दिपक भट्ट, प्रमुख
निष्ट कलेज, बनेपा
निष्ट कलेजले काभ्रे र आसपासका विद्यार्थीहरुका लागि कस्ता कार्यक्रम छन् ?
सर्वप्रथम त अहिले एसईई उर्तिण भएका भाईबहिनीहरुलाई बद्याई तथा शुभकामना दिन चाहन्छु । बनेपा निष्टले १० वर्षदेखि यो क्षेत्रमा काठमाडौं जानु नपर्ने, उपत्यका भित्रको शैक्षिक गुणस्तरलाई बनेपामै कायम गर्नुपर्छ भन्ने उद्देश्यका साथ निष्ट कलेजको स्थापना भएको हो । सुरुवात देखि अहिलेसम्म आईपुग्दा निष्ट कलेजले विद्यार्थीको चौतर्फी विकासका लागि आवश्यक पर्ने शिक्षण गतिविधिहरु संचालन गर्दै आईरहेको छ । प्रमुख रुपमा भौतिक पूर्वाधारका कुराहरु रहेका छन् । हामीले समय सुहाउँदो विद्यार्थीहरुलाई आवश्यक पर्ने शैक्षिक सामग्रीहरु देखि लिएर ल्याबमा आवश्यक पर्ने सामाग्रीहरु, प्रयोगशालाका सामाग्रीहरु लगायत व्यवस्थापन गरेका छौं ।
त्यसको साथसाथै हामीले अहिले विज्ञानको साथसाथै व्यवस्थापन र कानूनको विषय संचालन गर्दै आइरहेका छौं । विद्यार्थीहरुको सैद्धान्तिक पाटोलाई प्रयोगात्मकसँग जोडेका छौं । कतिपय विषयको हकमा हामीले फिल्डमै गएर पनि व्यवहारिक शिक्षा प्रदान गर्ने छौं । अनुसन्धनात्मक कार्यहरु गर्न लगाएका छौं । यसको साथसाथै विद्यार्थीहरुको चौतर्फी विकासका लागि एक्स्ट्रा करिकुलर एक्टिभिटिज को–करिकुलर एक्टिभिटिज आवश्यक हुन्छ । कलेज भनेको पढ्ने ठाउँ मात्र होइन, ट्युसन सेन्टर होइन कि विद्यार्थीहरुको सम्पूर्ण विकासका लागि गरिने कार्यक्रमहरुलाई हामीले कलेज भन्नुपर्ने हुन्छ । यसमा हामीले जोड दिएका छौं ।
पछिल्लो समय कलेज पढ्न राजधानी धाउने विद्यार्थीको संख्या बढ्दो छ, यसलाई रोक्न सकिदैन ?
शैक्षिक गुणस्तरलाई प्रत्येक वर्ष बढाउँदै लगेका छौं । एउटा के सोच रहेको छ भने काठमाडौंमा गए पछि मात्र राम्रो पढाई हुन्छ भन्ने मानसिकता रहेको छ । अर्काेतिर के छ भने कतिपय ठाउँहरुमा अभिभावकहरुसँग हाम्रो पहुँच नपुगेको पनि हुन सक्छ । म सम्पूर्ण अभिभावकहरु माझ के अनुरोध गर्न चाहन्छु भने हाम्रो विद्यालय एकचोटी भ्रमण गरिदिनुहोस् । बुझ्नुहोस् । चित्त नबुझेको कुराहरु खुलस्त राख्नुहोस् । शुल्कको कुरा गर्ने हो भने काठमाडौं उपत्यकाको भन्दा धेरै न्यून शुल्क रहेको छ । हामीले शहरी क्षेत्र मात्र नभएर ग्रामीण क्षेत्रलाई पनि समेटेका छौं ।
विद्यार्थीहरुले निष्टलाई नै किन रोज्ने ?
एउटा पाठ्यक्रमको प्रयोगात्मक र व्यवहारिक शिक्षा फरक छ । अर्काे कुरा प्रविधिको भरपुर सदुपयोग गरेर अध्यापन गराईन्छ । त्यसका साथसाथै विद्यार्थीहरुलाई हाम्रो देशसँग मात्रै नदाँजेर विदेशमा पनि हाम्रै विद्यार्थीहरुले जागिरको साथैसाथै अध्ययनको लागि छात्रवृत्तिको क्षमता राख्छ कि राख्दैन भन्ने कुरा पनि सोचेका हुन्छौं । त्यस्तै विद्यार्थीको चौतर्फी विकासका कुराहरु खेलकूद देखि लिएर विभिन्न कार्यक्रमहरु निष्टमा रहेका छन् । हामीले विषयगत सैद्धान्तिक शिक्षालाई फिल्डमै गएर व्यवहारिक र प्रयोगात्मक रुपमा शिक्षालाई जोड दिएका छौं । अनुसन्धनात्मक शिक्षालाई पनि प्रमुख जोड दिएका छौं । निष्टसँग आबद्ध हुनुभएका विभिन्न ब्यक्तित्वहरुलाई राखेर विद्यार्थीसँग प्रत्यक्ष अन्र्तक्रिर्या गर्ने गरेका छौं । त्यसकारण पनि निष्टमा पाठ्यक्रम विकासको पाठ्क्रम भित्र रहेर यी कुराहरुको अध्ययन गराउँछौं । हामीले देशमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने शिक्षा प्रदान गरिरहेका छौं ।
पछिल्लो समय विद्यार्थीहरु पढाई र रोजगारका लागि विदेशिरहेका छन, यसलाई रोक्न सकिन्छ ?
हामीले पाठ्यक्रमको परिधिभित्र रहेर काम गर्नुपर्ने हुन्छ । हामीले यहि देशमा पढेर केहि गर्न सक्छौं भन्ने शिक्षा दिन्छौं । विद्यार्थीहरुले अनुभव पनि प्राप्त गर्छन् । अहिले हाम्रो देशमा दुईप्रकारका विद्यार्थीहरु विदेशिने गरेको पाइन्छ । एउटा पैसा कमाउनको लागि विदेशिन्छन् भने अर्काे पढाईमा अब्बल विद्यार्थीहरु अध्ययनका लागि विदेशिएको पाईन्छ । यस्तो परिस्थितिलाई रोक्ने हाम्रो पाठ्यक्रममा केहि परिमार्जन गर्नु आवश्यक छ । अहिलेको कक्षा ११ र १२ को पाठ्यक्रमलाई हेर्दाखेरी सामान्यतया ७५ प्रतिशत सैद्धान्तिक शिक्षा छ भने २५ प्रतिशत मात्र प्रयोगात्मक राखिएको छ । यसलाई अझै फराकिलो पार्नुपर्ने हुन्छ । यसलाई सुधार्न ६० र ४० को अनुपातमा जानुपर्ने हुन्छ । यसमा सुधार गर्नुपर्ने आवश्यक छ । हाम्रो माटोलाई सुहाउँदो, ठाउँलाई सुहाउँदो व्यवहारिक शिक्षाको आवश्यकता छ । यसको लागि हामीले यो बनेपाको ठाउँमा निष्ट कलेजका विद्यार्थीहरुले हाम्रो समाजलाई के दिन सक्छन् ? त्यसका बारेमा तयारी गर्दैछौं ।
विद्यार्थीहरुले विषय (संकाय) र कलेजको छनौट कसरी गर्ने ?
सर्वप्रथम त विद्यार्थीहरुको रुचीमा भर पर्छ कुन विषय पढ्ने भन्ने कुरा । मेरो बुझाईमा कुनै पनि विषय नराम्रो र कमजोर भन्ने हुँदैन । कानून पढ्ने विद्यार्थीको संख्या अलि कम हुन्छ । तर त्यो क्षेत्रमा पनि धेरै कुराहरु गर्न सकिन्छ । त्यहि भएर अहिले एसईई पास भएर आउने विद्यार्थीहरु भविष्यमा के बन्ने इच्छा छ त्यो खालको शिक्षा हामीले दिनुपर्छ । विज्ञान विषयको कुरा गर्ने हो भने यो विषयमा सैद्धान्तिक भन्दा प्रयोगात्मक शिक्षालाई अलि बढी जोड दिने भएकोले यो विद्यार्थीले अरु विषयमा भन्दा बढी मेहनत गरेको देखिन्छ । कुनै पनि विषय गाह्रो भन्ने हुँदैन । पहिलो त रुची हुनुप¥यो । नेपालको शिक्षा प्रणाली सुगा रटाई छ । त्यसलाई निस्तेज पार्नुपर्छ । विद्यार्थीहरुको व्यवहारिक र प्रयोगात्मक शिक्षा कत्तिको छ त्यसको मापन गर्नुपर्छ । हामीले सर्टिफिकेटलाई मात्र हैन सर्वप्रथम त विद्यार्थीमा मान्छे बन्न जानेको छ कि छैन, अहिलेको समाजको लागि चाहिने मान्छे बन्न लायक छ कि छैन त्यो प्रमुख कुरा हो । अर्काे कुरा उसले विषयगत ज्ञान प्राप्त गर्न सकेको छ कि छैन ? त्यो महत्वपूर्ण हुन्छ । सबै विषयमा ए प्लस ल्याउनु ठूलो कुरा होइन । हरेक विषयको आ–आफ्नै क्षेत्र हुन्छ । यसको लागि विद्यार्थीमा रुचि हुन जरुरी छ । यसको लागि विद्यालयले पनि भर्ना हुनु अघि सहजीकरण गर्नुपर्ने हुन्छ ।
विद्यार्थीहरुमा पढाई प्रतिको रुची घट्दै गएको हो ?
अहिले पनि प्रायः ठाउँमा पढाउने शैली भनेको परम्परागत छ । घोकन्ते विद्या छ । हामीले विद्यार्थीहरुको समस्या बुझ्न सकिरहेका छैनौं । उनीहरुको समस्या बुझ्नु आवश्यक छ । सबै विद्यार्थीहरुले बुझेको हुन्छ भन्ने हुँदैन । बुझाई फरक फरक हुन सक्छ । नबुझ्ने विद्यार्थीहरुका लागि छुटै विधिद्धारा पनि बुझाउन सक्ने हुनुपर्छ । हामीले जुन प्रतिफल प्राप्त गर्न सकिरहेका छैनौ भन्छौ त्यो प्रतिफल प्राप्तिका लागि वातावरण सिर्जना गर्ने पनि हाम्रो कार्य हो ।
दोश्रो कुरा पहिले माक्र्स हुन्थ्यो अहिले ग्रेडिङ प्रणालीले पनि विद्यार्थीमा रुची कम देखिएको हो कि भन्ने हो । समयसँगै हामीले हाम्रा शिक्षण पद्दतिहरु शिक्षण सामाग्रीहरु परिवर्तन गर्न आवश्यक छ । यसको लागि अभिभावक शिक्षक विद्यार्थी बीच अन्तरक्रिर्या हुनुपर्छ ।
सबै क्षेत्र र वर्गका विद्यार्थीहरुलाई निष्टले कसरी व्यवस्थापन गरेको छ ?
सबै क्षेत्र र वर्गका नागरिकहरुको आय श्रोत एकैनासको हुँदैन । हामीकहाँ तीनप्रकारको छात्रवृत्ति रहेको छ । एउटा नगरपालिकाबाट प्रदान हुन्छ । अर्काे विषयगत छात्रवृत्ति, जस्तै विज्ञान, कानुन, व्यवस्थापन विषयमा भने तेश्रो एसईईमा ल्याएको ग्रेडिङको आधारमा छात्रवृत्ति प्रदान गर्छाैं । यसको लागि हामीले लिइने प्रवेश परीक्षामा भने पास हुनु पर्ने हुन्छ । हामीले दलित, जनजाति, आदिवासी, गरिब, जेहेन्दार सबैलाई समेटिने हिसाबले छात्रवृत्ति प्रदान गर्दै आईरहेका छौं । यसको साथसाथै खेलकूद लगायत अन्य विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई विशेष छात्रवृत्तिको व्यवस्था गरिएको छ ।
कलेज पढेर पनि ट्युसन पढाउनुपर्ने बाध्यतालाई कसरी हेर्नुभएको छ ?
निष्टमा पढ्ने विद्यार्थीहरुले ट्युसन र कोचिङ पढ्नुपर्दैन भन्ने प्रष्ट पार्न चाहन्छु । हाम्रो कक्षाहरु १०–५ बजे भित्र हुन्छ । निष्टमा ट्युसन लिनुपर्ने विद्यार्थीहरु हुनुहुन्छ भने निष्टले अतिरिक्त शुल्क नलिई त्यसको पनि व्यवस्था गरेको छ । त्यो सुविधा कलेज भित्रै रहेको जानकारी गराउँदछु ।
एउटै कक्षामा भर्ना भएका सबै विद्यार्थीको क्षमता फरक फरक हुन्छ, यसलाई कसरी व्यवस्थापन गर्नुभएको छ ?
हामीले पढाउँदा कक्षामा अलि कमजोर विद्यार्थीले बुझ्ने गरि पढायो भने हामीले पढाएको सान्दर्भिक हुन्छ । हामीले पढाईसके पछि त्यसको रिभ्यु गर्नु आवश्यक छ । विद्यार्थीहरुले कहाँनेर बुझेको छैन ती विद्यार्थीहरुको लागि हामी छुटै तरिकाले सिकाउने प्रयास गर्छाै । त्यसको लागि छुट्टै कक्षाहरुको पनि व्यवस्था गर्नुपर्ने हुन्छ । जसबाट समाधान अवश्य पनि निस्कन्छ ।
कक्षा ११ मा विद्यार्थीहरुले कसरी निष्टमा सम्पर्क गर्ने ?
कक्षा ११ मा भर्ना हुन तथा जानकारी लिन चाहने विद्यार्थी तथा अभिभावकहरुको लागि हाम्रो कार्यालय विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म खुल्लै हुने जानकारी गराउन चाहन्छु । कलेजमा आएर सबैसँग भेटघाट गर्न सक्नुहुन्छ । जानकारी लिन सक्नुहुन्छ । यसको साथसाथै निष्ट कलेजको फेसबुक पेज, इन्स्टाग्राम, रेडियोको माध्यमद्धारा पनि प्रचार भइरहेको छ । एकपटक आउनुहोस् बुझ्नुहोस् । यहाँहरुको जिज्ञासाको समाधान गर्ने प्रयास पनि गर्नेछौं । धन्यवाद l









