2026 May 18/ 05:22: 16am

बनेपा/काभ्रे महिला उद्यमी मञ्चको ७ औ बार्षिक साधारण सभा तथा अधिबेशन बुधबार बनेपामा सम्पन्न भएको छ । अध्यक्ष रामप्यारी पोटे अवालेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लामा उद्यम गरिरहेका महिला सदस्यहरुको सहभागिता रहेको थियो । साधारण सभाको अवसर पारी मञ्चले काभ्रे पलाञ्चोक जिल्लामा पहिलो पटक उद्योग दर्ता गरी काभ्रे उद्योग बाणिज्य संघको सदस्यता प्राप्त गर्ने सविता धौभडेल, प्रमिला चण्डी, सविता शाक्य लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा महिला उद्यमीहरुलाई नेतृत्व र ब्यक्तित्व विकासका लागि हरेक क्षेत्रबाट सहयोग हुनु पर्ने बताईएको थियो । बनेपा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै उपप्रमुख सापकोटाले नगरपालिकाले महिलाहरुलाई उद्यमी ब्यवसायी बनाउन सिप प्रदान गरेको, सहुलियत ऋणका लागि सहजिकरण गरेको, अनाथ बालबालिकाहरुलाई अभिभावकत्व प्रदान गरी सहजिकरण गरिरहेको तथा महिला हिंसा न्यूनिकरण गर्न, कानुन र संविधानका बारेमा जानकारी प्रदान गर्न अनुशिक्षण कार्यक्रम संचालन गर्न र बालविवाह रोक्न कार्य गरिरहेको बताउनु भयो । घर शान्त हुन सकेको अवस्थामा मात्रै ब्यक्तिले हरेक क्षेत्रमा नेत्तृत्व प्रदान गर्न सक्ने बताउँदै उपप्रमुख सापकोटाले न्यायिक समितिले थुप्रै विवादहरु समाधान गरी समस्या समाधान गरेको बताउनु भयो । कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्य, डिबी बस्नेत, राजन श्रेष्ठ, महिला उद्यमी मञ्चका अध्यक्ष लक्ष्मी खनाल, काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर सहितका पदाधिकारीहरु, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, काभ्रे महिला जेसिजका अध्यक्ष देवकी आचार्य, सौन्दर्य कला ब्यवसायी संघका अध्यक्ष शोभा नकर्मी, उद्योग बाणिज्य संघ बागमती प्रदेश सदस्य प्रतिमा भट्ट लगायतले महिलाहरु आफै सक्षम भई घरबाट बाहिर निस्कनु पर्ने बताउनु भयो । अधिबेशनले रामेश्वरी मानन्धरको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।