पनौती/पनौती नगरपालिकाले बालश्रममुक्त नगरपालिका घोषणाको तयारी तिव्र पारेको छ । सोहि अभियान अन्तर्गत अन्तराष्ट्रिय श्रम संगठनको सहयोग तथा पनौती नगरपालिकाको आयोजनामा पनौती नगरपालिका वडा नम्बर ४ मा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
कार्यक्रममा वडा अध्यक्ष दिपक दाहाल, कार्यपालिका सदस्य राधिका विश्वकर्मा, वडा सदस्यहरु सविता थापा, कुमार बस्नेत, प्रकाश बञ्जारा, पनौती नगरपालिका सामाजिक विकास शाखा प्रमुख एवं बालमैत्री संपर्क व्यक्ति केशब बञ्जारा, नेकपा एमालेका नकुल श्रेष्ठ, नेपाली कांग्रेसका महेश थापा लगायतको उपस्थिती रहेको थियो । पनौती नगरपालिका यस अघि नै बालमैत्री नगरपालिका घोषणा गरिएको छ । बालमैत्री घोषणासँगै बालबालिकाले आफ्ना लागि आवश्यक नीति, कार्यक्रम र रणनीति तर्जुमा गरिरहेका वडा अध्यक्ष दिपक दाहालले बताए । बालमैत्री स्थानीय शासन अन्तर्गत दिगोपनाका लागि वडाले कार्यक्रम गरिरहेको उनले जानकारी दिएका छन ।
पछिल्लो समय बालबालिका अध्ययनको लागि विदेशिने क्रम बढेकोमा चिन्ता व्यक्त गर्दै उनले विद्यालय तह देखी नै बालबालिकालाई सम्भावनाको खोजी बारे सिकाउन जरुरी रहेको बताए । नैतिक शिक्षा कमजोर हुँदै गएकाले सुधारको प्रयास जरुरी रहेको वडा अध्यक्ष दाहालको भनाई छ । बालमैत्री संम्पर्क व्यक्ति केशव बञ्जाराले १२ वटै वडामा बालमैत्री सहजकर्ता मार्फत बालबालिकाको हक अधिकार स्थापित गर्न काम गरिरहेको जानकारी दिए । कार्यक्रममा उनले बालश्रम र बाल कामको बारेमा समेत स्पष्ट पारेका थिए । बालबालिकाहरुको शारिरिक, मानसिक विकासमा नकारात्मक असर नपर्ने गरी उनीहरुको सामाजिकीकरण गर्न, सिपहरु सिक्न, सिकाउनका लागि तथा बालअधिकारको संरक्षण हुने गरी आफ्नै घरमा, विद्यालयमा वा समाजमा लगाइने काम बाल काम हो । यस्ता कामहरुले बालअधिकार सम्बन्धी कुनै पनि अन्तराष्ट्रिय कानुनहरुले सुनिश्चित गरेका अधिकारहरु माथी हस्तक्षेप गर्दैनन् ।
यस्तै बालमैत्री सहजकर्ता ललिता धिताल पराजुलीले बाल अधिकार अन्तर्गत बाल बचाउ, सहभागिता, संरक्षण र विकासको बारे जानकारी गराएकी थ्यिन् । बालश्रम निवारणका लागि विद्यमान नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन जरुरी रहेको उनको भनाई थियो ।





