बनेपा/पारिवारका सदस्यहरुबीच एकआपसमा राम्रो सम्बन्ध नहुँदा मानसिक समस्या देखिने गरेको एक अध्ययनले देखाएको छ । धुलिखेल अस्पताल अनतर्गत स्ट्याण्ड स्ट्रोङ प्रोजेक्टले गरेको अध्ययन प्रतिवेदनले उक्त अवस्था देखाएको हो ।
परिवारमा श्रीमान लगायत अन्य सदस्यसँग राम्रो सम्बन्ध नहुँनु, दोहोरो बोझ, आर्थिक तथा परिवारिक कार्य आफैं गर्नुपर्ने बाध्यता, भविष्यको सोचाईका कारण उत्पन्न डर त्रासका कारण पनि मानसिक समस्या देखिने गरेको अध्ययनले औंल्याएको छ । उक्त परियोजना अनगर्तत काभ्रेका ४ वटा पालिका धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका र पाँचखाल नगरपालिकामा अध्ययन गरिएको डाक्टर आभा श्रेष्ठले बताउनुभयो । मातृ स्वास्थ्य सम्बन्धी विषय महत्वपुर्ण भएपनि प्राथमिकतामा पर्न नसकेको प्रा.डा.राजीव श्रेष्ठले बताउनुभयो । सरोकारवालको सहभागितामा प्रतिवेदन सार्वजनिक गरिएकाले अध्ययनले निकालेको निष्कर्ष आगामी दिनका लागि थप प्रभावकारी हुने उहाँको विश्वास छ । यस्तै प्रा.डा.ब्राण्डन कोहर्टले आमाको स्वास्थ्य अवस्था वुझेर मानसिक उपचार गराइएमा परिवार नै स्वस्थ हुने बताउनुभयो । स्वस्थ आमाले मात्रै स्वस्थ बच्चा जन्माउने र परिवार नै स्वस्थ हुने उहाँको भनाई थियो । परियोजना सल्लाहकार पुष्पाञ्जली पुरीले अध्ययन गरिएका क्षेत्रमा पहिला र अहिले आमाको स्वास्थ्यमा देखिएको सकारात्मक परिवर्तनको चर्चा गर्नुभएको थियो । चिकित्सकको परामर्शपछि उहाँहरुको व्यवहारमा परिवर्तन आएको उहाँको भनाई छ । यस्तै जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर पुरुषोत्तम सेढाईले अध्ययनबाट प्राप्त परिणामले बढ्दो मानसिक समस्या समाधानका लागि सघाउने विश्वास व्यक्त गर्नुभएको छ ।
आधुनिक प्रविधिको प्रयोगले मानसिक समस्या समाधान गर्न सघाउने प्रतिवेदनको निष्कर्ष छ । स्मार्ट वाच, मोबाइलको मद्धले आमा र बच्चाको दैनिक गतिविधि थाहा पाउन सकिने डाक्टर राजीव श्रेष्ठले बताउनुभयो । अध्ययनमा जिल्लाका ४ वटा पलिकाका २४ जना आमाहरु सहभागि हुनुहुन्थ्यो । १८ देखी २५, २६ देखी ३५ र ३६ देखी ४० वषै उमेर समुहका महिला सहभागि थिए । जसमध्ये २६ देखी ३५ वर्ष उमेर समुहका आमाहरुमा बढी मानसिक रोगको सिकार भएका छन । सबैभन्दा कम ३६ देखी ४० वर्ष उमेर समुहका छन । मानसिक समस्या देखिएका आमाहरुमा आत्मविश्वासको कमी, अनिन्द्रा, एक्लै बस्न रुचाउने, नकारात्मक सोचाई लगायतका लक्षण देखिने गरेको छ । मानसिक रोगको उपचारपछि भने बानीव्यहोरामा परिवर्तन आएको चिकित्सकले बताएका छन । कार्यक्रममा रोजीना बज्राचार्य र मानसी अग्रवालले आमा हुँदाको अनुभव सुनाउनुभएको थियो ।





