प्रताप वैद्य
बरिष्ठ उपाध्यक्ष
काभ्रे उद्योग वाणिज्य संघ, काभ्रे
- काभ्रे उद्योग वाणिज्य संघमा तपाईको समूहको उम्मेदवारी दर्ता भएको छ ? किन ?
काभ्रे उद्योग वाणिज्य संघले आगामी जेठ १९ गते निर्वाचन घोषणा गरिसकेको छ । यो नियमित प्रक्रिया हो । उद्योग वाणिज्य संघको विधान अनुसार समयमै हुनु पर्ने निर्वाचन केहि ढिलो भएकै हो । यो वर्ष पनि प्यानलका साथ साथीहरु निर्वाचनमा होमिएका छन् । सर्वसम्मतिको लागि प्रयासरत पनि हुनुहुन्छ । अर्काे कुरा राज्य लोकतान्त्रिक व्यवस्थामा गई सकेको छ । लोकतान्त्रिक व्यवस्थामा निर्वाचन हुनु स्वभाविक नै हो । मेरो समूहको तर्फबाट भन्नुपर्दा जुनसुकै प्रक्रियामा जाँदाखेरी स्वच्छ प्रतिस्पर्धामा जानुपर्दछ भन्ने मेरो मान्यता हो । तर पनि नेतृत्वका लागि प्रतिस्पर्धामा आउनु स्वभाविकै हो । समुहले आगामी दुई वर्ष भित्र उद्योगी ब्यवसायीका समस्या, समाधानका उपायको खोजी गरी खाका सहित समाधानको प्याकेज बनाउने छ । ्
- तपाईको टिमको प्रतिस्पर्धा के लागि ?
मेरो टिमको प्रतिस्पर्धा भनेको मुख्य गरी आम उद्योग व्यवसायी सदस्यहरुको हक हित र व्यवसायलाई कसरी माथि उकास्ने भन्ने नै हो । अहिले विश्व नै आर्थिक मन्दिमा छ । नेपाल पनि आर्थिक मन्दीको चपेटामा परेको छ । यसको असर काभ्रे जिल्लामा पनि परेको छ । तर पनि समस्या भित्र पनि समाधान छ भन्ने मान्यता राख्छु । यस्तो जटिल समस्यामा पनि आम व्यवसायीहरुलाई कसरी सुरक्षित गर्ने भन्ने विषयमा हामीसँग केहि योजनाहरु छन् । जिल्लामा रहेका ठूला उद्यमीहरुलाई कसरी व्यवसाय प्रति आकर्षित गर्ने भन्ने योजनाहरु हामीसँग रहेका छन् । हामीसँग विभिन्न संघ संस्थामा आबद्ध अनुभवीहरुको टिम बनिसकेको छ । यो टिमको कारण पनि विषम परिस्थितिमा हामी काभ्रे उद्योग वाणिज्य संघलाई देशकै नमूना उद्योग वाणिज्य संघ बनाउन सकिनेमा पूर्ण विश्वस्त छौं । त्यहि भएर भेगीय हिसाब, जातीय हिसाब, सबै हिसाबले समावेशी तरिकाले टिम निर्माण गरेर उम्मेदवारी दर्ता गराएका छौं ।
- यस अघि दुई कार्यकाल वरिष्ठ उपाध्यक्ष भैसक्नुभएको छ, तपाईको नेतृत्वमा मात्रै यी काम सम्भव हुने हो ?
कुनै पनि संघ संस्थामा एउटा नेतृत्वमा इमानदारीता, लगनशीलता र भिजनबाट सफल हुने र नहुनेमा मान्यता राख्छु । २०÷२२ वर्ष अगाडि देखि नै म काभ्रे उद्योग वाणिज्य संघमा आबद्ध छु । साधारण सदस्यदेखि लिएर कार्य समिति सदस्य, सचिव, महासचिव हुँदै वरिष्ठ उपाध्यक्षमा रहेर काम गरें । यो पदसम्म म निर्विरोध रुपमा आएँ । त्यो कारण भनेको मेरो अग्रजहरुले दिएको जिम्मेवारी, अनुशासन, संघ प्रतिको भूमिका हो । मेरो नेतृत्वमा काभ्रे उद्योग वाणिज्य संघ हाँक्न पायौ भने सबैभन्दा पहिलो संघलाई सिस्टममा चलाउने छौं । जिल्लामा भएका उद्योगी व्यवसायीहरुको वृहत भेला गराएर आगमी दुई वर्ष भित्र के कस्ता योजनाहरु लागू गर्दा जिल्लाका उद्यमी व्यवसायीहरुलाई सहयोग, सुविधा, हौसला र सुरक्षा महसुस हुन्छ त्यो कार्य तालिका बनाइनेछ । त्यसलाई क्रमशः पूरा गर्ने मेरो लक्ष्य रहेको छ । कुनै पनि संस्थाको लागि घटीमा पनि पञ्चवर्षीय योजना बनाउनै पर्छ ।
हाम्रो समहुको भिजन के छ भने नयाँ युवा पिँढीहरुलाई उद्योग व्यवसाय प्रति कसरी आकर्षित गर्ने भन्ने छ । यसको लागि विभिन्न गोष्ठी, तालिम, सेमिनारहरु मार्फत कानूनको विषय, कर, भ्याटको जानकारी गराएर अगाडि बढाउने योजना रहेको छ । काभ्रे जिल्ला एउटा सम्भावना बोकेको जिल्ला हो । देशको राजधानीबाट नजिकै छ । हामीले जुनसुकै सामानहरु उत्पादन गर्दा बजार २५÷३० किलो मिटर भित्रै रहेको छ । बजार खोज्नको लागि टाढा जानुपर्दैन । तसर्थ हामीले ठूला उद्यमीहरु लगायत साना उद्यमीहरुलाई पनि बजारको प्रत्याभूति दिन सक्छौं । हामीले स्थानीयस्तरमा उत्पादित वस्तुहरुको कसरी बजार व्यवस्थापन गर्ने ? कसरी आयआर्जनको बाटोहरु खोज्ने लगायतका योजनाहरु हामीसँग रहेका छन् । अर्काे कुरा महिलाहरुलाई कसरी उद्यमी बनाउने तर्फ पनि हामीले अनुसन्धान गरिराखेका छौं । व्यवसाय गरि राखेका महिलाहरुको लागि पनि थप स्तर उकास्नका लागि तालिम, सेमिनारहरुको योजना बनाएको छु । आम व्यवसायीहरु पनि आफ्नो मात्र व्यवसाय सफल बनाउने होइन कि त्यसबाट आएको मुनाफाबाट अर्काे व्यवसायमा कसरी लगानी गर्ने भन्ने विषयमा हामी सिकाउन चाहन्छौं । यसरी गर्दा हरेक व्यवसायीहरु आर्थिक अनुशासनमा रहेको खण्डमा भविष्यमा समस्या आउँदैन भन्ने मलाई लाग्छ ।
त्यस्तै हाम्रा व्यवसायीहरुको ठूलो समस्या भनेको बैकिङ्ग कारोबारको रहेको छ । यसको लागि पनि बैंकसँग कसरी सहजीकरण गर्ने भन्ने बारे छुट्टै योजना रहेका छन् । राज्यले दिएको नीति नियम उद्योगी व्यवसायीहरुले कसरी पालना गर्ने भन्ने बारेमा छुट्टै सेमिनारहरु राख्नेछौं । जनचेतना जगाउनेछौं । यी र यस्ता थुप्रै योजनाहरु हामीसँग छन् । यसले गर्दा आम व्यवसायीहरुको लगानी सुरक्षित हुनेमा ढुक्क हुनेछन् ।
- तपाईले ल्याउनु भएका योजनाले उद्यमी व्यवसायीहरु पलायन हुन रोक्ला ?
पछिल्लो समय आम जनमानसमा के छाप परेको छ भने देशमा कुनै पनि अवसर छैन अवसरको लागि विदेशतिर जानै पर्छ । हुन त म पनि विदेश गएको हो । ठूलो अवसर नपाएको पनि होइन । तर पनि म आफ्नै ठाउँमा व्यवसाय गर्नुपर्छ भनेर फर्केर आएँ । आम उद्यमीहरु विदेश पलायन हुन नदिन उद्योग वाणिज्य संघले पनि पहल गर्दछ । तर पनि यसको लागि ठूलो पहल राज्यले गर्नु पर्ने हो । नवप्रवेशी उद्यमीहरुलाई कसरी व्यवसायप्रति आकर्षिक गर्ने भन्ने हाम्रो काम हो । लाखौं खर्च खर्चेर विदेशिनु भन्दा त्यहि रकम स्वदेशमै लगानी गरेर केही व्यवसाय गरेर सफलता हासिल गर्न पनि सकिन्छ । कतिपय कुराहरुमा राज्यले व्यवस्था गर्नुपर्ने पनि देखिन्छ । अहिले हामी कुन कुरामा पनि खुशी छौं भने हाम्रो मातृ संगठन नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा हाम्रा अग्रज जो पूर्व अध्यक्ष हुनुहुन्थ्यो । उहाँ मार्फत हाम्रो समस्या तथा योजनाहरुको बारेमा छलफल गर्न सजिलो भएकोे छ । उहाँहरुले हाम्रा योजना तथा समस्याहरुलाई राज्य समक्ष लैजान पहल गर्नुहुनेछ । यसरी हेर्ने क्रममा आगामी २ वर्षमा हामीले धेरै कामहरु गर्न सक्नेछौं । हामीले कृषि क्षेत्रलाई पनि उत्तिकै महत्वमा राखेका छौं । विदेश पलायन हुन बाट रोक्न नव उद्यमीहरुलाई कृषि व्यवसायबाट पनि उचित आम्दानी लिन सकियोस् भनेर योजनाहरु बनाएका छौं ।
- काभ्रे उद्योग वाणिज्य संघको दायित्व र जिम्मेवारी समग्र काभ्रेपलाञ्चोक जिल्ला हो कि कुनै एक स्थानीय तह ?
पालिकास्तरमा उद्योग वाणिज्य संघ आउनु भनेको राम्रो हो । किनकी हामी विकेन्द्रिकरणमा विश्वास राख्छौं । यसमा समन्वयको ठूलो भूमिका हुने गर्दछ । काभ्रे उद्योग वाणिज्य संघ भनेको १३ वटै पालिकाको नेतृत्व गर्ने संघ हो । हामीलाई पनि नियमन गर्ने प्रदेश रहेको छ । प्रदेशको पनि महासंघले नियमन गर्दछ । जुन जुन पालिका भित्र संघ छ उहाँहरुलाई पनि हामी तपाईको पालिका भित्र के के सम्भावनाहरु छन् त व्यवसायहरुका लागि ? विभिन्न क्षेत्रमा सम्भावना तथा अवसरहरु भएको खण्डमा सो कुरा बुझ्छौं र त्यसको प्रक्रिया अगाडि बढाउँछौं । जसबाट स्थानीय स्तरमा पनि उद्योगी व्यवसायीहरु उद्यम गर्न उत्साहि हुन पुग्छन् ।
- नयाँ सदस्य थप तथा नविकरणको सन्दर्भमा तपाईको योजना र कार्यक्रम पर्याप्त छन् त ?
कुनै पनि संघसंस्थाको संरचना भनेको त्यहाँ रहेका साधारण सदस्यलाई संरक्षणको अनुभूति भयो भने संस्था प्रति आम व्यवसायी वा जनमानसको विश्वास रहन्छ । कहिलेकाहिँ खलबल हुने भनेको चाहिँ नेतृत्वमा भर पर्ने कुरा हो । एउटा व्यवसायीलाई साथ उद्योग वाणिज्य संघले दिनै पर्छ । बजारमा विभिन्न किसिमको समस्याहरु आइरहेका हुन्छन् । नेतृत्वले आम व्यवसायलाई संरक्षण गर्नुपर्ने हुन्छ । मैले नेतृत्व पाएको खण्डमा प्रत्येक व्यवसायीहरुलाई सुरक्षित अनुभूति दिलाउने छु ।
- तपाई विगत देखि नै नेतृत्वमा रहनुभएको छ, यस अघि यस्ता कार्यक्रम लागु नहुने अब हुन्छ भन्ने विश्वास छ र ?
विगतलाई फर्केर भन्नुपर्दा हामी सीमित व्यक्तिहरु मिलेर उद्योग वाणिज्य संघ चलाएका थियौं । कार्यालय पनि भाडामा थियो । हाल संघको आफ्नै भवन बनेको छ । त्यस्तै कार्यालय संचालनको लागि आवश्यक पर्ने रकमको स्रोतहरु खोजिरहेका छौं । मैले भनेजस्तो कुराहरु योजनाहरु लागू गर्न मसँग त्यो अधिकार छैन । अहिले मसँग त्यो टिम खडा भएको छ । जब हामी निर्णय गर्ने तहमा पुग्छौं त्यो बेला हामी पक्कै पनि हाम्रा योजनाहरु पूरा गरी छाड्छौं । कतिपय निर्णयहरु लागू गर्न पनि गाह्रो हुन सक्छ । तर मैले गर्ने निर्णयहरुमा कुनै पनि ठूला कुराहरु छैन । लगानी पनि ठूलो छैन ।
काभ्रेको ठूलो व्यापारीक शहर भनेको बनेपा हो । अहिले राजमार्ग विस्तारको क्रममा जेजति समस्याहरु आइरहेका छन् । मेरो बुझाई के हो भने हामी उद्योग व्यवसाय संघ उद्योगीहरुको अभिभावक भएको हुनाले उद्यागीहरुको समस्या स्थानीय तहसँग हारगुहार गरेर बैकल्पिक बजारको व्यवस्थापन गर्नेु पर्ने हो कि भन्ने मलाई लाग्छ । अहिलेको टड्कारो समस्या भनेको राजमार्गमा रहेका व्यवसायीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय नै हो । यो व्यवस्थापन भएको खण्डमा उद्योगीहरु हामी प्रति खुशी हुनेछन् । तर यसमा हामी उद्योग वाणिज्य संघले केहि गर्न सकेन भने पदको लागि मात्र ठाउँ ओगटेर बस्नुको केहि औचित्य देखिँदैन । हाम्रो कर्तव्य भनेको व्यवसायीहरुको हक हितको संरक्षण गर्नु पनि हो ।
- तपाईको समुह निर्वाचित भएको अवस्थामा यि प्रतिवद्धताहरु पूरा हुन सक्लान् ?
अहिले व्यवसायीहरुको चेतनामा धेरै विकास भएको छ । चुनावी भेटघाटमा पनि धेरै कुराहरु दोहोरिएर आएको छ । हाम्रो टिमले धेरै कुराहरु प्रति चासो देखाएको छ । अहिले धेरै व्यवसायीहरु आफ्नो मत खेर नफाल्ने मनस्थितिमा छन् । उहाँहरुले सहि नेतृत्व छानेको खण्डमा समस्याहरु आउलान् जस्तो मलाई लाग्दैन ।
- सर्वसम्मतको सम्भावना के कति छ ?
म के कुरामा मान्यता राख्छु भने असम्भव भन्ने केहि छैन । सबै साथीहरु आ–आफ्नो टिम सहित चुनावी प्रक्रियामा होमिनु भएको छ । हाम्रा अग्रजहरुले अझै पनि सर्वसम्मतको प्रयास जारी राख्नु भएको छ । यो स्वभाविक प्रक्रिया पनि हो । तर पनि व्यवसायीहरुको मनस्थिति सहि नेतृत्वलाई नै चुन्ने रहेको छ ।
- तपाईको हकमा सर्वसम्मत हो कि तपाई बाहेक ?
सर्वसम्मत दिने भन्ने कुरा सर्वमान्य निर्णय हुनसक्छ । अग्रजहरुले गर्ने निर्णयको कुरामा हामी भित्र क्षमता खोज्नु प¥यो, अनुशासन खोज्नुप¥यो ? विगतमा गरेका कार्यहरु हेर्नुप¥यो, हाम्रो टिम भित्र पनि योग्यताको आधार हेनुप¥यो । हामी भित्र जो चुनावमा होमिएका छन् त्यो आधार प्रष्टै छ । केहि अग्रजहरुलाई यसको नेतृत्व सहि छ भन्नेहरु पनि छन् । तर आफू हुँदा ठिक अरु हुँदा बेठिक भन्ने मनसाय चै हुनु भएन । म वरिष्ठ उपाध्यक्ष पदमा रहेर पनि विभिन्न कामहरु गर्दै आइरहेको छु । मेरो मान्यता विश्वास ठुलो कुरा हो । विगतका प्रतिवद्धता सबैले पुरा गर्नु पर्छ जस्तो लाग्छ ।
- तपाई विजयी हुनुभयो तर टिम विजयी भएन भने काभ्रे उद्योग वाणिज्य संघको गतिविधिमा कमी आउँछ कि आउँदैन ?
पदीय दायित्व भनेको आलटालमा चलाउने होइन । मेरो नेतृत्व निर्वाचित भएको अवस्थामा सर्वप्रथम २ वर्षे कार्ययोजना तयार गर्छु । यसलाई क्रमशः लागू गर्ने छु । मलाई के विश्वास छ भने राम्रो कामको लागि अवरोध खडा गर्नुहुन्न । म आम व्यवसायीहरुलाई के भन्न चाहन्छु भने व्यवसायमा समस्या पर्दा समाधान गर्ने संस्था छ है भन्ने अनुभूति दिलाउँछु । अहिले नयाँ व्यवसायीहरु आउन सकिरहेका छैनन् भएका नविकरण हुन सकिरहेका छैनन् । व्यवसायीहरु निराश भएर बस्नुपरेको छ । यसको कारण भनेको संघले गर्नु पर्ने दायित्व र कमी कमजोरी नै हो । आगामी दिनहरुमा त्यसो हुँदैन पनि । आम व्यवसायीहरुलाई संरक्षण दिनुपर्दछ । चाहे जसको नेतृत्व होस् ।
- तपाईलाई विजय हुने विश्वास कति छ ?
मतदाता भेटघाटमा पाएको हौसलाले म खुशी छु । उहाँहरुले गर्नु भएको माया मलाई लाग्छ २५÷३० वर्षको मेरो लगानी हो । म एकदमै भाग्यमानी नै छु जस्तो लाग्छ । चुनाव हो । जे पनि हुनसक्छ । अहिले म जहाँ जहाँ गइरहेको छु सकारात्मक प्रतिक्रिया पाएको छु । मैले विगतमा गरेको कामहरुको मूल्यांकन उहाँहरुले गर्नुभएको छ । अर्काे कुरा मेरो टिम भित्र सबै कुराको समावेशी छ । सबै आ–आफ्नो क्षेत्रमा अनुभवीहरु हुनुहुन्छ । यसकारण पनि आगामी हुने निर्वाचनमा मलाई कुनै समस्या हुन्छ जस्तो लाग्दैन ।
– प्रस्तुती लोकबहादुर थापा