2026 September 04/ 04:49: 07pm

    बनेपा/बनेपा नगरपालिका वडा नम्वर ७ का निवर्तमान अध्यक्ष एवं आसन्न स्थानीय तहको निर्वाचनका अध्यक्ष पदका उम्मेदवार वर्ण शाक्यले पाँच वर्षमा गरेका महत्वपूर्ण कार्यको सूची सार्वजनिक गर्दै आगामी पाँच वर्षमा गर्ने योजनाका बारेमा प्रतिबद्धता ब्यक्त गरेका छन् । 
    शाक्यले पाँच वर्षमा सम्पन्न गरेका वडाका विकास योजनाहरु ८ किलोमिटर सडक कालो पत्रे, किलोमिटर सडक ढलान, २ किलो मिटर सडकमा (बनेपा चोक चारदोबाटो देखी दाँया बायाँ) फुटपाथ निर्माण, स्वास्थ्य चौकी भवन निर्माण पूरा गरी संचालनमा, विश्वसम्पदा जोगाउन पुराना ईनार, पोखरी, मठ मन्दिर पुनर्निर्माण, उग्रतिर्थमा रहेको घाट निर्माण, जेष्ठ नागरिक विश्रामस्थल निर्माण, वडाबासीहरुका लागी फोहोर ब्यबस्थापनमा सहजता ल्याउन कौसी खेती तालिम, सीपमूलक तालिम प्रदान, वडामा न्यून आयस्तर भएका नागरिकहरुका लागि कोरोनाका समयमा तथा अन्य समयमा राहत वितरण, स्वास्थ्य सामाग्री वितरण, वडाबासीहरुलाई चेतनामूलक तालिम, रोजगार मुलक सिप प्रशिक्षण रहेका छन् । 
    आगामी पाँच वर्ष भित्र शाक्यले बाँकी सबै सडक कालोपत्रे सम्पन्न गर्ने, चण्डेश्वरी खोला र पुण्यमाता करिडोर निर्माण, प्रत्येक टोल सुरक्षित गर्न सि.सि टिभी जडान गरी फ्रि वाईपाईको ब्यबस्था, खानेपानी, सरसफाई र ब्यबस्थित बजार, अति बिपन्न परिवारलाई निःशुल्क शिक्षा, र निःशुल्क स्वास्थ वीमा, छुवाछुतमुक्त वडा र सबै खालका विभेद अन्त्य, वडामा रहेका विभिन्न धार्मिक मठ मन्दिर र संस्कृतिको जगेर्ना, बालमैत्री वडा घोषणा र सार्वजानीक शौचालय निर्माण गर्ने बताउनु भएको छ । फोहोर मैला र फुटपाथ ब्यवस्थापन गर्ने कार्यलाई पनि प्राथमिकतामा राखेको शाक्यले बताउनु भयो । शाक्यले बोलेर भन्दा पनि गरेर देखाउने आफ्नो बानी भएकाले त्यसै गर्ने बताउनु भयो ।