बनेपा/बनेपा र पनौती नगरपालिकाको संयुक्त आयोजनामा जेष्ठ २६ र २७ गते बनेपाको लायकु परिसरमा बृत्ति मार्ग निर्देशन तथा रोजगार मेला आयोजना गरिएको छ ।
बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले रोजगार मेलामा सहभागि हुनेहरुलाई वृत्ति विकास सम्बन्धी परामर्श सेवा तथा जानकारी गराईएको, सीपमूलक तालीम दिने संस्थाहरुको प्रदर्शनी र तालीम बारे जानकारी गराईएको, रोजगार सम्बन्धी सूचना दिईनुका साथै रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराएको बताउनु भयो । निःशुल्क सञ्चालन हुने कार्यस्थलमा आधारित सीपमूलक तालीमहरु सम्बन्धी जानकारी गराईएको, रोजगारको अवसर प्राप्त गर्न सकिने र स्थानीय उत्पादनहरु प्रदर्शनी गरिएको बताउनु भयो ।
पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, उपप्रमुख गिता बञ्जारा र विमला सापकोटा, प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद हुमागाई र प्रणराज न्यौपाने, उद्योग बाणिज्य संघका प्रतिनिधिहरुले रोजगार मेला र त्यसको प्रभावका बारेमा जानकारी गराएका थिए । मेलाबाट तीन हजार युवाहरुको वृत्ति परामर्श सेवा प्राप्त गरेको, बेरोजगार युवाहरुले विभिन्न उद्योग तथा व्यवसायमा रोजगारी प्राप्त गर्ने अपेक्षा गरिएको जानकारी दिएका छन् । प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद हुमागाईले मेलाबाट विभिन्न उद्योग तथा व्यवसायीहरुले उपलब्ध जनशक्ति बारे जानकारी पाउने, बेरोजगार युवाहरुले स्थानीय स्तरमा रहेको उद्योग तथा व्यवसायसंग उपलव्ध विभिन्न रोजगारीका अवसरवारे जानकारी गराईएको बताउनु भयो । नेपाल सरकार तथा स्वीस सरकार बीचको द्विपक्षीय सम्झौता अनुसार संचालित दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो चरण अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो ।





