2026 May 26/ 12:20: 57am

    धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लाका १३ स्थानीय तहबाट आर्थिक वर्ष २०८१/८२ मा १३ हजार २ सय नागरिक जना वैदेशिक रोजगारीका लागि बाहिरिएको तथ्यांक सार्वजनिक भएको छ ।
    जिल्लाका स्थानीय तहहरूले संकलन गरेको विवरणअनुसार पुरुषको संख्या अत्यधिक भए पनि महिलाको सहभागिता पनि उल्लेख्य रूपमा बढ्दै गएको छ । वैदेशिक रोजगारीमा जानेहरू बनेपा नगरपालिका सबै भन्दा धेरै रहेका छन् । बनेपाबाट १ हजार ७३७ जना विदेशिएका छन्, जसमा ४४२ महिला र १ हजार २९५ पुरुष छन् । जिल्लाको व्यापारिक तथा शैक्षिक केन्द्रका रूपमा विकसित बनेपामा रोजगारका अवसर बढे पनि युवाहरूको आकर्षण अझै विदेशमै देखिएको छ ।
    त्यसपछि पाँचखाल नगरपालिकाबाट १ हजार २१५ जना विदेशिएका छन् । पाँचखाल कृषि उत्पादन र पूर्वाधार विस्तारमा अगाडि बढिरहेको नगरपालिका मानिए पनि युवा जनशक्ति वैदेशिक रोजगारतर्फ मोडिएको तथ्यांकले देखाउँछ । रोशी गाउँपालिका बाट १ हजार २०२ जना विदेशिएका छन् । ग्रामीण भेगमा रोजगारका अवसर सीमित हुँदा रोजगारीका लागि खाडी मुलुक र मलेसियातर्फ पलायन बढिरहेको स्थानीयहरू बताउँछन् ।
    पनौती नगरपालिका बाट १ हजार १९१, नमोबुद्ध नगरपालिका बाट १ हजार २६, र धुलिखेल नगरपालिका बाट ९८८ जना विदेशिएका छन् । गाउँपालिकामध्ये तेमाल गाउँपालिका बाट ९३२, भुम्लु गाउँपालिका बाट ८८६, र महाभारत गाउँपालिका बाट ८८४ जना वैदेशिक रोजगारीमा गएको तथ्यांक छ । त्यस्तै मण्डनदेउपुर नगरपालिका बाट ८३४, बेथानचोक गाउँपालिका बाट ८२९, चौंरीदेउराली गाउँपालिका बाट ८११ र खानीखोला गाउँपालिका बाट ६६५ जना विदेशिएका छन् । तथ्यांकअनुसार जिल्लाबाट विदेशिनेमा पुरुषको संख्या ९ हजार ७१६ पुगेको छ भने महिलाको संख्या ३ हजार ४८४ रहेको छ । कुल वैदेशिक रोजगारीमा जानेमध्ये करिब ७४ प्रतिशत पुरुष र २६ प्रतिशत महिला रहेका छन् । यसले पुरुष श्रम आप्रवासन अझै हाबी रहे पनि महिलाको सहभागिता क्रमशः बढिरहेको संकेत गर्छ । 
    विशेषज्ञहरूका अनुसार काभ्रेमा शिक्षा, कृषि तथा साना व्यवसाय विस्तार भइरहे पनि पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा युवाहरू विदेशिन बाध्य भइरहेका छन् । ग्रामीण क्षेत्रका धेरै परिवारको मुख्य आम्दानीको स्रोत अहिले पनि रेमिट्यान्स बनेको छ । स्थानीय तहहरूले वैदेशिक रोजगारबाट फर्किएका युवालाई सीप, उद्यमशीलता र लगानीमा जोड्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ । अन्यथा जिल्लाको उत्पादनशील युवा शक्ति निरन्तर विदेशिने क्रमले स्थानीय विकासमा दीर्घकालीन असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।    
    बैदेशिक रोजगाारमा जानेहरु ठगिमा समेत पर्ने गरेका छन् । जिल्ला प्रशासन कार्यालय काभ्रेकी प्रशासकीय अधिकृत सुनिता थापाले बैदेशिक रोजगारमा जानेहरु ठगिँदाको अवस्थामा कानूनी कारवाहीका लागि प्रहरी, जिल्ला प्रशासन कार्यालय र बैदेशिक रोजगार विभागमा उजुरी गर्न सकिने ब्यवस्था रहेको बताईन् । प्रशासकीय अधिकृत थापाले वैदेशिक रोजगार भनी उजुरी भइ आएमा म्यानपावरसँग सम्बन्धित भए डाइरेक्ट विभागमा पठाइने र एजेन्ट वा कुनै व्यक्तिसँग सम्बन्धित भए प्रमुख जिल्ला अधिकारीले त्यस्तो व्यक्ति झिकाई मेलमिलाप समेत गराउन सक्ने ब्यवस्था छ । प्रहरीले बैदेशिक रोजगार जिल्ला प्रशासन कार्यालयमा पठाउने र जिल्ला प्रशासन कार्यालयले प्रमाण पुग्दैन भन्ने फेरि प्रहरीमा नै पठाउने काम भएकोले जिल्ला प्रशासन कार्यालयले गर्ने कामका सम्वन्धमा स्पष्ट रुपमा बैदेशिक रोजगार भने पनि त्यो विषय उल्लेख नहुँदा त्यसलाई ठगी वा अन्य मुद्दा चलाउने तर अन्य केही प्रमाण खुल्छ भने जिल्ला प्रशासनमा पठाउन अधिकृत थापाले अनुरोध गरिन् ।