2026 May 20/ 03:21: 27pm

    बनेपा/ब्रम्हकुमारी राजयोग सेवा केन्द्र बनेपाले ‘ब्यस्त ब्यक्तिका लागि सहज जीवन विषयक विचार गोष्ठी’ बनेपामा सम्पन्न भएको छ । ब्रम्हकुमारी राजयोग सेवा केन्द्र धुलिखेलकी संचालिका लक्ष्मी दिदीको अध्यक्षता तथा बनेपाकी संचालिका लक्ष्मी दिदीको स्वागत रहेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमको प्रमुख आतिथ्यता रहेको थियो । 
    ‘लिएर आएको केहि छैन, लिएर जाने पनि केहि हैन । हारेको केहि छैन । हार्ने पनि केहि छैन । सधै संसार जित्ने आशा सहित हरेक दिन सकारात्मक अपेक्षा सहित सक्रिय हुनु पर्छ’–जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले भने–‘ब्रम्हकुमारी राजयोग सेवा केन्द्रमा पुग्दा छचल्किएका मनहरु शान्त हुनेछन् ।’ बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले इश्वरीय र आध्यात्मिक ज्ञानका लागि ब्रम्हकुमारी राजयोग सेवा केन्द्रको अभियान महत्वपूर्ण भएको बताए । ब्यस्त ब्यक्तिका दैनिकीहरु अस्तब्यस्त भएको अवस्थामा यस्ता कार्यक्रम महत्वपूर्ण भएको बताए । 
    प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले मान्छे नचाहिने र अनावश्यक विषयमा तनाव लिन थालेकाले तनावमुक्त जीवन जिउन अनावश्यक विषयमा चासो नलिन र नदिन अनुरोध गरे । ‘ब्यक्ति सकारात्मक भन्दा नकारात्मक तर्फ धेरै केन्द्रित हुन थालेको छ’–प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भने–‘नागरिकहरुलाई सकारात्मक सोच तर्फ केन्द्रित गराउन अनावश्यक विषयमा तनाव नलिनलाई केन्द्रित गर्नु पर्छ ।’   विचार गोष्ठीमा ब्यस्त ब्यक्तिका लागि सहज जीवन विताउनका लागि ब्यक्तिले अपनाउनु पर्ने रहनसहन, दिनचर्या, खानपान र समयको ब्यवस्थापन महत्वपूर्ण हुने सहजकर्ता ब्रम्हकुमार विजयराज सिग्देलले बताए । त्यस्तै ब्रम्हकुमार रमणकुमार भट्टराई, उद्योगपत्ति शुशिल अग्रवाल लगायतले सकारात्मक सोच र सहज जीवनका लागि जीवनशैली परिवर्तन गर्न सुझाव दिए ।