2026 September 05/ 03:55: 12pm

    पनौती/२०७४ साल असोज ७ गते शिलान्यास गरिएको पनौती नगरपालिका वडा नम्बर ५ सुब्बा गाउँको मुक्तिनाथको प्राण प्रतिष्ठा गरिदैछ । भोली शुक्रबारबाट आईतबारसम्म विभिन्न कार्यक्रमका साथ मन्दिरमा प्राण प्रतिस्ठाका लागि धार्मिक कार्यक्रम आयोजना गरिनेछ । 
    आज विहिबार साँझ ५ बजे देखि आरती शुरु हुनेछ । आरतीसँगै पुर्वाङ्ग, विश्वक्सेन आराधना, पुण्याहवाचन, अङ्कुरारोपण, ब्राह्मण वरण हुनेछ । भोली ९ गते अग्नि प्रतिष्ठा, चतुस्थानार्चन, कलश स्थापना, मध्यान्हमा वास्तु पूजा होम, सायमकाल मूर्ती मन्त्र होम, मूलमन्त्र होम, जलाधिवास गरिनेछ । शनिबार प्रातः चतुस्नार्चन नित्य पूजा, कलश कर्माङ्ग स्नापनं, मध्यान्ह ः नित्य पूर्णाहुती, साँझ धान्यापिवासं शय्यादिवासं, तत्वन्यास होम पूर्णाहुती, गर्भालये यन्त्र स्थापना गर्तपूजा, रत्न न्यास आयोजना गरिनेछ । ११ गते नित्य पूजा तत्वन्यास होम, महापूर्णाहूती, सम्पादाज्य श्रीविग्रहमा सेचन, दिवा ३ ः ०५ बजेको शुभ मुहूर्तमा भगवानको नेत्रोन्मिलन, प्रथम भगवद् आराधना, राजभोग अर्पण, मूल आरती, तीर्थ प्रसाद वितरण, आचार्य ब्राह्मण विदाई कार्यक्रम आयोजना गरिएको छ । 
    मन्दिरको २०७८ दशैको पञ्चमी तिथी अथार्त असोज २५ गते सोमबारबाट शुभारम्भ गरिएको थियो । मन्दिर शुभारम्भ सँगै सर्वसाधारणका लागि खुल्ला गरिएको थियो । छोटो समयमा नै मन्दिरमा भक्तजनहरुको घुँईचो लागेको छ । स्वामी कमलनयानाचार्यद्वारा शिलान्यास गरिएको मुक्तिनाथ मन्दिरको शुभारम्भ कमलनयानाचार्यबाटै गरिएको थियो । प्राणप्रतिष्ठामा पनि उहाँकै उपस्थिती रहनेछ । ‘मन्दिरको पूर्वाधार निर्माण सम्पन्न भएकाले असोज २५ गते प्राण प्रतिष्ठा गरेर वैदिक विधि अनुसार नियमित पूजा सुरु गरिएको थियो । भोली शुक्रबारबाट प्राण प्रतिस्ठा हुनेछ’– मन्दिर निर्माण व्यवस्थापन समितिका अध्यक्ष गोपालबहादुर थापाले भन्नुभयो–‘निर्माणका धेरै काम सकिएका छन् । प्राण प्रतिस्ठा सम्पन्न भए थप सहजता हुनेछ ।’ 
    मुक्तिनाथ मन्दिरका अलावा मन्दिरमा बस्ने पुजारी भवन, पानीका लागि डिप बोरिङ, २७ हजार लिटर क्षमता भएको पानी ट्याङ्की २ वटा, बहुउद्देश्यीय भवन, शौचालय, धारामा नुहाए पछि महिला पुरुषका लागि अलग अलग चेन्जिङ्ग रुम, पोखरी, १ सय ८ धारा र बगैँचा निर्माणको कार्य सम्पन्न भएको अध्यक्ष गोपालबहादुर थापाले बताउनु भयो । पछि सर्वसाधारण मन्दिरमा आउँदा भोजखानका लागि ट्रस्ट निर्माण गरिएको छ । ‘मुस्ताङ जिल्लामा रहेको मुक्तिनाथ मन्दिर पछिको विधि अनुसार धामको रूपमा स्थापना गरिएको यो दोस्रो मन्दिर रहेछ’–अध्यक्ष थापाले भन्नुभयो–‘तीन तल्ले यो मन्दिरमा प्राण प्रतिष्ठासँगै दुई वटा पाटी, १०८ धारा, महिला पुरुषका लागि अलग अलग चेन्जिङ्ग रुम, बाथरुम, बहुउद्देश्यीय भवन, मन्दिर प्रवेशद्वार, प्रवेशद्वारबाट मन्दिरसम्म जाने सिँढी, वरिपरि वाल सहितको कम्पाउन्ड लगायतका अन्य संरचनाहरू निर्माण सम्पन्न भई सकेका छन् । थप अन्य संरचना निर्माण भईरहेका छन् ।’
    मन्दिर भित्र प्रवेश गरे लगत्तै भक्तजनहरूको मनमा आनन्द उत्पन्न हुने छ । २०७७ भित्र निर्माण कार्य सम्पन्न गरी प्राण प्रतिष्ठा गर्ने योजनामा कोभिड तथा अन्य केही प्राविधिक कारण रहेको अध्यक्ष थापाले बताउनु भयो । गत वर्ष माघ महिनामा सम्पन्न मकर मेलामा देशभरका झत्तजनहरुले मुक्तिनाथ मन्दिरको दर्शन गर्ने अवसर प्राप्त गरेका थिए । अहिले पनि दैनिक भक्तजनहरु उक्त मन्दिरमा नियमित आउने गरेका छन् । दाताहरूको सहयोग, स्थानीय सरकार पनौती नगरपालिका, प्रदेश सरकारको समेत सहयोगमा निर्माण भइरहेको मन्दिरका लागि रकम अभाव टार्न दाताहरूको सक्रियता रहेको अध्यक्ष थापाले बताउनु भयो । मन्दिर निर्माणका लागि दाताहरूले विभिन्न क्षेत्रबाट सहयोग पु¥याउन सक्ने अध्यक्ष थापाले बताउनु भयो ।