होम चौंलागाँईं/मण्डनदेउपुर
काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका कृषि उत्पादनका हिसाबले एक अब्बल नगरपालिका हो । यहाँ तरकारी बाली अन्तर्गत आलु खेती, गोलभेंडा, काक्रो, फर्सी, लौका, घिरौंला, भिण्डी, काउली, बन्दा जस्ता विभिन्न सिजनल जातका तरकारीहरु र खाद्य बाली अन्तर्गत धान, मकै, गहूँ, कोदो प्रशस्त मात्रामा उत्पादन हुने गर्दछ । त्यसैले यहाँका विभिन्न सहकारी संघ संस्थाहरुले विभिन्न् समयमा कृषमैत्री कार्यक्रमहरु संचालन गर्ने गर्दछन् । जस अनुसार नगर स्थित वडा नं. १०, अँपघारीमा रहेको चण्डेनी मण्डन साना किसान कृषि सहकारी संस्था लि. ले किसानहरुलाई आर्थिक सहयोग तथा सहुलियत दरमा कृषि सामग्रीहरु वितरण गरेको छ । सहकारीको पहल र प्रदेश सरकारको ५०% अनुदानमा किसानहरुलाई मिनी टिलर, मकैं पिध्ने मेशिन, स्प्रेयर पम्पका साथै मकैं छोडाउने मेशिन लगायतका कृषि सामग्रीहरु वितरण गरेको हो ।
गत शनिबार आँपघारीमा आयोजित एक विशेष कार्यक्रमका पूर्व संचार तथा सूचना प्रविधि मन्त्री मा. गोकल बास्कोटाको प्रमुख आतिथ्यता तथा नगरका उप–प्रमुख निर्मला शाहीको विशेष आतिथ्यतामा उक्त सामग्रीहरु हस्तान्तरण गरिएको हो । नगरस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, वडाका विभिन्न सहकारी तथा संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यतामा सम्पन्न कार्यक्रममा साना किसानका शेयर सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
किसानहरुलाई प्रविधिमैत्री बनाई आद्युनिक व्यवसायिक कृषिमा किसानहरुलाई आकर्षित गर्ने उद्देश्यले त्यहाँका किसानहरुलाई आर्थिक अनुदानका साथै १२ जना किसानलाई मिनी टिलर, ५ जालाई मकै छोडाउने मेशिन, ९ जनालाई ईलेक्ट्रिक स्प्रेयर र ४ जनालाई मकैं पिध्ने आद्युनिक मेसिन लगायतका विभिन्न कृषि यन्त्रहरु वितरण गरिएको थियो
कार्यक्रममा उक्त परियोजनाबाट ४ जना सक्रिय कृषकहरुलाई पी.भी.एस्. आलुको वीउका लागि ३ लाख ४२ हजार अनुदान रकम उपलब्ध गराइएको थियो । कार्यक्रममा संस्थाले आफ्नो स्थापना अवधीको छोटै समयमा किसानहरुलाई प्रविधि उन्मुख बनाउ सकेको भन्दै किसानहरु उत्साहित देखिन्थे । प्रविधिमा किसनाहरुको आकर्षण वढेकै कारण १८३ जनाले मिनी टिलर खरिदका लागि आवेदन दिएकोमा यस पटक १३ जना किसानहरुलाई मात्र प्रदान गर्न सफल भएपनि आगामी दिनमा धेरैको माग सम्बोधन गरिने संस्थाका अध्यक्ष सुमनले बताएका छन् ।
कार्यक्रममा किसानका प्रतिनिधिहरु, प्रतिनिधि शेयर सदस्य, यस पटक प्रत्यक्ष लाभान्वित किसानहरु, वडा स्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, नगर उप–प्रमुख, पूर्व मन्त्री लगायत थुप्रैले मन्तब्य राखेको थिए । मन्तव्यको क्रममा विभिन्न अतिथिहरुले आफ्नो धारणा राख्ने क्रममा नगर उप–प्रम्ुख निर्मला शाही र पूर्व मन्त्री बास्कोटाले संस्था किसान र प्रविधीमैत्री बन्न सफल भएकोमा सहकारी र यसका संचालनहरुलाई धन्यवाद प्रदान गरेका थिए ।
विभिन्न समयमा विभिन्न ढंगले किसानहरुलाई आद्युनिक खालको वीउ वीजन उत्पादन र उन्नत जानको कृषि प्रणालीमा ध्यान दिंदै आएको र आगामी दिनहरुमा त्यस खालको कामलाई थप प्रोत्साहनका साथ अगाडी वढाइने बताइएको छ । प्रविधि र प्राविधिक परिचालन सहित आद्युनिक खाले विभिन्न कृषि प्रणालीमा ध्यान दिंदै आएकोले चण्डेनी मण्डन साना किसान सहकारी संस्था लि. आजकाल चण्डेनी मण्डनको मात्र नभई सिंगो मण्डनदेउपुरका किसानहरुको जिब्रोमा झुण्डिने नाम बन्न थालेको संस्थाका शेयर सदस्य दिपक नेपालले बताए ।









