बनेपा/६२ वर्ष अघि काभ्रेपलाञ्चोक जिल्लाको बनेपा घोकेचौरमा काभ्रे पुर्वका जिल्लाहरुका नागरिकहरुलाई समेत स्वास्थ्य सेवा दिने उदेश्यले स्थापना भएको शिर मेमोरियल एडभेन्टिष्ट अस्पतालले सेवा दिएर स्थगन भएको लामो समय पछि पुनः प्रविधि मैत्री आँखा क्लिनिक शुरुवात गरेको छ ।
‘अस्पतालमा उपलब्ध विविध सेवालाई प्रभावकारी बनाउँदै पुनः आँखा सम्वन्धी सेवा प्रदान गर्ने उदेश्यले क्लिनिक शुरुवात गरिएको हो’–अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर गाईरेसले भन्नुभयो–‘विभिन्न घटनामा आँखामा चोट लागेर विरामी अस्पताल आईपुग्दा आँखामा भएको चोटको उपचार क्लिनिक नभएकै कारण सम्भव थिएन र भएन ।’ त्यहि कारण सेवाग्राहिहरुलाई सेवा प्रदान गर्ने उदेश्यले आँखा क्लिनिक शुरुवात गरिएको उहाँले बताउनु भयो । ‘क्लिनिकमा भिजन टेस्ट, कलर भिजन टेष्ट, अटो रिफ्याक्सन, आँखाको प्रेसर लगायतको परिक्षण हुनेछ’– डा.रोजी मानन्धरले भन्नुभयो – ‘आँखाको सर्जरी, मोतियाविन्दु, बच्चाको अन्धोपन परिक्षण पछि उपचारका लागि पनि प्रकृया शुरु भएको छ ।’ मोतियाविन्दुको शल्यक्रियाका लागि अस्पताल, सहयोगि दाता र स्थानीय सरकारको समन्वय आवश्यक हुने डा. रोजी मानन्धरले बताउनु भयो ।
क्लिनिक उद्घाटन कार्यक्रममा बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले स्थानीय सरकारले नागरिकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न स्थानीय सरकारको तर्फबाट अस्पतालसँग समन्वय हुने बताउनु भयो । बनेपामा रहेको रेयुकाई मासुनागा आँखा अस्पतालले शुरु गरेको विशेषज्ञ सहितको सेवालाई प्रभावकारी बनाउन र शिर मेमोरियल अस्पतालमा भएका सेवाहरुलाई थप गुणस्तरीय बनाउन नगरपालिकाले आवश्यक पहल गर्ने उहाँले बताउनु भयो । रोटरी क्लवको सहयोग र नगरपालिकाको ब्यवस्थापनमा शिर मेमोरियल अस्पतालमा सिटि स्क्यान मेशिन ल्याउने विषयमा छलफल भएको नगर प्रमुुख शाक्यले बताउनु भयो । अस्पतालका मेडिकल अधिकृत डा. एन्जिला बस्नेतले विश्वमा आँखा सम्वन्धी समस्या भएका धेरै नागरिकहरु भएको तर विशेषज्ञ सेवा पाउन नसकेको तथ्याङ्क प्रस्तुत गर्दै शिर मेमोरियल अस्पतालले विगतमा शुरु गरेको आँखा सम्वन्धी सेवालाई पुनः संचालनमा ल्याउन लागेको बताउनु भयो । आँखाको परिक्षण पछि सेवाग्राहिलाई चाहिने कन्ट्रयाक्ट लेन्स, चस्मा तथा अन्य सेवाका बारेमा समेत अस्पताल परिसरमा स्थापना भएको चस्मा घर अर्थात चस्मा सम्वन्धी क्लिनिकबाट सेवा प्रदान हुने रमेश श्रेष्ठले जानकारी दिनु भयो ।
कार्यक्रममा वडा अध्यक्ष बलराम अधिकारी, अस्पताल प्रशासनका सुन्दर थाापा, पुकार श्रेष्ठ, कर्मचारी मजदुर युनियनका अध्यक्ष राजकुमार श्रेष्ठ, समाजसेवी उत्तम मानन्धर लगायतले शिर मेमोरियल अस्पतालमा आउने विरामीहरुका लागि आँखा सम्वन्धी सेवा शुरु गरेर सहजता हुने बताउनु भयो । अस्पतालले आँखा सम्वन्धी समस्या भएर आउने विरामीहरुका लागि २४ सै घण्टा सेवा उपलब्ध गराउनेछ । सोहि अवसरमा अस्पतालका विभिन्न सेवाका बारेमा जानकारी गराईएको थियो ।





