2026 May 19/ 03:50: 14am

    बनेपा/नेपाल परिवार नियोजन संघ काभ्रे शाखाले भर्खरै सम्पन्न केन्द्रिय महाधिबेशनबाट निर्वाचित सभापति हिमाल कसजु तथा जिल्ला शाखाको प्रतिनिधित्व गर्दै केन्द्रिय सदस्य पदमा निर्वाचित शाखा कोषाध्यक्ष इन्द्रलक्ष्मी श्रेष्ठलाई स्वागत तथा बधाई शुभकामना ब्यक्त गरेको छ । 
    एक कार्यक्रमको आयोजना गरी शाखाले सदस्य लम्बोदर कायश्थ सुस्त मनस्थिती कल्याण संघको केन्द्रिय अध्यक्षमा निर्वाचित भएकोमा पनि बधाई र शुभकामना ब्यक्त गरेको सभापति शुभराज जोशीले बताउनु भयो । सम्मान तथा स्वागत कार्यक्रममा बोल्दै केन्द्रिय सभापति हिमाल कसजुले नेपालका सामाजिक संघ संस्थाहरु पछिल्लो अवस्थामा कमजोर बन्दै गएको बताउँदै परिवार नियोजन संघको विगतका केहि गतिविधिका कारण दाताहरुले समेत एक वर्षे शुद्धिकरणको अवसर उपलब्ध गराएको बताउनु भयो । ‘हामीले एक वर्ष भित्रै परिवार नियोजन संघको केन्द्र, प्रदेश र जिल्ला शाखाहरुको संरचनालाई सुधार गर्न जरुरी छ’– सभापति कसजुले भन्नुभयो–‘एक वर्ष भित्र संस्थालाई रिर्फम गर्न सकिएन भने दाताहरुले उपलब्ध गराउने अनुदान रकम बन्द हुनेछ ।’ परिवार नियोजन संघलाई दाताहरुले झण्डै ५० करोड बार्षिक रकम उपलब्ध गराउँदै आएका छन् । 
    नेपालमा सरकारले परिवार नियोजनको सेवा शुरु नगर्दा ६० वर्ष अघि परिवार नियोजन संघ मार्फत सेवा उपलब्ध गराउन शुरु गरेको संस्था पछिल्लो समय धरासयी बन्दै गएको सभापति कसजुले बताउनु भयो । विषम परिस्थितीका बाबजुत पनि संस्थालाई पहिलाकै अवस्थामा पु¥याउन, नागरिकहरुलाई गुणस्तरीय सेवा उपलब्ध गराउँदै आफै सक्षम र आत्मनिर्भर बन्न योजना सहितको कार्यक्रम तय गर्ने सभापति कसजुले बताउनु भयो । ‘शुसासन कायम गर्ने, आत्मनिर्भर बन्ने र ब्यवस्थापनमा समेत सुधार गर्ने योजनामा छौं’– सभापति कसजुले भन्नुभयो । परिवार नियोजन संघका २८ वटा शाखामा ३ सय भन्दा धेरै कर्मचारी र १३ हजार भन्दा धेरै स्वयंसेवक सहभागि छन् । २० वटा शाखाका आफ्नै जग्गा र पूर्वाधार निर्माण छन् । २०११ देखि नेपालमा रहेको परिवार नियोजन संघ खतराको सूचीमा पर्न शुरु गरेको छ । 
    स्वागत तथा सम्मान कार्यक्रममा पुर्व केन्द्रिय सदस्य तथा नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्यले परिवार नियोजन संघका कार्यक्रमलाई विस्तार गर्न जरुरी रहेको बताउनु भयो । सुस्त मनस्थिती कल्याण संघका अध्यक्ष लम्बोदर कायश्थले परिवार नियोजन संघले प्रदान गर्ने सेवालाई फराकिलो बनाउँदै सबै नागरिकहरुको पहुँचमा पु¥याउन थप योजना बनाउनु पर्ने बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, परिवार नियोजन संघका पुर्व सचिव प्रकाश कायश्थ, प्रवन्धक रमेश श्रेष्ठ लगायतले शुभकामना दिदै विपदमा समेत सेवा प्रदान गरेको परिवार नियोजन संघलाई अझै शशक्त बनाउन जरुरी रहेको बताउनु भयो । शाखा सभापति शुभराज जोशीले परिवार नियोजन संघले प्राप्त कार्यक्रमलाई ग्रामिण भेगसम्म पु¥याउने बताउनु भयो ।