2026 May 01/ 05:52: 36pm

    धुलिखेल/आगलागी जस्तो आकस्मिक विपद्बाट जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले धुलिखेल बसपार्क क्षेत्रमा आगलागी नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । 
    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र धुलिखेल नगरपालिका वडा नम्बर–३ को समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय बासिन्दा, व्यवसायी, सवारी चालक तथा सर्वसाधारणको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ग्यास सिलिन्डर लिक हुँदा हुन सक्ने जोखिम, त्यसबाट जोगिन अपनाउनुपर्ने सावधानी तथा आगलागी भएमा तत्काल गर्नुपर्ने प्रारम्भिक सुरक्षाका उपायबारे जानकारी गराएको थियो ।
    प्रहरी टोलीले ग्यास चुहावट भएको आशंका लागेमा विद्युत् स्विच नचलाउन, झ्यालढोका खुला राख्न, आगो बाल्न नहुने तथा तत्काल सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरेको थियो । साथै घर, पसल तथा सार्वजनिक स्थलमा आगलागी नियन्त्रण सामग्री राख्नुपर्ने आवश्यकता पनि औंल्याइएको थियो । धुलिखेल नगरपालिका वडा नम्बर–३ का वडा अध्यक्ष गणेश आचार्यले यस्ता कार्यक्रमले नागरिकमा सतर्कता बढाउने विश्वास व्यक्त गरे । उनले सचेतनामूलक कार्यक्रम स्थानीय तहसम्म नियमित रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताए ।
‘आगलागीका घटना धेरैजसो असावधानीका कारण हुने गरेका छन्’–उनले भने–‘समयमै जानकारी र सचेतना फैलाउन सके ठूलो क्षति हुनबाट बचाउन सकिन्छ ।’ स्थानीयवासीहरूले पनि हरेक घरपरिवारमा हुन सक्ने जोखिम न्यूनीकरणका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताएका छन् । उनीहरूले समुदायस्तरमै तालिम, प्रदर्शन र जनचेतना अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । हालका वर्षहरूमा ग्यास चुहावट, विद्युत् सर्टसर्किट तथा असावधानीका कारण आगलागीका घटना बढ्दै गएकाले यस्ता कार्यक्रमले नागरिकलाई सचेत र जिम्मेवार बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।