2026 August 24/ 09:08: 17pm

    बनेपा/बनेपामा रहेको बागमती ईङ्गलिश बोर्डिङ्ग स्कुलको २४ औ बार्षिकोत्सव, अभिभावक दिवस, दिक्षान्त तथा पुरस्कार वितरण समारोह प्याब्सन केन्द्रिय उप महासचिव भिमसेन केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रताप बैद्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रिन्सिपल दिपेन्द्रबहादुर विष्टले विद्यालयका शैक्षिक कृयाकलापका बारेमा जानकारी गराएका थिए । 
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्याब्सन केन्द्रिय उप–महासचिव भिमसेन केसीले विद्यार्थीहरुलाई किताबी ज्ञानका अलावा प्रविधी मैत्री र बालमैत्री शिक्षामा जोड दिन अनुरोध गरे । पछिल्लो समय सामुदायिक विद्यालयहरुले समेत नीजि विद्यालयको भन्दा गुणस्तरीय शिक्षामा जोड दिएकाले नीजि विद्यालयहरुले फरक शैली र विधीबाट बालबालिकाहरुलाई अझै अब्बल बनाउन मेहनत गर्नु पर्ने बताए । विद्यालयका अध्यक्ष प्रताप बैद्यले नीजि विद्यालयहरुले दिने शिक्षा विल्कुल भिन्न र अलग खालको हुनु पर्ने बताउँदै बालबालिकाहरुको सर्वाङ्गिण विकासमा ध्यान दिनु पर्ने बताए । बागमती ईङ्गलिस स्कुलको स्थापना देखि हालसम्म निरन्तर त्यहि अभियानमा विद्यालयले बालबालिकाहरुको शिक्षामा जोड दिएको अध्यक्ष बैद्यले बताए । विद्यालयका प्रिन्सिपल दिपेन्द्रबहादुर विष्टले विद्यालयले अतिरिक्त कृयाकलापमा विद्यार्थीहरुलाई सहभागि गराउँदै उनिहरुको क्षमता तथा प्रतिभालाई प्रस्फुटन गराउने गरी विभिन्न कृयाकलापमा बालमैत्री ब्यवहार र शैलीका साथ कक्षाहरु संचालन गरिरहेको बताए । साथै शिक्षकहरुले बालमैत्री शिक्षण विधी र प्रविधी मैत्री शिक्षामा जोड दिदै आएको उनले बताए । 
    कार्यक्रममा रोशी गाउँपालिका उपाध्यक्ष मिमबहादुर तामाङ, प्याब्सनका बरिष्ठ उपाध्यक्ष महेन्द्र थिङ्ग, पुर्व अध्यक्ष तथा पुर्व केन्द्रिय सदस्य सत्यनारायण श्रेष्ठ, विद्यालयका संचालकहरु कृपेन्द्र श्रेष्ठ, राजन मानन्धर, कैलाश पलाञ्चोके, पुर्व विद्यार्थी निपाशा कुँवर, अभिभावक विष्णुमाया पुलामी, मानवअधिकारकर्मी एवं पुर्व अभिभावक भोजराज तिमल्सिना, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, अभिभावकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा युकेजी अध्ययनरत ५४ जना बालबालिकाहरुलाई दिक्षित गरिएको थियो । विद्यालयले आगामी शैक्षिक सत्र देखि कक्षा ११ र १२ संचालन गर्ने गरी गृहकार्य गरिरहेको अध्यक्ष प्रताप बैद्यले बताए । कार्यक्रम शिक्षिका रुचि मानन्धरले संचालन गरेकी थिईन् । सोहि अवसरमा विद्यार्थीहरुलाई विभिन्न विद्यामा उत्कृष्ट पुरस्कार वितरण गरिएको थियो ।