बनेपा/अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रको आयोजनामा अपाङ्गता व्यवस्थापन तथा अपाङ्गता भएका व्यक्तिहरूलाई मूलप्रवाहीकरणमा ल्याउने उद्देश्यसहित एक महिने मोड्युलर प्राथमिक पुनःस्थापना थेरापी तालिम सञ्चालन भइरहेको छ ।
२०८३ जेठ ३ गतेदेखि सुरु भएको तालिम असार १ गतेसम्म सञ्चालन हुनेछ । यो तालिम १६ औँ समूहको रहेको कार्यक्रम संयोजक सुमिता श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार हालसम्म देशभरका ८ सयभन्दा बढी स्वास्थ्यकर्मीले उक्त तालिम लिइसकेका छन् ।
तालिममा विभिन्न प्रदेश तथा जिल्लामा कार्यरत अहेव, अनमी, हेल्थ असिस्टेन्ट र स्टाफ नर्स तथा अपाङ्गता क्षेत्रमा काम गरिरहेका सहजकर्ताहरुको सहभागिता रहेको छ । सहभागीहरूलाई बालबालिकामा हुने हाडजोर्नी अपाङ्गताको अवस्था तथा उपचार, पुनःस्थापना, हेरचाह तथा समाजमा समावेशीकरणका विषयमा व्यावहारिक र सैद्धान्तिक ज्ञान प्रदान गरिँदैछ ।
कार्यक्रममा फिजियोथेरापिस्ट श्याम महर्जन, एकेडेमिक फिजियोथेरापिस्ट गंगा शाक्य लगायतले प्रशिक्षण दिइरहेका छन् । साथै सहभागीहरू प्रजित बोहोरा, कृष्ण ओली र जानकीकुमारी थापाले तालिमले स्वास्थ्य क्षेत्रमा काम गर्न थप सहजता मिल्ने विश्वास व्यक्त गरेका छन् ।
सहभागीहरूका अनुसार तालिममा अपाङ्गता कसरी पहिचान गर्ने, पहिचान भएका व्यक्तिहरूको पुनःस्थापना कसरी गर्ने, बालबालिकामा हुने विभिन्न रोग तथा दुर्घटनाबाट हड्डीमा असर पुगेर कसरी अपाङ्गता हुन सक्छ भन्ने विषयमा विस्तृत जानकारी दिइएको छ ।
तालिममा हुम्ला, जुम्ला, कैलाली, कालिकोट, नवलपरासी, रामेछाप, दाङ, ओखलढुंगा तथा दैलेख लगायत जिल्लाका स्वास्थ्यकर्मी सहभागी रहेका छन् । अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले नेपालभरका शारीरिक अपाङ्गता भएका बालबालिकाहरुलाई सेवा प्रदान गरिरहेको छ । शिविरको माध्यमबाट अपाङ्गता भएका बालबालिकाहरुको पहिचान गरी अस्पतालका विभिन्न केन्द्रहरु मार्फत सेवा प्रदान गरिरहेको छ । संस्थाले लामो संघर्ष र कठिन यात्रापछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको छ । नेपालभरका शारीरिक रूपमा अशक्त बालबालिकाहरूलाई आशा, उपचार र नयाँ जीवन प्रदान गर्ने उद्देश्यले सुरु गरिएको यो अभियान अहिले हजारौँ बालबालिकाको भरोसाको केन्द्र बनेको छ ।
उक्त संस्थालाई विशेषज्ञता र गुणस्तरको स्तरसम्म पु¥याउन अस्पतालका संस्थापक प्रा.डा अशोक कुमार बाँस्कोटाले सन् १९८५ सेप्टेम्बर ५ मा अत्यन्त सीमित स्रोतसाधन, थोरै कर्मचारी र सामान्य पूर्वाधारका बीच अस्पतालको यात्रा सुरु गरेका थिए । प्रारम्भिक समयमा अस्पतालमा सामान्य उपचार सेवा मात्रै उपलब्ध थियो । त्यतिबेला सेवा प्रवाह, कर्मचारी प्रशिक्षण, प्रशासनिक व्यवस्थापन तथा आर्थिक स्रोत जुटाउने जस्ता जिम्मेवारी एकसाथ सम्हाल्नुपथ्र्यो । कठिन परिस्थितिका बाबजुद दक्ष टोली निर्माण गर्दै विभिन्न तहका कर्मचारीलाई तालिम दिने कार्य निरन्तर अगाडि बढेको थियो । सोहि क्रममा १६ औ समुहको एक महिने लामो तालिम संचालन भईरहेको छ ।
बालबालिकामा हुने शारीरिक अपाङ्गताको प्रकृति र अवस्थाको अध्ययन गर्दै उपचार पद्दति समयअनुसार विकास र परिमार्जन गरिँदै लगिएको अध्यक्ष बास्कोटाले बताए । धेरै वर्षसम्म अस्थायी संरचनाबाट सञ्चालन हुँदै आएको अस्पताल सन् १९९७ मा काभ्रेपलाञ्चोक जिल्लाको बनेपास्थित आफ्नै स्थायी भवनमा स्थानान्तरण भएको थियो । संस्थाले नयाँ ऊर्जा र योजनासहित सेवा विस्तार गर्दै पुनःस्थापनाको क्षेत्रलाई अझ प्रभावकारी बनाएको छ । नेपालका दुर्गम गाउँदेखि शहरसम्मका बालबालिकालाई सेवा पु¥याइरहेको अस्पतालसँगै समुदायमा आधारित पुनःस्थापना कार्यक्रममार्फत अपाङ्गता भएका बालबालिकालाई निरन्तर उपचार, शिक्षा, परामर्श र सामाजिक समावेशीकरणमा सहयोग प्रदान भइरहेको छ ।
हरेक वर्ष सयौँ बालबालिकाले विशेषज्ञ उपचार सेवा प्राप्त गरिरहेका छन् । बाल अर्थोपेडिक तथा पुनस्थापना सेवामा एचआरडिसी अर्थात अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र नेपाल अग्रणी संस्थाका रूपमा स्थापित भएको छ ।









