2026 June 05/ 01:17: 09am

    धुलिखेल/जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय बनेपा र मातहतका सबै प्रहरी कार्यालयहरु अपराध नियन्त्रणमा आक्रामक बनेका छन् । जिल्ला प्रहरी प्रमुख एसपी रविन कार्कीले अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुरक्षा कायम गर्ने अभियानमा प्रहरीले सरोकारवाला निकायसँग समन्वयात्मक भूमिका खेल्ने बताए । 
    जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवं सूचना अधिकारी डिएस्पी रविन विष्टका अनुसार पछिल्लो एक साताको अवधीमा २३ ब्यक्ति पक्राउ परेका छन् । जेठ १७ गते पनौती ५ स्काईभ्यू रिसोर्ट माथी सार्वजनिक चौरमा दुई समूहका ब्यक्तिहरु ग्याङ्गफाईट गर्ने क्रममा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुलिखेल ५ का २५ बर्षिय आयुष रञ्जित, पनौती ५ का २७ बर्षिय सुदेश राउत, पनौती ५ का २९ बर्षिय जिवन राउत, धुलिखेल ५ का २३ बर्षिय विनेश प्रधान, पनौती ५ का २० बर्षिय अमनराज रोक्का क्षेत्री र पनौती ५ का २२ बर्षिय मन्जित थापा रहेका छन् । उनिहरु सबैलाई जिल्ला प्रशासन कार्यालय काभ्रेबाट ७ दिनको म्याद लिई अनुसन्धान भईरहेको छ । 
    यस अघि बनेपामा ग्याङ्गफाईट गर्ने समुहका ८ जनालाई पक्राउ गरिएको थियो । कक्षा ९ मा अध्ययनरत २ जना, कक्षा १० मा अध्ययनरत ५ जना र कक्षा ११ मा अध्ययनरत १ जना थिए । उनिहरुसबै १५ देखि १७ वर्षको उमेर समुहका हुन् । प्रहरीले उनिहरुलाई पक्राउ गरी अभिभावक र विद्यालयको जिम्मेवारीमा छाडेको छ । 
    त्यस्तै प्रहरीले बनेपा १० पुलबजारमा जेष्ठ १० गते काठमाडौंबाट पनौती आउने बसमा सवार ललितपुर गाउँपालिका ३ बस्ने पार्वती सञ्जेलको ब्यागमा रहेको नगद ३२ हजार ५ सय चोरी फरार हुने मध्येका ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे जिल्ला भुम्लु गाउँपालिकाका २३ बर्षिय सुमन क्षेत्री, २६ बर्षिय सादुराम भुजेल र रामेछाप शैलुङ्ग ५ का २१ बर्षिय पासाङ लामा रहेका छन् । अझै एक फरार रहेको प्रहरीले बताएको छ । उनिहरु विरुद्ध डाँका गर्न नहुने मुद्दामा म्याद लिई अनुसन्धान भईरहेको छ । उनिहरुलाई सिसिक्यामेराका सहयोगमा प्रहरीले १६ गते पक्राउ गरेको हो । 
    त्यस्तै प्रहरीले विभिन्न अभियोगमा जेलबाट जरिवाना र सजायँ तोकिएका फरार ब्यक्तिहरु पक्राउ परेका छन् । ६ जना ब्यक्तिहरुलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ । बनेपा ८ का २२ बर्षिय सुरज काफ्ले, बनेपा ११ का ३३ बर्षिय रुपक अधिकारी, नमोबुद्ध ६ का २६ का अनिल तामाङ, बनेपा ८ का ३७ बर्षिय विवश मानन्धर, ललितपुरका ३६ बर्षिय साजन शाक्य, सिन्धुपाल्चोक साँगाचोकगढी ९ का २७ रमेश श्रेष्ठ पक्राउ परेका छन् । उनिहरुबाट ३ वर्ष ६ महिना ७ दिन कैद र ४ लाख १२ हजार जरिवाना असुल भएको छ ।