2026 May 20/ 11:32: 45am

भकुण्डेवेशी/नमोबुद्ध नगरपालिकामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम दिइएको छ ।  
११ वटै वडाका ५ जनाका दरले ५५ जनालाई ८ दिवसीय आधारभूत तालिम दिइएको न्यायिक समितिका संयोजक तथा नगर उपप्रमुख रत्नबहादुर लामाले जानकारी दिनुभयो । काभ्रेपलाञ्चोक जिल्ला मुख्य न्यायाधीश मोहनराज भट्टराईले जनताले घरदैलोमा नै न्यायको अनुभूति गर्न पाओेस् भनेर स्थानीय तहमा नै न्यायिक समितिको अवधारणा ल्याइएको बताउनु भयो । नगर प्रमुख कुन्साङ लामाले आफू क्षमतावान् नभएसम्म अरुलाई न्याय दिन नसक्ने भन्दै मेलमिलापकर्ताको सिप, ज्ञान र क्षमता अभिवृद्धिको लागि तालिम सञ्चालन गरिएको बताउनु भयो । नगर उपप्रमुख रत्नबहादुर लामाले मेलमिलापमा जोड दिए न्यायिक समितिसम्म उजुरी नै नआउने तर्क गर्नु भएको थियो ।
तालिममा श्रेस्तेदार गोविन्द प्रसाद घिमिरे, अधिवक्ता दिपक प्रसाद चौलागाई, सृजना तामाङ, नमोबुद्ध नगरपालिकाका कानूनी सल्लाहकार अधिवक्ता महेन्द्र तामाङ (थिङ), वैतनिक वकिल निरोजप्रसाद नेपाल, जिल्ला कानूनी सहायता केन्द्रका अधिवक्ता विजयभक्त श्रेष्ठ लगायतले सहजिकरण गर्नुभएको थियो । तालिममा सहभागिहरुलाई नगर प्रवक्ता टिकाबहादुर केसी, न्यायिक समितिक सदस्य समेत रहेका वडा नं ७ का अध्यक्ष धर्मसिं लामा, वडा नं ४ का अध्यक्ष अर्जुन कार्की, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारीलगायतले सहभागीलाई प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।