बनेपा/जिल्लामा सञ्चालन भइरहेको राष्ट्रिय पोषण लेखाजोखा अभियान–२०८३ अन्तर्गत हालसम्म १५ हजारभन्दा बढी बालबालिकाको पोषण अवस्था परीक्षण गरिएको छ । वैशाख १५ गतेदेखि देशभर सुरु भएको अभियानअन्तर्गत जिल्लाका १३ वटा स्थानीय तहका १ सय ३५ वडामा जेठ १० गतेसम्म प्राप्त विवरण अनुसार २२ हजार ६३० लक्ष्य बालबालिकामध्ये १५ हजार ४२७ जनाको पोषण लेखाजोखा सम्पन्न भएको हा ।
लेखाजोखाका क्रममा ५ सय ८१ जना बालबालिकामा कुपोषण पहिचान भएको जनस्वास्थ्य कार्यालयका प्रम’ख रागिश्री कक्षपति श्रेष्ठले बताईन् । तीमध्ये ४ सय ५४ जना मध्यम शिघ्र कुपोषण र ६८ जना कडा शिघ्र कुपोषणका बिरामी रहेका छन् । उक्त संख्या कुल परीक्षण गरिएका बालबालिकाको ३ दशमलव ७७ प्रतिशत हो । अभियानको प्रगति विवरण अनुसार धुलिखेल नगरपालिकाले सबैभन्दा बढी ८६ प्रतिशत प्रगति हासिल गरेको छ । त्यसपछि महाभारत गाउँपालिका ८४ प्रतिशत प्रगति सहित दोस्रो तथा तेमाल गाउँपालिका ८० प्रतिशत प्रगतिसहित तेस्रो स्थानमा रहेका छन् ।
जनस्वास्थ्य कार्यालयका प्र’मख श्रेष्ठका अनुसार लेखाजोखा कार्य अझै केही दिन सञ्चालन हुनेछ । अभियानमा स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा विद्यालय नर्स परिचालित छन् भने सम्बन्धित स्वास्थ्य शाखाले अनुगमन र सहजीकरण गरिरहेका छन् । बालबालिकाको तौल, पाखुराको नाप, उचाइ तथा लम्बाइ मापनका आधारमा उनीहरूको पोषण अवस्था निर्धारण गरिएको जनाइएको छ । स्क्रिनिङका क्रममा कुपोषित पहिचान भएका बालबालिकालाई बहिरङ्ग पोषण उपचार तथा हेरचाह सेवा केन्द्रमार्फत आवश्यकता अनुसार उपचारको व्यवस्था गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।









