युवाकेन्द्रित कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । उनले स्थानीय स्रोत, सीप र सम्भावनालाई उद्यमसँग जोड्दै नयाँ पुस्तालाई व्यवसायमा प्रेरित गर्ने, तालिम, नेटवर्किङ, क्षमता विकास तथा नवप्रवर्तनलाई प्राथमिकतामा राख्ने योजना सार्वजनिक गरे । उद्यमशीलतालाई केवल आर्थिक गतिविधिको रूपमा नभई समाज रूपान्तरणको माध्यमका रूपमा अघि बढाउने उनको धारणा थियो ।
    समारोहमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी रविन कार्की, नेपाली युवा उद्यमी मञ्च काभ्रे शाखाका संस्थापक अध्यक्ष ज्योत्सना सैंजु, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, युवा उद्यमी कुशलसुन्दर श्रेष्ठलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागि बक्ताहरुले नेपालका युवामा उद्यम गर्ने इच्छा र क्षमता भए पनि लगानीको अभाव, नीतिगत जटिलता, आवश्यक तालिम तथा बजार पहुँचको कमी जस्ता चुनौती अझै कायम रहेको धारणा राखे। उनीहरूले यस्ता समस्याको समाधानका लागि सरकार, निजी क्षेत्र, वित्तीय संस्था र उद्यमी संगठनबीच प्रभावकारी सहकार्य आवश्यक रहेको औँल्याए । युवालाई वैदेशिक रोजगारीतर्फ मात्रै केन्द्रित हुनुभन्दा आफ्नै देशमा अवसर सिर्जना गर्न प्रेरित गर्नुपर्ने बताए ।  त्यसका लागि उद्यममैत्री वातावरण, सहज वित्तीय पहुँच, नवप्रवर्तनलाई प्रोत्साहन र आवश्यक परामर्श सेवाको विस्तार अपरिहार्य रहेको उनीहरूको जोड थियो । कार्यक्रमले नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरणसँगै काभ्रेमा उद्यमशीलताको अभियानलाई थप सशक्त बनाउने अपेक्षा जगाएको सहभागीहरूले विश्वास ब्यक्त गरे । नयाँ कार्यसमितिले अघिल्लो नेतृत्वका उपलब्धिलाई निरन्तरता दिँदै जिल्लाका युवालाई उद्यम, नवप्रवर्तन र आत्मनिर्भरताको यात्रामा अघि बढाउने विश्वास व्यक्त गरिएको छ ।