धुलिखेल/धुलिखेल नगरपालिकामा संचालित मासु पसलको अनुगमनलाई निरन्तरता दिइएको छ ।
धुलिखेल नगरपालिका पशुपंछी विकास शाखाले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँगको समन्वयमा वडा नम्बर ४ र ५ मा रहेका मासु पसलको अनुगमन गरेको हो । अनुगमनका क्रममा पसलको सरसफाई, व्यवसाय दर्ता भए÷नभएको र मुल्यसुची राखिएको÷नराखिएको हेरिएको थियो । अनुगमन पश्चात स्वस्थ मासु उत्पादन तथा विक्री वितरणका लागि आवश्यक निर्देशन र सुझाव दिइएको उप–प्रमुख निराजन जंगमले जानकारी दिनुभयो । अनुगमन टोलीमा उप–प्रमुख जंगम, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर, वडा नम्बर ४ का वडा अध्यक्ष उत्तम प्रसाद तिमल्सिना, वडा नम्बर ५ का वडा अध्यक्ष प्रमोद सुन्दर श्रेष्ठ, भेटेरीनरी अस्पतालका प्रमुख डाक्टर नितेश कार्की, प्रशासन तथा योजना शाखा प्रमुख पुजा काफ्ले, पशुपंक्षी विकास शाखा प्रमुख पुरुषोत्तम हुमागाई, गायत्री रमण घिमिरे, राजश्व शाखाका पुञ्जलाल श्रेष्ठ, लगायत सहभागी थिए । यस्तै नगरपालिकाका पशु चिकित्सक डाक्टर चरण कमल धिताल, रविना घिमिरे, पशु स्वास्थ्य प्रविधिक हरिहर अधिकार र बद्री तिमल्सिना अनुगमन टोलीमा सहभागी थिए । धुलिखेल नगरपालिका पशुपंक्षी शाखाले धुलिखेल नगरपालिका भित्र रहेका मासु पसलहरुबाट विक्री हुने मासु स्वस्थ र गुणस्तरीय बनाउने अभियान स्वरुप स्वस्छ मासु उत्पादन तथा विक्रिवितरणका लागि अभियान नै सुरु गरेको छ । धुलिखेल नगरपालिकाका १२ वटा वडामा रहेका ६१ वटा मासु पसलबाट दैनिक २ हजार केजी मासु विक्री हुँदै आएको छ ।
धुलिखेल नगरपालिका सदरमुकामका अलावा पर्यटकिय नगर पनि हो । काठमाडौ विश्वविद्यालय र धुलिखेल अस्पतालका कारण साना ठुला दर्जनौ होटल तथा रेस्टुरेन्टहरु संचालनमा छन् । स्वस्थ शहर अभियानमा नागरिकहरुले प्रयोग गर्ने हरेक खाद्यान्न गुणस्तर बनाउने गरी नगरपालिकाले मासु उत्पादन, विक्री वितरण र प्रयोगमा समेत गुणस्तरीय बनाउन तालिम दिँदै आइएको नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो । प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगरले स्थानीय तहले बजारलाई स्वस्थ राख्न अझ गुणस्तरीय मासु विक्री नहुँदा हुन नसक्ने जोखिमलाई न्युनिकरण गर्न अनुगमन तथा निरिक्षणलाई प्राथमिकता दिएको र निरन्तरता दिने बताउनु भयो ।





