बनेपा/बनेपा नगरपालिकाले तिजको अवसर पारी शुभकामना आदान प्रदान, बजार मेला प्रर्वद्धन तथा लोकगित प्रतियोगिता आयोजना गरेको छ । नगरपालिका भित्रका १४ वटा वडाबाट १५ वटा समुहले प्रतिस्पर्धामा भाग लिएका थिए भने नगरपालिकाकै ब्यवस्थापनमा निःशुल्क ६५ उद्यमी महिलाहरुले स्टल राखेका थिए ।
नगर प्रमुख शान्तिरत्न शाक्यले कार्यक्रमको उद्घाटन गर्दै महिलाहरुको शशक्तिकरण, उद्यम र उत्पादनलाई बजारीकरण गर्न यस्ता मेला महत्वपूर्ण हुने बताए । नगरपालिकाले स्थानीय उत्पादनलाई बजारीकरण गर्न तथा महिलाहरुलाई उत्पादनसँग जोडेर आय–आर्जन बृद्धि गर्न सिपसँगै उत्पादनको बजारीकरणका लागि मेला प्रर्वद्धन कार्यक्रम आयोजना गरेको नगर प्रमुख शाक्यले बताए । उपप्रमुख विमला सापकोटाले तिज महिलाहरुका लागि विशेष चाड भएकाले त्यहि अवसरमा हरेक महिलाहरुलाई शुभकामनाका साथै आफुले उत्पादन गरेका सामाग्रीको प्रर्दशन, उद्योगको जानकारी तथा प्रसार प्रसार र महिलाहरुको शशक्तिकरणका लागि प्रतियोगिता र प्रर्वद्धन मेला महत्वपूर्ण हुने बताईन् ।
कार्यक्रममा संविधान सभा सदस्य शिला कतिला, पुर्व सांसद गोमा भुर्तेल, विभिन्न पालिकाका उपप्रमुखहरु, नगरपालिका प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाई, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख विजया सुवेदी, वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर तथा जनप्रतिनिधिहरु, कर्मचारीहरु र विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने ब्यक्तिहरुको सक्रिय सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागि महिलाहरुले प्रस्तुत गरेको उत्कृष्ट लोकगितको निर्णय गर्न नगरपालिकाले बरिष्ठ लोकगायक मच्छेश्वर सापकोटा, गायक रामहरी न्यौपाने र मन्दिरा केसीलाई जिम्मेवारी दिएको थियो । महिला उद्यमी बढाउँ, घरदेखि नगर समृद्ध बनाउँ भन्ने नाराका साथ सहभागिहरुले लोकगित प्रस्तुत गरेका थिए । एउटा समुहमा ३ देखि ५ जना महिलाहरु सहभागि थिए । सहभागि भएकाहरु सबैलाई प्रमाणपत्र उपलब्ध गराईएको थियो भने प्रथम, दोश्रो, तेश्रो र सान्त्वना पुरस्कार प्राप्त गर्नेहरुलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३५ सय रुपैया नगद सहितको प्रमाणपत्र उपलब्ध गराईएको थियो । प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई नगर प्रमुख शाक्य, उपप्रमुख सापकोटाले पहिलो हुने बनेपा ९, दोश्रो हुने बनेपा ६, तेश्रो हुने बनेपा १० र सान्त्वना हुने वडा नम्वर ११ लाई पुरस्कार वितरण गरिएको थियो । साथै नगरपालिकाबाट सिफारिस भई बागमती प्रदेशमा उत्कृष्ट कृषकका रुपमा पुरस्कृत हुने दुई महिला कमला लामा र चुना बाँस्तोलालाई सोहि अवसरमा सम्मान गरिएको थियो ।





