पनौती/सिद्धार्थ वनस्थली इन्स्टिच्यूटले विद्यालयका संस्थापक प्रिन्सिपल लक्ष्मण राजवंशीको स्मृति दिवसमा शिक्षा क्षेत्रमा योगदान गर्ने ब्यक्तिहरुलाई सम्मान गरेको छ ।
इन्स्टिच्यूटले शैक्षिक विकासमा योगदान गर्ने शिक्षासेवी एवं सामाजिक अभियान्तालाई हरेक वर्ष नगद सहित लक्ष्मण राजवंशी स्मृति शिक्षा पुरस्कारबाट सम्मान गर्ने गरेको छ । सम्मानित हुनेहरुमा जनमत मासिकका सम्पादक मोहन दुवाललाई नगद २५ हजार सहितको लक्ष्मण राजवंशी स्मृति सम्मानले सम्मान गरिएको थियो । त्यसैगरी पूर्व शिक्षा सचिव चन्द्रबहादुर खड्का, मल्पी इन्टरनेशनल स्कुलका संस्थापक अध्यक्ष दीपकमान शेरचन, शिक्षासेवी जगन्नाथ अवा, पनौती नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बेदप्रसाद बञ्जारा, बालोद्वारा माविका कार्यबाहक प्रधानाध्यापक मायादेवी श्रेष्ठ, फूलचोकी आधारभुत विद्यालयका प्रधानाध्यापक विमला नेपाल, विद्यालयका पूर्व विद्यार्थी एवं भूमि व्यवस्थापन कार्यालयका निर्देशक रामकुमार सापकोटा, डा. अनन्त सुवेदी, डा. मणिन्द्र मानन्धर, डा. राजेन्द्र ताम्राकार, डा. श्रीकृष्ण श्रेष्ठ र डा. समिर कर्माचार्यलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले सम्मानित ब्यक्तित्वहरुलाई बधाई दिएका थिए । भण्डारीले लक्ष्मण राजवंशीले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै पनौतीलाई शैक्षिक हब बनाउन सबै क्षेत्रबाट लाग्नुपर्ने बताए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सविता दंगाल, प्याब्सनका उपमहासचिव भिमसेन केसी, साहित्यकार मोहन दुवाल लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमा स्वागत मन्तब्य विद्यालयकी प्राचार्य रेश्मा थापाले राखेकी थिईन भने सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव थापाले गरेका थिए । कार्यक्रम सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक प्रविण दाहालले गरेका थिए ।









