2026 June 05/ 02:44: 49am

    धुलिखेल/धुलिखेल अस्पतालमा उपचारार्थ सुत्केरी महिलाको अत्याधिक रक्तश्रावका कारण निधन भए पछि आक्रोशित आफन्त र अस्पताल प्रशासन बीच भएको झडप रोकी मध्यरातमा सहमति पश्चात मृतकको धार्मिक परम्परा अनुसार जेष्ठ १७ गते आईतबार दिउँसो अन्त्येष्टि गरिएको छ । 
    आफन्तहरुले अस्पतालको लार्पवाहीका कारण सुत्केरी महिलाको निधन भएको भन्दै कर्मचारी कुटपिट गरेपछि अस्पताल अशान्त भएको थियो । २०८३ जेष्ठ १५ गते वेथानचोक १ घर भएकी २९ बर्षिया गर्भवती बिना सिंङ्तान अस्पतालमा भर्ना भएकी थिइन् । सोहि दिन राति नै उनको अप्रेसन गरिएको थियो । ‘शुरुमा विनाको गर्भ परिक्षण धुलिखेल अस्पतालमा नै हुने गरेको थियो । पछिल्ला केहि परिक्षणहरुका लागि उहाँ अस्पताल आउनु भएको रहेनछ’–अस्पताल प्रशासनले भन्यो–‘जतिबेला उहाँलाई नियमित चिकित्सकको परामर्श र रेखदेख आवश्यक थियो । त्यतिबेला उहाँ गाउँमा नै बस्नु भयो । अस्पताल आउनु भएन ।’ विनाको पेटमा भएको बच्चाले दिशा गरिसकेका कारण आमाको अवस्था असामान्य भएको अस्पतालले जानकारी दिएको छ । 
    अप्रेसन पछि निकालिएका बच्चा अहिले पनि एनआईसियुमा राखिएको छ । बच्चा निकालिए लगत्तै शुरु भएको रक्तश्राव मेडिकलका सबै विधी र उपाय अपनाउँदा पनि रोक्न सम्भव नभएको चिकित्सकहरुले बताएका छन् । जेष्ठ १६ गते उनको निधन भएको थियो । सोहि विषयलाई लिएर अस्पताल प्रशासन र आफन्त बीच भएको छलफलका क्रममा आफन्तले अस्पताल प्रशासनका सुर्य प्रकाश श्रेष्ठलाई कुटपिट गरेका थिए । तत्कालै अस्पतालका सुरक्षा टोलीले घटनालाई नियन्त्रणमा लिन खोजे पनि सम्भव नभए पछि नेपाल प्रहरीको टोली परिचालन भएको थियो । त्यहि क्रममा भएको झडपमा पीडितका आफन्त पनि घाईते भएको बताईएको छ । 
    घटना पछि मध्यरातसम्म छलफल भएको थियो । धुलिखेल अस्पताल र पिडित पक्षबीच मृतक र जिवित बच्चाको उपचार निःशुल्क गर्ने र घटनामा घाईते दुबै पक्षको विरामीको उपचार गर्ने तथा आगामी दिनमा मिलेर जाने सहमति पछि पीडितले शव बुझेका थिए ।