2026 May 16/ 06:24: 09am

    बालुवा/नेपाल प्रहरीका डिआईजी तथा प्रदेश नम्वर ३ का प्रमुख दिपककुमार थापाले प्रहरीको एकल प्रयासबाट मात्रै अपराध अनुसन्धान र नियन्त्रण नहुने भएकाले प्रहरी समुदाय साझेदारी कार्यक्रम ल्याएको बताएका छन् । 
    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक मातहत रहेको पाँचखाल नगरपालिका बालुवाको प्रहरी चौकी उद्घाटन कार्यक्रममा डिआईजी थापाले प्रहरीको मनोबल खस्कनु भनेका समुदायमा अपराध मौलाउनु भएको स्पष्ट पारे । समुदाय र प्रहरीको साझेदारीमा मात्रै अपराध न्युनिकरणका सबै अभियान सफल हुने भएकाले प्रहरीले स्थानीय सरकार, टोल, समुदाय र विद्यालयसँगको साझेदारी कार्यक्रम शुरु गरेको डिआईजी थापाले बताए । २०३९ सालमा तत्कालिन प्रहरी महानिरिक्षक डिबी लामाले समुदायसम्म प्रहरी पुग्न छिमेकी प्रहरी अभियान शुरु गरेको प्रसङ्ग सुनाउँदै डिआईजी थापाले समुदाय र प्रहरीको सम्वन्ध नङ्ग र मासु जस्तै भएको बताए । 
    १ करोड ५९ लाख ३४ हजार रुपैया लागतमा निर्माण सम्पन्न भएको बालुवा प्रहरी चौकी पुनर्निमार्णका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तर्फबाट सहयोग उपलब्ध भएको थियो । जिल्लाका ६ स्थानमा उक्त कोषबाट रकम उपलब्ध भई प्रहरी चौकी निर्माण गरिएको छ । ढुंखर्क, चौबास र जिल्ला प्रहरी कार्यालयको प्रहरी चौकी निर्माण कार्य सम्पन्न भईसकेको छ भने कातिकेदेउरालीको हस्तान्तरण भईसकेको जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले बताए । प्रहरी चौकीमा ब्यारेक भवन, मेश, शौचालय लगायतको सुविधा छ । २०७३ साल फागुनबाट निर्माण कार्य शुरु भएको प्रहरी चौकी २०७४ फागुनमै निर्माण सम्पन्न भए पनि हस्तान्तरण भएको थिएन । माझिफेदामा रहेको यु एण्ड एस कन्ट्रक्सनले निर्माणको जिम्मेवारी लिएको उक्त भवन समयमै निर्माण सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । 
    कार्यक्रममा संघीय प्रहरी इकाईका प्रमुख सौरभ राणा, सहायक प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविराज खड्का, प्रदेश प्रहरी कार्यालयका इन्जिनियर अनिल राना लगायतले मन्तब्य राखेका थिए । प्रदेश नम्वर ३ मा आर्थिक वर्ष २०७४÷२०७५ मा जर्बजस्ति करणीका २ सय ६६ घटनामा ७५ प्रतिशत चिरपरिचित ब्यक्तिबाट भएको प्रदेश प्रहरी प्रमुख डिआईजी थापाले बताए ।