बनेपा/‘छक्का पञ्जा ४’ हेर्ने दर्शकहरुको उत्साह देखिएको छ । तेसा्रे सातादेखि देशभरका हलहरु दर्शकले खचाखच भएका छन् । शनिबार फिल्मका कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, राज आचार्यले बनेपाको शुभकामना हल आएर दर्शकसँग भेट गरेपछि अझ माहोल बनेको सञ्चालक दुर्गालाल प्रधानले बताउनु भयो ।
फिल्म प्रदर्शन भएसँगै कलाकारहरुको टिम हल पुगेर दर्शकसँग भेट गर्दै प्रतिक्रिया बुझिरहेको छ । समीक्षकले औसत भनेको फिल्मलाई दर्शकबाट राम्रो प्रतिक्रिया मिलिरहेको छ । यसैले फिल्मको कमाई ३ सातापछि पनि खस्किएको छैन । हेमराज विसी निर्देशित फिल्मले समसामयिक राजनीतिक परिवेशलाई व्यंग्य गरेको छ ।
‘छक्का पञ्जा ४’ हल व्यवसायीहरुका लागि खडेरी पछिको वर्षात बनेको छ । तीन चार महिनादेखिको घाटा फिल्मले दुई सातामा नै उठाइदिएको छ । ठूलो खर्चमा सुविधा सम्पन्न बनाइएको बनेपाको शुभकामना हलमा फिल्म ‘महापुरुष’ पछि कुनै नेपाली फिल्म हाउसफुल हुन सकेका थिएन्न तर, ‘छक्का पञ्जा ४’ सञ्चालन भए सगै हरेक दिन हाउस फुल हुने गरेको हल सञ्चालक दुर्गालाल प्रधान बताउनु भयो ।
प्रधानले ‘फिल्म राम्रो बन्यो भने चल्छ भन्ने गतिलो उदाहरण ‘छक्का पञ्जा ४’ बनेको बताउनु भयो । विदा नभएका दिनमा पनि फिल्म हाउसफुल भएको छ । शनिबार त दर्शकले टिकट नपाएर फर्किनु पर्छ ।





