2026 May 20/ 06:53: 17am

    पनौती/पनौती नगरपालिकाको बाह्रौं नगर सभा शुक्रबार पनौतीमा सम्पन्न भएको छ । नगर प्रमुख रामशरण भण्डारीको अध्यक्षतामा सम्पन्न सभामा प्रस्तुत विधेयकहरु पास भएको छन् । साथै समसामयीक विषयमा उठेका विषयहरुको सम्बोधन गर्दै चालु आर्थिक वर्षमा भएका प्रगतिका बारेमा समिक्षा भएको छ । 
    चालु आर्थिक वर्ष २०७९/०८० का लागि एघारौ सभाबाट स्वीकृत योजना तथा कार्यक्रममा संशोधन नगर उपप्रमुख गीता बञ्जाराले पेश गर्नु भएको थियो । त्यस्तै वडा अध्यक्ष बेदप्रसाद बञ्जाराले चालु आर्थिक वर्ष २०७९/०८० को यस अवधीसम्मको आय ब्यय अनुमोदनका लागि प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । वडा अध्यक्ष पुरुषोत्तम अधिकारीले चालु आर्थिक वर्षको उपलब्धीको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । वडा अध्यक्ष जयराम केसीले चालु वर्षको न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । वडा अध्यक्ष विनोद खत्रीले योजना अनुगमन तथा फरफारक समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । वडा अध्यक्ष भिमप्रसाद आचार्यले विपद् ब्यवस्थापन समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । वडा अध्यक्ष सहकुलकुमार हुमागाईले एघारौ नगर सभा पश्चात हालसम्म भएका कार्यपालिकाले विभिन्न मितिमा गरेका निर्णयहरु अनुमोदन समवन्धी प्रस्ताव पेश गर्नु भएको थियो । त्यस्तै वडा अध्यक्ष जयकुमार तामाङले उद्योग दर्ता अनुगमन तथा नियमन सम्वन्धी विधेयक २०७९ पेश गर्नु भएको थियो भने वडा अध्यक्ष सविन ताम्राकारले गैरसरकारी संघ संस्था दर्ता सम्वन्धी विधेयक २०७९ पेश गर्नु भएको थियो । वडा अध्यक्ष विपेन्द्र लामाले शिक्षा ऐन २०७४ मा पहिलो संशोधन सम्वन्धी प्रस्ताव पेश गर्नु भएको थियो । वडा अध्यक्ष दिपकप्रसाद दाहालले धन्यवाद प्रस्ताव पेश गर्नु भएको थियो । 
    सभामा पेश भएका प्रस्ताव उपर भएको छलफल तथा सभाका सदस्यहरुले उठाएका सार्वजनिक महत्वका विषयहरुलाई सम्बोधन गर्दै आगामी कार्यपालिका तथा योजनाहरुमा समेटने गरी छलफल सहित प्रस्तावहरु पास भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रणराज न्यौपानेले बताउनु भयो । कानुन अनुसार उक्त सभामा पौष मसान्त भित्र सम्पन्न गर्नुपर्ने थियो । नगरपालिकाले केहि समय अघि मात्रै विषयगत समितिहरु गठन गरेको छ । वडा नम्वर १० का अध्यक्ष मोहनबहादुर भण्डारी प्रस्ताव प्रस्तुतकर्तामा आफ्नो नाम समावेश हुन नसकेकोमा अपमान भएको भन्दै बैठक बहिस्कार गर्दै बाहिरिएका थिए । एमाले निकट सदस्यहरुले पनि विविध विषयमा धारणा राख्दै सम्बोधनको माग राखेपछि केहि बेर बैठक स्थगित गरेर सहमति गरिएको थियो ।