2026 June 05/ 12:59: 15am

    पनौतीको त्यो गाउँ बिहानको घामसँगै बिउँझिन्थ्यो । डाँडामाथिबाट सूर्य उक्लँदा सुनौलो किरण धानका बाला र मकैका बोटमा टल्किन्थे । टाढा रोशी खोलाको आवाज सुनिन्थ्यो । चौतारामा बुढापाकाहरू गफ गर्थे । गाईका घण्टी बज्थे । र गाउँका युवतीहरू डोको बोकेर धारातिर झर्थे । म पनि त्यही भीडभित्रकी एउटी थिएँ । त्यतिबेला जीवन यति भारी थिएन । मनमा दुःखभन्दा सपना बढी थिए । मैले पहिलोपटक उसलाई पनौतीको इन्द्रेश्वर मेलामा देखेकी थिएँ । पनौतीमा लाग्ने घुम पूर्णिमा जात्रा । त्यसको महत्व । त्यो जात्रामा अभुतपूर्व सहभागिता । अहिले पनि त्यस्तै त्यस्तै छ । तर उल्लास चाँहि घटिरहेको छ ।
    उसले सेतो सर्ट लगाएको थियो । आँखामा अनौठो चमक थियो । उसले मलाई हेरेर हल्का मुस्कुराएको थियो । त्यो मुस्कान किन हो कुन्नि, मेरो मनमा कतै गएर बस्यो । पछि थाहा भयो, उसको नाम विकास रहेछ । हाम्रो घरभन्दा दुई गाउँमाथि । सानो खेतीपाती । बूढा बाबुआमा । घरको आर्थिक अवस्था हाम्रो भन्दा धेरै फरक थिएन । तर ऊ बोल्दा सपना देख्थ्यो । हामी पनि एकदिन राम्रोसँग बाँच्नेछौँ काली, ऊ भन्थ्यो, यो दुःख सधैँ रहँदैन । म उसलाई सुन्दै बस्न मन पराउँथेँ । हाम्रो प्रेम गाउँले प्रेम थियो । न चिट्ठी खुला लेख्न पाइन्थ्यो । न फोनमा रातभर कुरा । मेलापात जाँदा बाटोमा भेटिन्थ्यो । धारामा पानी भर्दा आँखा जुध्थे । तिहारमा देउसी खेल्दा उसले मलाई हेरेर गाएको गीतमा म लजाउँथेँ । कति सानो–सानो कुराले मन भरिन्थ्यो त्यतिबेला । 
    एक साँझ उसले मलाई पनौतीको डाँडामाथि लगेको थियो । तल सहरका बत्तीहरू बलिरहेका थिए । आकाशमा जून थियो । उसले बिस्तारै मेरो हात समातेर भनेको थियो, म तिमीलाई धेरै दुःख दिन्नँ है । त्यो बेला मैले विश्वास गरेकी थिएँ । मलाई संसारकै सुरक्षित हातले छोएको छ । हाम्रो विवाह धेरै धुमधामले भएको थिएन । गाउँका मान्छे बोलाइएका थिए । मादल बजेको थियो । म रातो सारीमा सजिएकी थिएँ । सिन्दूर हाल्दै गर्दा उसको हात काँपेको मैले महसुस गरेकी थिएँ । अब तिमी मेरो मान्छे भयौ । उसले कानमा बिस्तारै भनेको थियो । म लजाएर टाउको झुकाएकी थिएँ । त्यो रात मलाई लाग्यो, अब जीवन जस्तो आए पनि हामी सँगै लड्नेछौँ । तर विवाहले प्रेम मात्र खाँदैन रहेछ । भात पनि खानुपर्दोरहेछ ।
    घरमा थोरै जमिन । त्यसले वर्षभरी खान पुग्दैनथ्यो । खेती गर्दा मल किन्न पैसा छैन । पशुपालन गर्दा दानाको समस्या । गाउँमै काम छैन । ऊ बिहान बेलुकासम्म दुःख गथ्र्यो । तर कमाइले घर धान्दैनथ्यो । त्यसबीच हाम्रो छोरा जन्मियो । दुई वर्षपछि छोरी । खुसी थपियो, जिम्मेवारी पनि । र एकदिन उसले भन्यो, म विदेश जानुपर्छ सरिता । मेरो मुटु एक्कासी चिसो भयो । नजाऊ न...। मैले धेरै रोकेकी थिएँ । तर ऊ मेरो कपाल मुसार्दै भन्यो, के गरौँ ? यहाँ बसेर तिमीहरूलाई दुःख मात्र दिइरहेको छु । त्रिभुवन विमानस्थलमा बिदा हुँदा म उसको छातीमा टाउको राखेर धेरै रोएकी थिएँ । उसले मेरो आँसु पुछ्दै भनेको थियो, केही वर्षको कुरा हो । फर्केर आएपछि पक्की घर बनाउँछौँ । छोराछोरीलाई राम्रो स्कूल पढाउँछौँ । त्यो दिन मैले उसको हात छोड्दा लाग्यो, मेरो आधा मुटु उडेर विदेश गयो । मलेसियाबाट सुरु–सुरुमा फोन आउँथ्यो ।
    सरिता, खाना खायौं ? बाबु सुत्यो ? छोरीलाई मेरो माया भनिदेऊ । उसको आवाज सुन्दा म दिनभरको थकान बिर्सिन्थेँ । उसले पैसा पनि पठाउँथ्यो । घरको ऋण केही तिरियो । म फेरि सपना देख्न थालेकी थिएँ । तर दुई वर्षपछि ऊ कुवेत गयो । त्यसपछि उसको आवाज फेरिन थाल्यो । फोन कम भयो । कुराहरू छोटा भए । काम धेरै छ । पछि बोल्छु । र एकदिनदेखि...मसँग बोल्नै छोड्यो । बा–आमासँग कहिलेकाहीँ कुरा गथ्र्यो रे । तर मसँग होइन । छोराछोरीसँग पनि होइन । पहिला मैले रिस गरेँ । पछि डर लाग्न थाल्यो । अनि बिस्तारै म भित्रभित्रै मर्न थालेँ । आज बाह्र वर्ष भयो । बाह्र वर्षदेखि म उसलाई कुरिरहेकी छु । न ऊ मरेको खबर आयो । न ऊ फर्कियो । म सिन्दूर पुछूँ भने पनि कसरी ? म अर्को जीवन सुरु गरूँ भने पनि कसरी ? म के हुँ ? श्रीमती ? विधवा ? वा कसैको प्रतिक्षामा रोकिएको अधुरो जिन्दगी ?
    सासुससुरा बूढा हुनुभयो । म बिहानदेखि रातिसम्म उहाँहरूको सेवा गर्छु । औषधि, खाना, खेत, गोठ, बच्चा...। सबै मेरो काँधमा छ । कहिलेकाहीँ लाग्छ, म बुहारी कम, गोठालो बढी भएँ । मेरो माइती पनि उस्तै छ । बूढा बाबुआमा । दाजुभाइ विदेश । दिदीबहिनी आफ्नै पीडामा । महिलाहरू आखिर कहाँ गएर अडिने ? चाडपर्व आउँदा मन सबैभन्दा धेरै रुन्छ । दशैँमा गाउँभरि विदेशिएका लोग्नेहरू फर्किन्छन् । बच्चाहरू बाबुको काखमा रमाउँछन् । मेरो छोरो भने चुपचाप बस्छ । एकदिन उसले सोध्यो, आमा, बाबुले हामीलाई माया गर्नुहुन्न ? त्यो प्रश्नले मेरो छाती चिरियो । छोरी त अहिले बाबुको अनुहार नै बिर्सिसकी । पुरानो फोटो देखाएर भन्नुपर्छ, यी तिम्रा बाबु । ऊ फोटो हेरेर सोध्छे, किन आउनुभएन त ?
    मसँग उत्तर हुँदैन । तर समाजसँग भने धेरै उत्तर छन् । उता अर्को बिहे गरेछ । यत्रो वर्ष फर्केन भने किन कुर्ने ? एक्ली स्वास्नी...। मानिसहरूलाई अरूको घाउ कोट्याउन असाध्यै मन पर्दोरहेछ । कतिपय पुरुषले हेर्ने नजर पनि बदलियो । सहानुभूतिको बहानामा नजिकिन खोज्ने । चरित्रमाथि प्रश्न उठाउने । किन ? श्रीमती एक्लै भयो भने ऊ सबैको नजरमा सजिलो शिकार किन बन्छे ? पुरुषहरूलाई चाहिँ आफ्नो खुशी रोज्ने छुट हुन्छ ? अर्को विवाह गरेर रमाउने अधिकार हुन्छ ? तर महिलाले मात्रै संस्कार जोगाइरहनुपर्ने ? हामी बच्चा जन्माउने मेसिन मात्रै हौँ ? हाम्रो मन हुँदैन ? हाम्रो चाहना हुँदैन ? हाम्रो शरीर थाक्दैन ? कतिपटक राति म आँगनमा बसेर आकाश हेर्छु । र मनमनै उसलाई सोध्छु, तिमी साँच्चै यति बदलियौ ? जसले मेरो हात समातेर जिन्दगीभर नछोड्ने कसम खाएको थियो, त्यो मान्छे यति सजिलै हरायो ?
    कहिलेकाहीँ रिसले मुटु पोल्छ । मन लाग्छ चिच्याऊँ । सबै भत्काइदिऊँ । यो सिन्दूर चिथोरिदिऊँ । तर बिहान फेरि उठ्नै पर्छ । गाईलाई घाँस हाल्नै पर्छ । बच्चालाई स्कूल पठाउनै पर्छ । महिलाहरूलाई रोएर पनि बाँच्न आउनुपर्छ । अहिले गाउँ फेरिएको छ । घरहरू छन्, तर मान्छे छैनन् । युवाहरू खाडीमा छन् । कोही जापान । कोही कोरिया । कोही अष्ट्रेलिया । गाउँमा बाँकी छन्, बूढा बाबुआमा, महिलाहरू, र अधुरा प्रतिक्षाहरू । सरकार फेरिन्छ । नयाँ योजना आउँछ । तर हाम्रो जीवन उस्तै छ । जुन जोगी आए पनि कानै चिरेको । आज पनि म साँझपख घरको आँगनमा बस्छु ।
    पनौतीको आकाश राताम्मे हुन्छ । हावा चल्छ । टाढा मन्दिरको घण्टी बज्छ । म कहिलेकाहीँ अझै कल्पना गर्छु, कतै बाटोमा ऊ आइरहेको छ कि ? तर त्यो आशा पनि अहिले थाकिसकेको छ । सायद उसले अर्को संसार बसायो । सायद हामीलाई बिर्सियो । सायद ऊ खुसी छ । तर यहाँ...म अझै उसको नामको सिन्दूर बोकेर बाँचेकी छु । अधुरो प्रेम भएर । अधुरो पत्नी भएर । अधुरो जिन्दगी भएर । र कहिलेकाहीँ लाग्छ, विदेशले मेरो लोग्ने मात्रै लगेन् । मेरो जवानी, मेरो हाँसो, मेरो सपना...।  सबै लगेर मरुभूमिमा गाडिदियो । बैदेशिक रोजगार सम्वन्धी कार्यक्रमका बारेमा सुन्छु । बुझ्छु । मनमनै भनौ भनौ लाग्छ । केहिलाई त भने पनि । कसैले यसमा सहयोग गर्ने चासो देखाएन । 
    केहि दिन अघि समाचार पनि पढेको थिएँ । काभ्रेपलाञ्चोक जिल्ला वैदेशिक रोजगारीका हिसाबले बागमती प्रदेशकै प्रमुख श्रमिक आपूर्ति गर्ने जिल्लामध्ये एक रहेछ । गाउँदेखि सहरसम्मका हजारौं युवा खाडी मुलुक, मलेसिया, जापान, कोरिया र युरोपसम्म पुगेका छन् । रोजगारीसँगै मृत्यु, अंगभंग, आर्थिक संकट, कानुनी झमेलादेखि पारिवारिक विघटनसम्मका समस्या पनि बढिरहेका छन् । वैदेशिक रोजगार बोर्ड, आप्रवासी स्रोत केन्द्र र स्थानीय तहका तथ्याङ्कले जिल्लाको सामाजिक–आर्थिक यथार्थलाई गम्भीर रूपमा उजागर गरेका छन् । एक आर्थिक वर्षमा मात्रै जिल्लाबाट बैदेशिक रोजगारीमा गएका १३ हजार २ सय मध्ये १५ जनाको निधन भएको रहेछ । मृतकका परिवारले वैदेशिक रोजगार बोर्ड मार्फत १ करोड ३ लाख ५० हजार रुपैयाँ आर्थिक सहायता पाएका रहेछन् । सबैभन्दा धेरै मृत्यु तेमाल गाउँपालिकाका नागरिकको भएको रहेछ । तेमालका ४, पाँचखालका ३, धुलिखेलका २ जनाको मृत्यु भएको छ । धुलिखेलका २ परिवारले १७ लाख रुपैयाँ सहायता पाएछन् । पाँचखाल नगरपालिकाबाट ३ जनाको मृत्यु हुँदा २७ लाख रुपैयाँ सहयोग उपलब्ध भएको रहेछ । रोशी गाउँपालिकाबाट ३ जनाको मृत्यु भएको छ भने २१ लाख रुपैयाँ सहयोग वितरण गरिएको रहेछ । त्यस्तै, बनेपा नगरपालिकाबाट १, तेमाल गाउँपालिकाबाट ४, महाभारत गाउँपालिकाबाट १ तथा भुम्लु गाउँपालिकाबाट १ जनाको मृत्यु भएको जानकारी भयो । बनेपामा १० लाख, तेमालमा १४ लाख ५० हजार, भुम्लुमा ७ लाख, महाभारतमा ७ लाख रुपैयाँ राहत रकम प्राप्त भएको रहेछ । यो तथ्यांक भित्र न म र न मेरा श्रीमान् ? बेपत्ता भनौ कि ? मरेको भनौ कि ? जिउँदो भनौं ? 
    काभ्रेपलाञ्चोकबाट वैदेशिक रोजगारीमा जाने अधिकांश युवा अझै पनि खाडी मुलुक र मलेसियामै केन्द्रित छन् । स्थानीय तहगत तथ्याङ्क अनुसार बनेपा नगरपालिका, धुलिखेल नगरपालिका र भुम्लु गाउँपालिका वैदेशिक रोजगारीमा धेरै श्रमिक पठाउने क्षेत्रमा पर्छन् । बनेपा नगरपालिका अग्रस्थानमा छ । बनेपाबाट मात्रै १ हजार १ सय २५ जना पुरुष र ४४२ जना महिला वैदेशिक रोजगारीमा रहेको तथ्याङ्क छ । पुरुषतर्फ सबैभन्दा धेरै साउदी अरब, मलेसिया, कतार र यूएईमा छन् । महिलाहरूको संख्या पनि उल्लेख्य छ, विशेषगरी कुवेत, कतार र ओमानमा । धुलिखेल नगरपालिकाबाट ६०६ पुरुष र २९२ महिला विदेशमा छन् । भुम्लु गाउँपालिकाबाट ६५० पुरुष र २३६ महिला वैदेशिक रोजगारीमा छन् । महाभारत गाउँपालिकामा पनि ६५२ पुरुष र २८२ महिला विदेशमा छन्। तीमध्ये धेरै खाडी मुलुक र मलेसियामा कार्यरत छन् । तथ्याङ्कले वैदेशिक रोजगारीमा पुरुषको संख्या अत्यधिक रहेको देखाउँछ । तर महिलाको सहभागिता पनि कम छैन । विशेष गरी घरेलु कामका लागि कुवेत, कतार, ओमान र साउदी अरब जाने महिलाको संख्या उल्लेखनीय छ । महिला श्रमिकहरू प्रायः असंगठित क्षेत्रमा काम गर्ने भएकाले शोषण, सम्पर्क विहीनता र कानुनी सुरक्षाको जोखिम बढी हुने रहेछ । मेरो जस्तो समस्या र पीडा बैदेशिक रोजगारमा गएकाहरु कसैलाई पनि नपरोस् । 

सरिता खत्री
पनौती, काभ्रे