‘नगरबासीहरु सुकुम्बासी हुने छैनन्’–नगर प्रमुख
धुलिखेल/अर्थभूमि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९ औ बार्षिक साधारण सभा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै नगर प्रमुख ब्याञ्जुले नगरबासिहरुलाई आर्थिक रुपले सम्वृद्ध बनाउन नगरपालिकाले कृषि र पशुपालनको क्षेत्रमा सिप विकास तथा विमा कार्यक्रम अगाडी बढाएको बताए । सबै वडाहरुमा सहकारी मार्फत सम्वृद्ध ल्याउने गरी विशेष कार्यक्रमको योजना बनाईएको बताउँदै नगर प्रमुख ब्याञ्जुले सहकारी ब्यवस्थापक र लेखापालहरुको समेत क्षमता अभिबृद्धीका लागि तालिम आयोजना गरिएको बताए । सुकुम्बासीहरुलाई जग्गा ब्यवस्थापनका लागि २ लाख रुपैया उपलब्ध गराउने र गरिवी निवारणका लागि नगरपालिका आफैले लगानी गर्ने गरी कार्यक्रम तय गरिएको नगर प्रमुख ब्याञ्जुले बताए । पुँजी परिचालन गरी पुँजी आर्जन गर्ने खालका कार्यक्रम सहकारी मार्फत सञ्चालन गर्न नगरपालिकाले योजना बनाएको उनले बताए ।
अध्यक्ष सन्तोष भुखजुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिका उपप्रमुख विमला शर्मा, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिना लगायतले मन्तब्य राखेका थिए । सोहि सभामा नगर प्रमुख अशोक ब्याञ्जु नेपाल नगरपालिका संघका अध्यक्ष तथा अन्र्तराष्ट्रिय क्षेत्रको सह अध्यक्षमा निर्वाचित भएकोमा तथा नेपाल पत्रकार महासघको अध्यक्षतामा निर्वाचित भएकोमा मोतीराम तिमल्सिनालाई सम्मान गरिएको थियो । कार्यक्रममा अध्यक्ष भुखजुले सहकारीले वर्षभरी गरेका प्रगतिका बारेमा जानकारी गराएका थिए ।
सचिव कविप्रसाद चोच्छे र कोषाध्यक्ष कुमारलाल श्रेष्ठको प्रतिवेदन सर्वसम्मतले पास भएको थियो भने लेखा प्रतिबेदन बालगोपाल रञ्जितकारले प्रस्तुत गरेका थिए । सहकारीले गत वर्षको अन्त्यसम्ममा १ करोड १८ लाख ४३ हजार शेयर पुँजी संकलन गरेको छ भने १५ करोड ८० लाख बचत संकलन गरी १२ करोड ५० लाख ऋण लगानी गरेको छ ।









