2025 January 19/ 05:16: 41am

    बनेपा नगरपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद हुमागाईसँग लामो समयको प्रशासनिक अनुभव छ । यस अघि जिल्लाकै पाँचखाल नगरपालिकामा कार्यरत हुमागाईले जिल्लाबासीको नाताले मात्रै नभई प्रशासनिक अनुभवबाट पनि बनेपा नगरपालिकाको समग्र विकास निर्माण, सुशासन र पारदर्शितामा ध्यान केन्द्रित गर्नु भएको छ । चालु वर्षका अधिकांश योजना असार १५ भित्र सम्पन्न गर्ने योजनाका साथ ८० प्रतिशत योजना सम्झौता गरी ४० प्रतिशत भुक्तानी समेत गरिसकेको बनेपा नगरपालिकाको समग्र योजनाका सन्र्दभमा चेष्टा साप्ताहिकका कार्यकारी सम्पादक मोतीराम तिमल्सिनाले गरेको कुराकानीको सारसंक्षेपः 

- आर्थिक वर्षको अन्त्य हुन लागेको छ, बनेपा नगरपालिकाले विनियोजन गरेका योजनाहरुको अवस्था के छ ? 
    बनेपा नगरपालिकाले चालु वर्षका लागि बैशाख मसान्तसम्म योजना सम्झौता गरिसक्ने गरी कार्ययोजना तयार गरेको छ । केहि योजनाहरु सम्पन्न भई सकेका छन् । आर्थिक वर्ष सकिन थोरै समय बाँकी हुँदा विनियोजन भएका योजनाहरुको कार्यान्वयनमा जनप्रतिनिधि, कर्मचारी र स्थानीय उपभोक्ताहरुको समन्वय भईरहेको छ । संघ र प्रदेश सरकारका समपुरक, समानिकरण योजनाहरु पनि कार्यान्वयन भईसकेका छन् । ८० प्रतिशत योजना सम्झौता भई सकेका छन् । केहि योजनाहरु ठेक्का तथा उपभोक्ता समितिबाट कार्यान्वयनको तहमा छन् । २० प्रतिशत योजना १४ वटा वडामै हुने भएकाले समयमै सम्पन्न हुने विश्वास लिएका छौं । अहिलेसम्मको कार्य सन्तोषजनक छ । भुक्तानीका हिसावमा पनि ४० प्रतिशत भन्दा धेरै भई सकेको अवस्था छ । निर्माण जारी भएकाले असार मसान्त भित्र तोकिएका सबै योजनाहरु सम्पन्न हुने अपेक्षा गरेका छौं । 
    बनेपा नगरपालिकामा विगत वर्षहरुको अनुभवका आधारमा सालबसाली योजनाहरु पनि रहेछन् । उपभोक्ता समितिको योगदान अनिवार्य र सालबसाली योजनाहरुको निरन्तरताका लागि एक आर्थिक वर्ष भित्रै सकिनु पर्ने भए पनि कहिले काँहि त्यस्तो नहुँदा थप गर्ने ब्यवस्था बनेपामा रहेछ । नीतिगत त्यस्तो ब्यवस्था नभए पनि सालबसालीका कार्यक्रमलाई यो वर्ष हामी निरन्तरता नदिने तयारीमा छौं । असार १५ गते अगावै सबै योजना कार्यान्वयन मात्रै होईन भुक्तानी नै गरिसक्ने योजनामा छौं । 
- विकास निर्माण र सेवा प्रवाहमा नागरिकहरु सन्तुष्ट छन् त ? यि दुबै सँगै सहज रुपमा लैजान सकिएको छ कि छैन ? 
    बजेट निर्माणमा स्थानीय स्तरबाट छनौट हुँदै आएका योजनाहरु समावेश भएका हुन्छन् । उपभोक्ता, जनप्रतिनिधिहरुको समन्वयमा हुँदै आएका योजनाहरुलाई बजेटमा समावेश भए पछि कार्यान्वयन गर्ने तहमा हामी कर्मचारीहरु छौं । नागरिकहरुका गुनासालाई कम गर्न सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउन हामी निरन्तर सक्रिय छौं । नागरिकहरुका आवश्यकतालाई मध्यनजर गर्दै हामीले अधिकतम सेवा प्रदान गरिरहेका छौं । नागरिकहरुले पुरा गर्नु पर्ने प्रकृया, उपलब्ध गराउनु पर्ने कागजातलाई पनि ध्यान नदिँदा कहिलेकाँहि असहज भएको हो कि भन्ने पर्न सक्छ । तर नागरिकलाई सेवा दिने कुरामा हामी सधै प्रतिवद्ध छौं । बजेट निर्माण र सेवा प्रवाहमा नागरिकहरुलाई सन्तुष्ट बनाउने प्रयत्न गरेका छौं । 
– बजेटको तयारी, बजेट तथा नीति कार्यान्वयनको तयारी अलग्गै गरिन्छ कि ? भएका प्रयासलाई निरन्तरता मात्रै हो ? 
    तीन तहका सरकारले अलग अलग समयमा बजेट निर्माण गर्ने र त्यसलाई समयमै कार्यान्वयन गर्ने गरी योजना बनाएकै हुन्छ । बनेपा नगरपालिकाले पनि सोहि योजना अनुसार समयमै बजेट निर्माण गर्ने, बजेट कार्यान्वयनका लागि वडागत र पालिकागत रुपमा आवश्यक तयारी गर्ने, उपभोक्ता समितिलाई प्रशिक्षण गर्ने, निर्माण ब्यवसायीबाट गराउनु पर्ने योजनाहरुको पहिला नै तयारी गर्ने लगायतका कार्यहरु गरिरहेका नै हुन्छौ । त्यति हुँदा हुँदै पनि नगरपालिकालाई संघ र प्रदेश सरकारका विभिन्न मन्त्रालय मार्फत पछिल्ला समयमा समेत बजेट प्राप्त भईरहन्छन । तिनिहरुको कार्यान्वयन पनि सहज बनाउन नीतिगत ब्यवस्था पनि गरिएको छ । वडागत रुपमा गरिने कार्यहरुको पनि तयारी गरिएको छ । बजेट, नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आर्थिक वर्षको शुरुवाती देखि नै हामी योजनाबद्ध रुपले कार्य गरिरहेका हुन्छौं । 
- बनेपा नगरपालिकामा चालु वर्षमा कुनै नमुना योजना संचालन गरेको छ ? 
    हरेक योजना र कार्यक्रम नमुना नै हुन्छन् । आवश्यकताका आधारमा गरिएका सबै योजनाहरु नमुना हुन् । सबै आवश्कताका आधारमा भएकाले अलग्गै नमुना कार्यक्रम भएको छैन । अधिकांश बजेट पुर्वाधारका लागि विनियोजन भएका छन् । सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, खानेपानी, पशु विकास लगायतका कार्यक्रमहरुमा बजेट विनियोजन भएका छन् । प्राथमिकिकरण पनि त्यहि योजना र शिर्षकहरमा भएको छ । 
- जनप्रतिनिधिहरु विकास निर्माण, सेवा प्रवाह र सुशासन स्थापित गराउन कतिको संवेदनशिल हुनुहुन्छ ? प्रशासनिक नेतृत्वको हैसियतले उहाँहरुसँगको सहकार्य कसरी गरिरहनु भएको छ ? 
    जनप्रतिनिधिहरु संवेदनशिल मात्रै होईन जिम्मेवार पनि हुनुहुन्छ । उहाँहरुमा विकास र नागरिकहरु प्रतिको उत्तरदायि र जिम्मेवारीपन महसुस भएको पाएको छु । उहाँहरु सुशासन प्रति पनि संवेदनशिल हुनुहुन्छ । कर्मचारी र जनप्रतिनिधि बीचको दुरी छैन । जनप्रतिनिधि र कर्मचारी बीचको सुमधुर सम्वन्धका कारण बनेपा नगरपालिकाका हरेक गतिविधिहरु द्रुत गतिमा अघि बढेका छन् । प्रशासनिक हिसावले पनि हामी बीचको समन्वय र सहकार्य छ । 
- विकास निर्माणमा जनसहभागिता छ कि छैन ? 
    बनेपा नगरपालिकामा हरेक योजनामा उपभोक्ता समितिले जन सहभागिता जुटाउनु पर्नेछ । हरेक योजनामा तोकिएको सहभागिता रकम नगदमा जम्मा गर्नु पर्नेछ । १५ देखि २० प्रतिशत रकमको बैक भौचर प्राप्त भए पछि मात्रै योजना सम्झौता हुन्छ । अहिले हामीले श्रममा योगदान गर्ने वडाका केहि योजनामा श्रमको ग्यारेन्टी भए पछि सम्झौता गरेका छौं । जनसहभागिता नेपालकै नमुना पालिकाका रुपमा बनेपाले जुटाएको मैले महसुस गरेको छु । नागरिकहरुमा आफ्नो टोलमा विकास होस भन्ने चाहना र अपेक्षामा सहभागिता जुटेको छ । 
- स्थानीय तहमा बेरुजु बढिरहेको छ, बनेपा नगरपालिकाले बेरुजु कम गर्न के गरिरहेको छ ? 
    बेरुजु भन्ने वित्तिक्कै हिनामिना गरेको रकम होईन । खर्च गर्ने क्रममा केहि कागजात कम भएका कारण भएको बेरुजू रकम धेरै छ । पेश्की बेरुजु पनि धेरै छ । स्थानीय तहमा बेरुजु बढिरहेको कुरा सत्य हो । चिन्ता पनि गर्नु पर्ने भएको छ । बेरुजु बढ्नुको कारण नागरिकहरुले उपलब्ध गराउनु पर्ने कागजातमा अल्छि गर्ने, कर्मचारीहरुले पनि त्यसलाई ब्यवस्थित गर्ने कुरामा तदारुकता नदेखाउने, बहुआयामिक काम स्थानीय तहले गर्नु पर्ने र त्यसका हरेक विधि र प्रकृयामा कानुनी प्रावधानहरु नमिल्ने भएकाले बेरुजु बढिरहेको । धाराको टुटी राख्दा, भैसीको पाडो मर्दा दिने राहत तथा साना साना कार्यमा हुने खर्चको भुक्तानी हुँदा कागजात नमिल्दा पनि बेरुजु आएको छ । प्रकृयागत त्रुटी छन् । यसलाई ब्यवस्थित गर्दा बेरुजु रहँदैन । बेरुजु घटाउने धेरै उपाय छन् । हामी प्रयत्न गरिरहेका छौं । स्थानीय तहमा भएका सबै जनशक्तिहरु उत्तिक्कै क्षमतावान पनि छैनन । पेश्की रकम लिएर फछ्रयौट गर्न तदारुकता नहुँदा पनि बढिरहेको छ । 
- समस्या के छन् ? साधन श्रोत, जनशक्तिको विकास र प्रविधिको पहुँचमा नगरपालिका कहाँ छ ? 
    बनेपा उपत्यकासँग जोडिएको तर विकट र सहज दुबै भएको पालिकाका रुपमा चिनिएको छ । सुगम वडाहरु पनि छन् । विकट वडाहरु पनि छन् । विगतका गाउँ विकास समितिहरुको अवस्था फरक छ । शहरी क्षेत्रको अवस्था फरक छ । फोहोरमैला, खानेपानी लगायतका समस्या प्रमुख छन् । ब्यापारीक शहर भए पनि श्रोतको ब्यवस्थापन हुन सकेको छैन । बैकल्पिक शहर र बजारका रुपमा नाला पुलबजार करिडोरको विकासका लागि पहल गरिरहेका छौं । नगरपालिको प्राप्त गर्न सक्ने राजश्वको ब्यवस्थापन अझै हुन सकेको छैन । राजधानीसँग नजिक भएकाले कर्मचारी अभाव छैन । श्रोतको अभाव छैन तर ब्यवस्थापकिय क्षमतालाई अझै बढाउनु जरुरी छ । 
- संघ, प्रदेश र स्थानीय सरकारसँगको अन्तरसम्वन्ध कसरी स्थापित भएको छ ? आवश्यक सहयोग पाउनु भएको छ ? 
    तीन तहका सरकारको आफ्नै अस्तित्व छ । एकल अधिकारका कानुनहरु निर्माण भएका छन् । साझा कानूनहरु निर्माण भएका छैनन । साझा अधिकारका कानूनहरु बनि नसक्दा दुविधा उपलब्ध भएको छ । बजेट विनियोजन, कार्यान्वयन र समस्यामा तीन तहकै सरकार एक हुनु पर्ने अवस्था छ । स्थानीय सरकारका कारण संघ सरकारलाई समस्या त कतै पर्दैन तर संघ र प्रदेश सरकारका कारण स्थानीय सरकारले आवश्यकता अनुसार कानून निर्माण नगरेका कारण केहि समस्या भएका छन् । 
- बनेपालाई चिनाउने योजनाहरु के छन् ? 
    बनेपाबासीहरुका दैनिक आवश्यकता पुरा गर्ने खालका कार्यक्रमलाई प्राथमिकता दिएका छौं । धार्मिक, सांस्कृतिक, आर्थिक समृद्धीका लागि बनेपाका १४ वटै वडामा भएका संरचनालाई संरक्षण गर्ने, पुर्ननिर्माण गर्ने र निर्माण गर्ने योजनालाई निरन्तरता दिएका छौं । चण्डेश्वरी मन्दिर, साँगा, नाला, बास्डोल, जनागाल, बनेपाका साविक र पुराना वडाहरु, बुडोल लगायतका क्षेत्रमा भएका योजनाहरुलाई प्राथमिकताका साथ अघि बढाएका छौं । हरेक योजनाले बनेपालाई चिनाउने छ भने बनेपालीहरुले योजनालाई सहयोग र समन्वय गरिरहनु भएको छ । 
- अन्त्यमा.....
    बनेपाको विकासमा बनेपाबासीहरुको मात्रै नभई तीन तहकै सरकारको समन्वय र सहयोग आवश्यक छ । हातेमालो भएमा मात्रै विकास निर्माण सम्भव छ । एकै मनले विकासको भाव बोक्न सकियो भने समृद्ध बनेपा निर्माण हुनेछ । सुखी बनेपाली र समृद्ध बनेपा बन्नेछन् ।