बनेपा/बनेपा नगरपालिका वडा नम्बर ११ स्थित आधारभूत स्वास्थ्य केन्द्रको नवनिर्मित भवन तथा ल्याबको उद्घाटन गरिएको छ ।
वडा अध्यक्ष शिवकुमार थापाले एक कार्यक्रमका बीच भवनको उद्धाटन गर्दै स्थानीय नागरिकलाई गुणस्तरीय, सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले भवन निर्माण गरिएको बताए । वडा अध्यक्ष थापाले स्वास्थ्य नागरिकको आधारभूत अधिकार भएकाले वडा कार्यालयले स्वास्थ्य पूर्वाधारको विकासलाई उच्च प्राथमिकतामा राखेको बताए । थापाले भवन तथा ल्याब सञ्चालनमा आएपछि सेवा प्रवाह थप व्यवस्थित, सुरक्षित र प्रभावकारी हुने विश्वास व्यक्त गर्दै स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न वडा निरन्तर लागि पर्ने प्रतिबद्धता ब्यक्त गरे ।
थापाले स्थानीय नागरिकलाई सामान्य उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता क्रमशः अन्त्य हुँदै जाने र स्वास्थ्य केन्द्रबाट नियमित स्वास्थ्य परीक्षण, खोप, मातृ तथा शिशु स्वास्थ्य सेवा, सुगर, मृगौला, कलेजो, मुटु, बाथ रोग, पिसाब जाँच, दिसा जाँच, गर्भवती जाँच, डेंगी, टाईफाईड परिक्षण, ज्येष्ठ नागरिक सेवा लगायतका आधारभूत स्वास्थ्य सेवा अझ प्रभावकारी रूपमा सञ्चालन हुने बताए । थापाले वडामा खानेपानी, सडक, पार्क, लगायतका पूर्वाधारका थुप्रै काम सम्पन्न भएका र केही अन्तिम चरणमा रहेको बताए ।
कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य दुर्गा थापाले राखेकी थिईन् भने जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीयवासीहरूले नवनिर्मित भवनले स्वास्थ्य सेवा प्रवाहमा सुधार ल्याउने विश्वास व्यक्त गरेका थिए । उनीहरूले स्वास्थ्य सेवा विस्तारसँगै आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापनमा पनि ध्यान दिन आग्रह गरेका थिए । स्वास्थ्य केन्द्रको नयाँ भवन आधुनिक संरचना अनुसार निर्माण गरिएको छ । भवनमा उपचार कक्ष, औषधि वितरण कक्ष, प्रतीक्षालय, खोप कक्ष, सरसफाईका आवश्यक सुविधा तथा स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक आधारभूत पूर्वाधारको व्यवस्था गरिएको छ ।
कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्य स्वयम सेवीकाहरु, महिला समूह, युवा क्लबका प्रतिनिधि, टोल सुधार समुहका अध्यक्षहरु, स्थानीय सर्वसाधारणको उपस्थिती रहेको थियो । कार्यक्रमका सभापति जेष्ठ नागरिक केदार बञ्जाराले नवनिर्मित भवन सञ्चालनमा आएपछि वडास्तरमै सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुने अपेक्षा रहेको बताए । वडाले आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास, सेवा विस्तार तथा नागरिकमैत्री स्वास्थ्य प्रणाली निर्माणलाई निरन्तरता दिने जनाएको छ ।









