बनेपा/१२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जली योग समिति काभ्रेपलाञ्चोकको महिला तथा युवा समितिको संयुक्त आयोजनामा बनेपामा विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पतञ्जली योग समिति बागमती प्रदेशको विशेष सहभागिता रहेको थियो ।
पतञ्जली योग समिति काभ्रेका जिल्ला अध्यक्ष प्रकाश कायस्थको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपकुमार गौतम, बनेपा नगरपालिकाकी उपप्रमुख विमला सापकोटा, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, पतञ्जली योग समितिका कर्पोरेट सदस्य उद्धवप्रसाद तिमल्सिना, प्रदेश समिति अध्यक्ष ग्रुवेन तौजले, विभिन्न वडाका अध्यक्ष, पूर्व जनप्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । बक्ताहरुले योगमय जिल्ला निर्माणका लागि शुरु भएको अभियानमा सहजिकरण गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
कार्यक्रममा प्रदेश समिति अध्यक्ष ग्रुवेन तौजलले अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार एक घण्टासम्म योगाभ्यास गराएका थिए । सो अवसरमा जिल्ला अध्यक्ष प्रकाश कायस्थले काभ्रेपलाञ्चोकमा सञ्चालन भइरहेका योग केन्द्रहरू तथा जिल्लालाई योगमय बनाउने उद्देश्यका साथ गरिएका विभिन्न प्रयासबारे जानकारी गराए । उनका अनुसार हाल जिल्लाका बनेपा, धुलिखेल, पनौती, पाँचखाल, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिका तथा बेथान्चोक र भुम्लु गाउँपालिकामा योग केन्द्र सञ्चालनमा रहेका छन्। साथै, खानिखोला, महाभारत, चौरीदेउराली, रोशी र तेमाल गाउँपालिकामा समेत योग केन्द्र विस्तार गर्ने तयारी भइरहेको छ ।
पतञ्जली योग समितिका कुल ५६ केन्द्रमध्ये बनेपा नगरपालिकाभित्र मात्रै २६ वटा केन्द्र सञ्चालनमा रहेका छन् । बनेपा नगरपालिकालाई ‘योग नगर’ घोषणा गर्ने लक्ष्यसहित आवश्यक कार्यहरू अघि बढाइएको अध्यक्ष कायस्थले बताए । योगाभ्याससँगै सामाजिक तथा शैक्षिक क्षेत्रमा समेत समिति सक्रिय रहेको उल्लेख गर्दै उनले २०८० सालदेखि सात सामुदायिक विद्यालयका सात जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा आवश्यक पोशाक उपलब्ध गराउँदै आएको जानकारी दिए। यस वर्ष पनि आजाद माध्यमिक विद्यालयका कृष्णकुमारी मगर, शिक्षा सदन माध्यमिक विद्यालयका सुजन श्रेष्ठ, चैतन्य माध्यमिक विद्यालयका संस्कार रञ्जित, चण्डेश्वरी माध्यमिक विद्यालयकी रुसिया परियार, महेन्द्र माध्यमिक विद्यालयकी रुवी श्रेष्ठ तथा हिमालय र भक्तेश्वर माध्यमिक विद्यालयका एक–एक जना विद्यार्थीलाई ट्र्याकसुट, जुत्ता–मोजा र तीन महिनाका लागि आवश्यक स्टेशनरी सामग्री वितरण गरिएको थियो ।
पतञ्जली योग समिति काभ्रेले ती विद्यार्थीलाई प्रत्येक तीन–तीन महिनामा शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि यो अभियानलाई निरन्तरता दिइने अध्यक्ष कायस्थले बताए । कार्यक्रममा धुलिखेल योग साधना केन्द्रले विशेष प्रस्तुति समेत दिएको थियो । आयोजकका अनुसार राजधानीमा आयोजित मुख्य कार्यक्रममा जिल्लाबाट करिब एक हजार योग साधक सहभागी भएकाले अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा यस वर्ष जिल्लास्तरमा छुट्टै कार्यक्रम आयोजना गरिएको थिएन । कार्यक्रम पतञ्जली योग समिति काभ्रेका महामन्त्री श्याम श्रेष्ठ र महिला समितिका महामन्त्री भवानी गुरुङले संचालन गरेका थिए ।









