2026 May 20/ 07:13: 17am

बनेपा/बनेपा नगरपालिकाले कौसी तरकारी खेती प्रबद्र्धनका लागि कम्पोस्ट मल बनाउने बिन वितरण गरेको छ । 
 नगरपालिकाको वडा नम्बर ५, ७, ८ ९, १० र १३ मा  ५० प्रतिशत अनुदानमा कम्पोस्ट विन वितरण गरिएको नगर प्रमुख शान्ति रत्न शाक्यले बताउनु भयो । बनेपा नगरपालिकाको वडा नं ५ का ५० जनालाई कम्पोष्ट विन वितरण गरेको छ । कम्पोष्ट बिन वितरण बनेपा नगरपालिका नगर प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथी शाक्यले नगरपालिकाले उक्त कार्यक्रमले नगरको फोहोर मैला ब्यबस्थापनमा कोशेढुङ्गा सावित हुने बताउनु भयो । नगर प्रमुख शाक्यले सहरी क्षेत्रमा फोहर व्यवस्थापनको चुनौती रहेको र त्यसको समाधानका लागि फोहोर वर्गीकरण गरेर कुहिने फोहरलाई मल बनाएर आफ्नै घरमा कौसी तरकारी खेती गर्नका लागि उक्त कार्यक्रम सञ्चालन गरेको बताउनु भयो ।
कार्यक्रममा नगरपालिका उप–प्रमुख विमला सापकोटाले नगरपालिकाले फोहोर व्यवस्थापनका लागि वडा नम्बर  ५, ७, ८ ९, १० र १३  मा कौसी तरकारी खेती तालिम सञ्चालन गरेको बताउनु भयो । सापकोटाले  तालिममा सहभागीहरूलाई नगरपालिकाले पचास प्रतिशत अनुदानमा कम्पोस्ट बिन वितरण गरिएको जानकारी दिनु भयो । सापकोटाले  विभिन्न वडाका ५ सय जनालाई कौशीखेती तालिम प्रदान गरिसकेको र बाँकी २ हजारलाई छिट्टै दिन लागेको र तालिम प्रदान पछि कम्पोष्ट बिन समेत वितरण गरिने सापकोटाले बताउनु भयो । 
नगरका प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद हुमागाईले नगरपालिकाले कौसी खेती प्रवद्र्धनका लागि वडा नम्बर ७ मा १५०, वडा नम्बर ८ मा १७५, वडा नम्बर ९ मा ७५, वडा नम्बर १० मा २५ र १३ मा २५ र वडा नम्बर ५ मा ५० वटा कम्पोस्ट वितरण गरेको वताउनु भयो । कम्पोस्ट बिनसँगै नगरपालिकाले तरकारी तथा फलफुलका विउ वितरण गरेको हुमागाईले बताउनु भयो । 
कार्यक्रमका सभापति तथा वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारीले सिकेको सीप र कम्पोस्ट बिनको सदुपयोग गर्न आग्रह गर्दै घरमै तरकारी उब्जाउन र फोहोर व्यवस्थापनमा सघाउन उक्त कार्यक्रमले सहयोग गर्ने बताउनु भयो । अधिकारीले तरकारी खेती प्रबद्र्धनका लागि नगरपालिकाले कम्पोस्ट बिन वितरण गर्नुको साथै तरकारीका तथा फूलका बिरुवाहरू वितरण गर्दै आएका बताउनु भयो ।  कार्यक्रमले जैविक फोहोर व्यवस्थापनमा सहयोग र्पुयाउनुको साथै नगरलाई सौन्दर्यकरणका लागि मद्दत पुग्ने अधिकारीले बताउुनु भयो । कार्यक्रममा वडा सदस्यहरु, कृषि शाखा अधिकृत बच्चु बहादुर कार्की लगायतको सहभागिता रहेको थियो ।