2026 August 17/ 01:30: 30am

बिबेक राज ठकुरी
बरिष्ठ कार्यकारी अधिकृत
बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.
बनेपा न.पा.६,


१. बुडोल सामुदायिक साकोसको बारेमा बताईदिनुस् न?
बुडोल सामुदायिक समुदायमा आधारीत सदस्य केन्द्रीत बचत तथा ऋण सहकारी संस्था हो । यसले मुख्यतः आफ्ना सदस्यहरुसँग विभिन्न १६ प्रकारका बचत योजनाहरुमार्फत बचत संकलन गरिरहेको छ र १४ प्रकारका विभिन्न शिर्षकमा सदस्यहरुलाई नै ऋण प्रवाह गरिरहेको छ । हालसम्म संस्थामा कुल १२९८८ जना सदस्य र ५२७४ जना बाल बचतकर्ताहरु आबद्ध छन । संस्थाको कुल सम्पत्ति १०९ करोड पुगेको छ । संस्थाले बचत र ऋणका अलावा सदस्यहरुलाई आर्थिक सुरक्षा कार्यक्रम मार्फत दुर्घटना बीमा, मृत्यु राहत, औषधी उपचार सहयोग, सुत्केरी भत्ता, दैवी विपत्ति सहयोग, औषधी उपचारमा छुट लगायतका सेवा सुविधाहरु समेत उपलब्ध गराउँदै आएको छ ।
२. संस्थाका भावी योजनाहरु के के रहेका छन् ?
समय सापेक्ष प्रविधिमैत्री सेवा सुविधा उपलब्ध गराई युवाहरुलाई आकर्षण गर्ने, संस्थाको आफ्नै भवन निर्माण गर्ने, विभिन्न सहकारीहरुसंग एकीकरण प्रक्रिया अगाडी बढाई संस्थाको पूँजी बढाउने साथै संस्थाको कार्यक्षेत्र बढाउने, उत्पादनशिल रोजगारी वृद्धि गर्न सहुलियत रुपमा ऋणको ब्यवस्था मिलाउने आदि संस्थाको भावी योजनाहरु हुन ।
३. एक्सेस ब्राण्डिङ्ग कार्यक्रममा ब्रोञ्ज तहको ब्राण्ड प्राप्त गर्नु भएको छ, कतिको सहज अनुभव गरिरहनु भएको छ?
संस्थाले २०६५ सालदेखि नै एशियाली ऋण महासंघ र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को प्राविधिक सहयोगमा संचालित एक्सेस ब्राण्डिङ्ग कार्यक्रममा सहभागिता जनाईरहेको छ । लामो समयको मेहनत पश्चात संस्थाले २०६९ सालमा नेपालमा नै पहिलो पटक ब्रोञ्ज तहको ब्राण्ड प्राप्त गर्न सफल भई हालसम्म पनि निरन्तर ब्राण्ड नवीकरण गराउन सफल हुँदै आएको छ । एक्सेस ब्राण्ड संस्थालाई कत्तिको सवल र सुरक्षित रुपमा संचालन गरिएको छ सोको गुणस्तर मापन गरी दिईने प्रमाण पत्र हो । एक्सेस ब्राण्ड प्राप्त गरेको संस्थामा सदस्यहरुले आफूले राखेको बचत पूर्ण रुपमा सुरक्षित छ भनेर ढुक्क हुन सक्छन् । संस्थाले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा पहिचान बनाउन सफल भएको छ । यसले गर्दा सदस्यहरुको विश्वास जित्न र काम गर्न सहज त भएको छ । तर बजारमा देखिएको अत्याधिक प्रतिस्पर्धाले गर्दा संस्थाले हाल प्राप्त गरेको एक्सेस ब्राण्ड स्तरोन्नती गर्दै लैजान भने चुनौतीपूर्ण रहेको छ ।
४. सहकारीको गुणस्तरियतालाई कायम गरी रहनको लागि संस्थाले शुरु गरेको एकीकरण अभियानले असर गर्दैन?
सहकारी एकीकरण वर्तमान अवस्थामा अपरिहार्य छ, राज्यले समेत सोही बमोजिमको कानून लागु गरिसकेको छ । समुदाय र सदस्यको लागि भनेर संचालित संस्थाहरुबिचमा मात्र एकीकरण सम्भव हुने भएकोले संस्थाले हाल सदस्यहरुलाई प्रदान गरिरहेको सेवा सुविधा घटाउनु पर्ने हुदैन । एकीकरणबाट संस्था थप सवल र क्षमतावान भई अझ मजबुद हुन सक्छ भन्ने मेरो बुझाई हो । यथास्थितीमा राज्यको कानून लागु गर्ने हो चाही निकट भविष्यमा नै व्यवसायिक हिसाबले मात्र संचालित संस्थाहरु दुर्घटनामा पर्न सक्ने र सम्पूर्ण अभियान उपर नै त्यसको नकारात्मक प्रभाव पर्न सक्ने कुरामा भने सचेत हुन जरुरी छ । 
५. सहकारी र स्थानीय सरकारबिच कतिको समन्वय भैरहेको छ?
स्थानीय सरकारले सहकारी बुझेको दक्ष जनशक्ति ब्यवस्थापन गर्न सकेको छैन । संस्थालाई सूचीकृत गर्ने, संस्थाबाट प्राप्त प्रतिवेदन बुझ्ने वाहेक सहकारीको अनुगमन, कारवाही, एकीकरण, विनियम संसोधन लगायत अत्यावश्यकीय काममा कुनै सहयोग गर्न सकेको छैन । यसबाट नै स्पष्ट हुन्छ की सहकारी र स्थानीय सरकारबिच खासै समन्वय र सहयोग हुन सकिरहेको छैन । सहकारीका छाता संगठन र स्थानीय निकायको समन्वयमा भए गरिएका कार्यक्रमहरु पर्याप्त छैनन् ।
६. सहकारीले वित्तीय क्षेत्रमा देखिने तरलता संकटलाई कसरी ब्यवस्थापन गर्दै आईरहेको छ?
सहकारी आफैमा समुदायमा रहेर काम गर्ने भएकोले सदस्यमुखी हुन्छन् । सहकारीले स–साना छरिएर रहेको पूँजी एकीकृत गर्ने भएकोले बजारमा जुन हिसाबले तरलता संकट भए पनि संस्थामा त्यसको त्यति धेरै असर पर्दैन । तर बैंक तथा वित्तीय संस्थासंग प्रत्यक्ष प्रतिस्पर्धा गर्नुपर्ने भएकोले नियमित रुपमा बजार अध्ययन गरी उचित ब्याजदर तय गर्नुपर्ने हुन्छ ।
७. सहकारी नियमावली २०७५ र सहकारी कर सम्बन्धी नीतिलाई संस्थाले कसरी हेरीरहेको छ?
सहकारी ऐन र नियमावलीले गरेका ब्यवस्थाहरु प्रभावकारी रुपमा कार्यान्वयन हुनेछ र सहकारीमा देखिएका विकृतिहरु हटाई सहकारी अभियानलाई सवल र विश्वसनीय बनाउन भूमिका खेल्नेछ भन्नेमा विश्वस्त छौं । राज्यले सहकारीलाई करमा जुन प्रकारको छुटको ब्यवस्था गरेको छ, यो प्रशंसीय छ र यसले सहकारीलाई सवल र सुरक्षित बनाउन अवसर प्रदान गरेको छ । यसको सही सदुपयोग गर्नुपर्ने संस्थाको दायित्व हो ।
८. आर्थिक सामाजिक रुपान्तरणमा सहकारीले खेलेको भूमिकालाई कुन रुपमा लिनु भएको छ?
हिजोको शुरुवाती दिनदेखि नै वित्तीय कारोवारको लागि कुनै पहुँच नहुँदा संस्थाले समुदायमा विकल्प उपलब्ध गराएको थियो । बचत गर्ने बानीको विकास गराएको थियो । सहज, सरल रुपमा ऋण सुविधा उपलब्ध गराई, आयआर्जन बढाई आत्मनिर्भर हुन अवसर प्रदान गरेको थियो र आजको दिनसम्ममा आइपुग्दा थुप्रै सदस्यहरुलाई बचत र ऋणको माध्यमबाट उनीहरुको आर्थिक, सामाजिक र साँस्कृतिक स्तर अभिवृद्धिमा टेवा पुर्याउन सफल भएको छ । राज्यको जटिल परिस्थितिहरुमा समेत सहकारीले नडगमगाईकन समुदायमा सेवा उपलब्ध गराएका थिए । अहिले मानिसहरु जति पनि आर्थिक सामाजिक रुपमा सबल र स्वतन्त्र छन्, त्यसमा सहकारीको महत्वपूर्ण भूमिका रहदै आएको छ ।
९. बनेपामा सहकारीहरुको संख्या धेरै रहेको अवस्थामा सदस्यहरुलाई बुडोल सामुदायिक साकोसले कस्तो सेवा दिदै आएको छ र कसरी विश्वास दिलाएको छ ?
अहिले बनेपामा मात्र नभई अधिराज्यभरी नै सहकारीको संख्या आवश्यकताभन्दा धेरै छ । यसले गर्दा अस्वस्थ प्रतिस्पर्धा निम्त्याएको छ, जुन कुनैपनि संस्थाको हितमा छैन । खुलेका धेरै सहकारी कमाउ धन्दामा समेत लागेका छन्, जसले गर्दा सहकारीमा राखिएका बचत रकमहरु असुरक्षित हुँदै गएका छन् । बुडोल सामुदायिक साकोसले सदस्य र सम्भावित सदस्यहरुलाई औपचारिक अनौपचारिक रुपमा वित्तीय साक्षरता प्रदान गर्ने गरेको छ । अस्वस्थ प्रतिस्पर्धामा नगई संस्थादे सदस्यहरुको बचतको सुरक्षाको प्रत्याभूति दिलाएको छ । सर्वसुलभ र सहज प्रक्रियामा ऋण सुविधा उपलब्ध गराएको छ । सदस्यहरुलाई सदावहार काउन्टर सुविधा, विहानी काउन्टर सुविधा, सन्ध्याकालिन काउन्टर सुविधा मार्फत कारोबारलाई सहज बनाएको छ । सम्भावित जोखिमहरु पहिचान गरी सोको ब्यवस्थापन गरेको छ ।
१०. सहकारीहरुको अनुगमन कत्तिको भईरहेको छ? पछिल्लो समय सहकारीहरुमा विकृति भित्रदै गएको हो?
एक्सेस ब्राण्डिङ्ग कार्यक्रममार्फत संस्थाको नियमित रुपमा अफ साईट, अनसाईट अनुगमनहरु भैरहेको छ । संस्थाबाट विभिन्न निकायहरुमा पठाउनुपर्ने आवधिक प्रतिवेदनहरु नियमित रुपमा पठाईरहेका छौं । निकै अघि सहकारी विभागबाट संस्थाको सघन अनुगमन भएको थियो भने हालै मात्र सम्पत्ति शुद्धिकरण अन्तर्गत अनुगमन भएको छ । तर राज्यबाट पर्याप्त अनुगमन, नियमन हुन सकिरहेको अवस्था छैन । झन प्रदेश स्तर र स्थानीय स्तरमा नीति नियमको अभावमा अनुगमन नियमन ओझेलमा परेको छ । थोरै र ठुला सहकारीहरुमा मात्र अनुगमन हुने भएकोले विशेष गरी साना संस्थाहरुमा विकृती देखिएको छ । व्यवसायिक हिसाबले नै संचालन गर्ने उदेश्य राखेर खोलिएका र सुशासनमा नचलेका सहकारी संस्थाहरु समस्यामा पर्दै गएको यथार्थता हो ।
११. सहकारीमार्फत समाजमा रोजगारी सृजना गर्ने र आमस्तरमा रहेको गरिबी न्यूनीकरण गर्ने कस्तो योजना रहेको छ?
राज्यमा उत्पादन बढाउन सकिएमा मात्र राज्य र जनता सम्बृद्ध हुन सम्भव हुन्छ । तसर्थ आगामी दिनहरुमा सदस्यहरुलाई उत्पादन बढाउने खालका परियोजनाहरुमा सहभागी हुन सहुलियतपूर्ण ऋण सुविधा उपलब्ध गराउने योजना बनाएका छौ । साथै सदस्यहरुबाट उत्पादित वस्तु सेवालाई बजारीकरणको ब्यवस्था मिलाउने समेतको योजनामा छौं । यसबाट देशमै रोजगारीको अवसर बढ्न सक्ने विश्वास लिएका छौं ।
१२. अन्त्यमा पत्रिका मार्फत सम्पूर्ण सदस्यहरुलाई के भन्न चाहनु हुन्छ?
बुडोल सामुदायिक साकोस सदस्यहरुलाई प्रभावकारी सेवा सुविधा उपलब्ध गराउन सदैव प्रतिवद्ध रहेको कुरा सम्पूर्ण सदस्यहरुमा अवगत गराउन चाहन्छु । राज्यको ऐन कानून बमोजिम एक व्यक्ति एक सहकारीको नीतिलाई अवलम्वन गर्नुपर्ने भएकोले सम्पूर्ण वित्तीय समाधान दिन सक्ने संस्थाको रुपमा बुडोल सामुदायिक साकोसलाई ढुक्क भएर छनौट गर्नु हुन हार्दिक अनुरोध समेत गर्दछु । अन्त्यमा आफ्ना विचार राख्ने अवसर प्रदान गर्नुभएकोमा चेष्टा साप्ताहिक परिवारप्रति हार्दिक आभार प्रकट गर्दछु । धन्यवाद । जय सहकारी ।