डा. पुरुषोत्तम सेढाई, प्रमुख
स्वास्थ्य कार्यालय, काभ्रे
– काभ्रेमा डेंगीको अवस्था कस्तो छ ? रोकथामका लागि के भईरहेको छ ?
डेंगीको इतिहास हेर्ने हो भने २००४ देखि नै नेपालमा प्रवेश भएको पाईन्छ । पछि २०१० मा चितवनमा यसले ठूलै क्षति पु-यायो । सरसर्ति हेर्दा डेंगीको लहर प्रत्येक २/२ वर्षमा आउने गरेको छ । पछिल्लो समय कोभिड आउनु अगाडी पनि डेंगी भित्रिएको थियो । तर कोभिड फैलिएको समयमा यो फैलिएन । हाल कोभिड लहर केहि कम भए सँगै डेंगीको लहर नेपालभरी फैलिएको छ । बागमती प्रदेशको हकमा हेर्ने हो भने काठमाडौं, भक्तपुुर र ललितपुरमा व्यापक रुपमा फैलिएको अवस्था छ । काभ्रे जिल्लाको हकमा भन्ने हो भने असारको १० गते देखि आजसम्म २२ जनामा डेंगीको संक्रमण देखापरेको छ । अधिकांश अन्य जिल्लाका नागरिकहरु धुलिखेल र बनेपा अस्पतालमा जचाउँदा देखिएको हो ।
काभ्रेमा पनि डेंगीको प्रवेश भईसकेको अवस्था छ । नेपालमा अहिले करिब करिब ६० जिल्लाहरुमा डेंगीको संक्रमण भईरहेको छ । तर खुशीको कुरा के छ भने जति पनि हामीसँग देखिएका घटनाहरु उहाँहरुको घरमा नै पुगेका छौं । डेंगी कसरी सरेको छ भन्ने सम्भावनाहरु हेरेका छौं । ति घटनाबाट के देखिएको छ भने घरको वरिपरी पानी जमेको अवस्था पाएका छौं । जमेको पानीमा लामखुट्टे देखिएको छ । काभ्रे जिल्लामा डेंगीको घटना थोरै देखिए पनि घरको वरिपरी जमेको पानी नहटाउँदासम्म डेंगी सर्ने सम्भावना निकै हुन्छ । हामी डेंगीको जोखिममै हुन्छौं । सबैले यसको रोकथामका लागि सचेत र सजग हुन सकेनौ भने जुनसुकै बेला डेँगीको महामारी फैलन सक्छ ।
– लामखुट्टेले टोक्ने वित्तिकै डेंगीको संक्रमण हुन्छ ?
डेंगु भाईरस एक किसिमको लामखुट्टेले सार्छ । उ आफै संक्रमित भएको अवस्थामा मात्रै डेँगी सर्छ । संक्रमित लामखुट्टेले टोकेको खण्डमा मात्र डेंगु सर्ने भएकाले सबैखालका लामखुट्टेको टोकाईबाट बच्नु पर्छ । यो विहानी र साँझपख सक्रिय हुन्छ । यसले धेरैलाई धेरै पटक टोक्छ । अन्य समयमा यो कम सक्रिय हुन्छ । सूत्दा झुलमा सुत्नु पर्छ । विहान दिउँसो बाहिर हिँड्दा बाहुला भएको कपडा लगाएर हिड्नु पर्छ । त्यति मात्र नभै वातावरणीय हिसाबले पनि सरसफाई गर्नुपर्छ । यसको कुनै भ्याक्सिन छैन, औषधि छैन । यसर्थ हामी ढुक्क हुने अवस्था छैन । वातावरण सफा राख्ने, ब्यवहार परिवर्तन गर्ने बाहेक अर्काे उपाय छैन । यदि संक्रमण भई हाल्यो भने स्वास्थ्य संस्थामा गएर उपचार गराउनुको विकल्प छैन ।
१३ वटै पालिकाका स्वास्थ्य संस्थाहरु सक्रिय छन् । वातावरण सफा बनाउने अभियान पनि जारी छ । यो लामखुट्टे सफा पानी स्थिर भएर बस्ने स्थानमा मात्रै हुर्कन्छ । ठुलो पोखरीमा यो बस्दैन । सौखिन लामखुट्टे हो यो । मिनरल वाटरको विर्काेमा केहि दिन पानी जम्यो भने त्यसमै लामखुट्टे हुर्कन्छ । गमलाको प्लेट, टायर, अन्य भाडाहरुमा जमिरहने पानीमा हुने भएकाले पानी जम्न नदिम । कौशी खेतिमा जम्ने पानीले पनि फैलन्छ । शहर बजारमा ग्यारेज, होटलहरुमा, गाउँमा जस्ता छोप्न प्रयोग भएका टायरहरुमा लामखुट्टे बस्न सक्छ । ड्रागन फुट उत्पादनका लागि प्रयोग हुने टायरमा पनि लामखुट्टेले संक्रमण फैलाउने सम्भावना बढेको छ । यसले चिसो तातो स्थान केहि भनेको छैन । तेमाल, भुमिडाँडा लगायतका स्थानमा संक्रमण देखिएको छ । धुलिखेलको बडाल गाउँमा देखिएको छ । पनौती, बनेपामा देखिएको छ । अहिले रोकथाम भए पनि संक्रमण फैलन नदिन र अन्यलाई संक्रमण नै हुन नदिन तर्फ सचेत गराउने अभियान जारी छ ।
संक्रमण सामान्य, मध्यम र जटिल हुने गरेको छ । आफै निको हुने संक्रमण पनि छ । सामान्य औषधी र पानी सेवन गर्दा निको हुने संक्रमण पनि छ । दाँतको गिजाबाट रगत आउने, ज्वरो निको नहुने र त्यसले शरिरका विभिन्न अंगहरुलाई निश्क्रिय बनाउँदै ब्यक्तिको निधन हुने सम्भावना हुन्छ । यसो हुन नदिन समयमै स्वास्थ्य परिक्षण गराउने र सचेत रहनु जरुरी छ । समुदाय, स्वास्थ्य संस्था, जनप्रतिनिधि र सरोकारवाला निकायहरु सबै सक्रिय हुनु आवश्यक छ ।
– लक्षण के हो ? कसरी थाहा पाउने ?
लक्षण नै देखा नपर्ने खालको डेँगी पनि हुन्छ । मध्यम खालको पनि हुन्छ । सामान्य ज्वरो आउँछ । गिजाबाट रगत आउँछ । शरिरका सबै अंगहरु बेस्सरी दुख्छ । शरिरलाई कमजोर बनाउँछ । धेरै लामो समय ज्वरो निको हुँदैन । शरिरका विभिन्न स्थानबाट रगत बग्न सक्छ । खान मन लाग्दैन । तत्काल स्वास्थ्य संस्थामा गएर परिक्षण गराएर निश्चिन्त हुनु पर्छ । हाम्रोमा मध्यमखालको मात्रै डेँगी छ । यो मौका र सचेत रहने अवसर हो । लामखुट्टे बस्ने स्थानको पहिचान गरी नस्ट गरौं । यो नै हाम्रो प्रमुख काम हो ।
– जिल्लामा रेविजबाट नागरिकहरु जोखिममा परेका हुन् ? भुम्लुको पछिल्लो घटना के हो ?
रेविज चर्चा गर्नु पर्ने विषय नै हो । नेपालमा बर्षेनी रेविजबाट २ सय भन्दा धेरै नागरिकले ज्यान गुमाउने गरेका छन् । यो रोग लागिसकेपछि ब्यक्तिको मृत्यु अन्तिम सत्य हो । मासाहारी जनावारमा जहिले रहने रेविज रोग ९९ प्रतिशत कुकुरमा हुन्छ । काभ्रेमा ८ हजार कुकुर छन् । सामुदायिक कुकुरमा रेविज हुन सक्छ । घरको कुकुरमा पनि रेविज विरुद्धको खोप लगाएको छैन भने रेविज हुन सक्छ । कुकुरहरुले टोक्ने वितिक्कै स्वास्थ्य संस्थामा पुगेर खोप लगाउने र परामर्श लिनु जरुरी छ । बौलाहा कुकुर र पशुपक्षीले ¥याल काढेको अवस्थामा टोक्यो भने रेविज हुन सक्छ । रेविज रहेछ भने पनि खोप लगाउँदा ब्यक्तिमा हुने संक्रमण जोगिन सक्छ । खोप लगाईएन भने ब्यक्तिको मृत्यु हुन्छ । ३ वर्ष अघि काभ्रेमा ३ जनाको निधन भएको छ । एक वर्ष अघि भक्तपुरमा काभ्रेका एकजनाले ज्यान गुमाउनु परेको छ ।
भुम्लुमा एक जना बच्चाले मरेको जनावारको काँचो मासु खाएको सूचना आयो । रेविज हो कि भन्ने शंकाले सुई लगाई दिन गरिएको अनुरोध हामीले जानकारी पायौं । तत्कालै हामी त्यो स्थानमा पुग्यौं । भैसी बारीमा पुगेर मकै माढेको देख्यौं । भैसी म¥यो । काटेर खाएको थाहा पायौं । भैसी किन त्यस्तो भयो ? जानकारी लियौं । सूचना कसैले लुकाउन हुँदैन । केहि हप्ता अघि ४÷५ वटा पशुहरु मरेको, कुकुर पनि मरेको, कुकुर ¥याल चुहाउँदै हिडेको जानकारी पायौं । पशु सेवा कार्यालयसँगको समन्वयमा गाडिएको पशुको मासु लिएर परिक्षण गरायौं । उत्खनन गर्न स्थानीय तयार थिएनन । त्यहाँ रेविज पुस्टी भयो । त्यसपछि हामीले त्यो गाउँमा सबै सम्भावित क्षेत्रमा रेविज विरुद्धको खोप लगायौं । पशुबाट मान्छेमा सर्ने रेविज सहज छ । खाना खुवाउँदा, औषधी खाँदा, भैसीको काँचो दुध खाँदा, भैसी काटिएको मासु खाँदा वा मासु काटेर भएको अवस्थाका बारेमा हुन सक्ने जोखिमलाई नियालेर हामीले सम्भावित जोखिमको पहिचान ग¥र्यौ । काँचो मासुबाट रेविज सर्छ । पाकेको मासु र उमालेको दुधबाट रेविज सर्दैन तर त्यो प्रयोग गर्नु अघि शरिरका विभिन्न स्थानमा घाउ भएको छ भने रेविज सर्छ । कुकुरले मान्छेलाई पनि टोकिसकेको रहेछ । यो खोप निशुल्क स्वास्थ्य संस्थाहरुमा पाईन्छ । हामीले अहिले उक्त क्षेत्रलाई सुरक्षित बनाएका छौं । तर यो नभुलौ समुदायमा रेविज ब्याप्त छ । जोगिनु आवश्यक छ । ९९ प्रतिशत रेविजको रोग कुकुरबाटै सर्छ । कुकुरसँग गरिने ब्यवहार परिवर्तन गरिनु पर्छ । कुकुरलाई सुरक्षित राखिनु पर्छ । सबै पक्षको सहयोग आवश्यक छ ।
– कोभिड अन्त्य भयो ? रोकथामका काम के हुँदै छन् ?
विगतमा जस्तो कोभिडको महामारी छैन । खोप लगाएका ब्यक्तिहरुलाई कोभिड हुँदा पनि सहज भएको छ । केहि दिन पछि नै निको भएको अवस्था छ । खोप नलगाउने ब्यक्तिहरु पनि छन् । बुस्टर डोज ३० प्रतिशत मात्रै नागरिकले लगाएका छन् । पहिलो चरणमा भन्दा दोश्रो चरणमा धेरै संक्रमण भयो । तेश्रो हुँदै चौथो चरण शुरु भएको छ । जुनसुकै बेला यसले फेर्न सक्ने रुप र संक्रमणको चापलाई नजरअन्दाज गरिनु हुँदैन । संक्रमण फैलन सक्ने भएकाले नियमित दिनचर्यालाई सुरक्षित राख्नुको विकल्प छैन । अहिले संक्रमणदर काभ्रेमा कम छ । शुन्य भने छैन ।
– जिल्लामा पानी असुरक्षित हो ?
पक्कै पनि यो प्रश्न जटिल छ । शहरी क्षेत्रमा भएको खानेपानी असुरक्षित देखिएको छ । बनेपा, पनौती, धुलिखेल लगायतका क्षेत्रमा गरिएको पानी परिक्षणमा दिसामा पाईने किटाणु देखा परेको छ । ५५ प्रतिशत किटाणु फेला पर्नु भनेको असुरक्षित नै हो । तर पनि पानीलाई उमालेर, दिसाजन्य किटाणुहरु नस्ट गरेर, मुहान देखि पानीलाई सुरक्षित बनाउन जरुरी छ । पानीबाट हुने विभिन्न रोगहरु मध्ये झाडापखाला महत्वपूर्ण हो । अहिले पनि यो क्रम रोकिएको छैन । यसलाई रोकथामका लागि पानी सुरक्षित बनाउन आवश्यक छ । यसका कारण हैजा आउन सक्ने सम्भावनालाई समयमै सचेत रहनु पर्छ । चाडपर्वमा बासी खाना हुन सक्ने भएकाले खाना तत्काल पकाएको मात्रै खाने, मिसावटजन्य खाना नखाने र स्वास्थ्यका हरेक कुरामा सचेत रहनु पर्छ ।
प्रस्तुतीः लक्ष्मण तिमल्सिना