भक्तपुर/प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० मा प्रस्तावित बिषयप्रति सामुदायिक विद्यालय ब्यबस्थापन समिति महासंघ नेपालले आपत्ति जनाउँदै ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालय र शिक्षा समन्वय ईकाई कार्यालयमा आइतबार ज्ञापनपत्र बुझाएको छ । मस्यौदामा समेटिएका वडा अध्यक्षलाई विद्यालय व्यवस्थापन समितिले नेतृत्व दिने विषयमा महासंघले आपत्ति जनाएको छ ।
यसैगरी भक्तपुर जिल्ला शाखाले पनि प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल र शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख रमेश प्रसाद मैनालीलाई ज्ञापनपत्र बुझाउदै मस्यौदामा समेटिएको विभिन्न विषय संशोधन गर्न समेत माग गरिएको छ । महासंघका केन्द्रीय सदस्य संगम लामाले सामुदायिक विद्यालयको नेतृत्व वडा अध्यक्षहरुको हातमा दिन नहुने बताउनु भयो ।
ज्ञापनपत्रमा महासंघले ५ बुँदे माग अघि सारेको छ । जसमा समुदायको स्वामित्व र अगुवाईमा संचालन हुने विद्यालय सामु हो, संघीय शिक्षा ऐनमा सामुदायिक विद्यालय लेखियोस, विद्यालय ब्यबस्थापन समितिको नेतृत्व अभिभावक हुनुपर्छ, अभिभावक भेलामार्फत विद्यालय ब्यवस्थापन समिति गठनको प्रबन्ध राखियोस्, जनप्रतिनिधि प्रधानाध्यापकको जस्तै विद्यालय ब्यवस्थापन समितिको पदावधि ५ बर्ष कायम गरियोस्, खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनौट गर्दा विद्यालय ब्य्बस्थापन समितिको निर्णायक सहभागिता रहने ब्यबस्था गरियोस्, सामुदायिक विद्यालय संचालन, ब्यस्थापन र सुधारमा स्वयंसेवी रूपमा क्रियाशिल विद्यालय ब्यवस्थापन समितिहरुको राष्ट्रिय छाता संगठन सामुदायिक विद्यालय ब्यबस्थापन समिति महासंघ नेपालको भूमिकालाई संघीय शिक्षा ऐनमा ब्यवस्था गरियोस् भन्ने माग ज्ञापनपत्र मार्फत माग अघि सारेको महासंघका केन्द्रीय सदस्य संगम लामाले जानकारी दिनुभयो ।





