2026 May 29/ 10:00: 34pm

‘आम्मा...’ । डोजर घरअगाडि आइपुग्दा २९ वर्षीय मिलन गोर्खालीको मुखबाट निस्किएको अन्तिम स्पष्ट शब्द यही थियो । त्यसपछि उनका ओठहरू थरथराए । आँखा एकाएक शून्य भए । स्वर घाँटीमै अड्कियो । अनि वाक्य अधुरै रोकियो । त्यो रातपछि मिलन फेरि पहिलेका मिलन रहेनन् । अहिले उनी बनेपास्थित नेपाल रेडक्रस सोसाइटीको तालिम केन्द्रमा बनाइएको अस्थायी शिविरको एउटा कुनामा पल्टिरहेका हुन्छन् । शरीर यहाँ छ, तर चेतना कतै धेरै टाढा हराएको जस्तो लाग्छ । कहिले उनी टुलुटुलु आकाशतिर हेरिरहन्छन्, कहिले कसैले पछाडिबाट बोलाएजस्तो झस्किन्छन् । कहिले एक्कासी काँप्न थाल्छन् । उनी आफैं उठेर हिँड्न सक्दैनन् । शौचालय जान सक्दैनन् । राम्रोसँग खाना खान सक्दैनन् । बोल्न त झनै सक्दैनन् ।
    उनकी आमा यो माया तामाङ भने छोराको अनुहार हेरिरहन्छिन् । आँखामा एउटै प्रश्न बोकेर– ‘मेरो छोरो फेरि बोल्ला त ? फेरि मलाई ‘आम्मा’ भनेर बोलाउला त ?’ त्यो प्रश्नको जवाफ कसैसँग छैन । त्यो रात, जहाँबाट मिलन हराए । त्यो साँझ अरू दिनजस्तै सामान्य थियो । यो माया तामाङ चुल्हो अगाडि बसेर खाना पकाउँदै थिइन् । भात पाक्दै थियो । सानो घरभित्र धुवाँको गन्ध फैलिएको थियो । बाहिर साँझ बिस्तारै अँध्यारोमा हराउँदै थियो । अचानक बत्ती निभ्यो । उनी झसङ्ग भइन् । घरबाहिर निस्केर हेर्दा डोजरले छिमेकीका घर भत्काइरहेको थियो । फलामले पर्खाल च्यात्ने आवाज रातभरि गुञ्जिरहेको थियो । मानिसहरूको चिच्याहट, रुवाबासी र भागदौडले टोल नै आतंकित बनेको थियो । यो मायाको मुटु एकाएक काँप्न थाल्यो । त्यही बेला मिलन घर आइपुगे । उनी पठाओ चलाएर फर्किएका थिए । स्कुटर तल सडकतिर राखेर हतारिँदै उकालो चढेका रहेछन् ।
    घरअगाडि डोजर देख्नेबित्तिकै उनी एकछिन स्तब्ध भए । आँखा ठूलो बनाएर आमातिर हेरे । अनि डर, असहायता र अविश्वास मिसिएको स्वरमा यति मात्रै भने– ‘आम्मा...’ । त्यसपछि उनी चुप लागे । त्यो मौनता आजसम्म टुटेको छैन । खाना तयार थियो । आमाले थालमा भात हालिन् । छोरालाई खान आग्रह गरिन् । तर मिलनले गाँससमेत मुखमा हाल्न मानेनन् । उनी कहिले भित्तातिर हेर्थे, कहिले छानो हेरिरहन्थे । बाहिर डोजरको आवाज अझै नजिकिँदै थियो । केहीबेरमै फलामको ठूलो पञ्जाले उनीहरूको घरमाथि प्रहार गर्न थाल्यो । छानो थर्कियो । भित्ताहरू चर्किन थाले । धुलोले सिंगो आकाश ढाकियो । २२ वर्षको पसिना, दुःख र आशा केही मिनेटमै ढुंगामाटोसँगै भत्कियो । त्यो घर केवल इँटा र टिनको संरचना थिएन । त्यो एउटी आमाको अधुरो जिन्दगी थियो । त्यो छोरो हुर्किएको संसार थियो । त्यो उनीहरूले दुःखसँग लडेर जोगाएको अन्तिम भरोसा थियो । तर त्यो रात त्यो भरोसा पनि भत्कियो । र सायद त्यही रात मिलनभित्र केही स्थायी रूपमा टुट्यो ।
    चार दिनसम्म हराएको छोरो खोजतलास पछि भेटियो । घर भत्किएपछि मिलन अचानक हराए । कहाँ गए ? कसरी गए ? कसैले देखेनन् । चार दिनसम्म यो माया तामाङ पागलझैँ छोरालाई खोज्दै हिँडिन् । कहिले प्रहरी चौकी पुगिन् । कहिले अस्पताल । कहिले सडकछेउका भीडमा अनुहार चिहाइन् । उनको मनमा एउटै डर थियो–मेरो छोरो बाँचेको होला कि नहोला ? आमाको आँखामा निद्रा थिएन । पेटमा खाना थिएन । थियो त केवल छोरालाई भेट्ने छटपटी । अन्ततः मिलन फेला परे । तर उनी पहिलेजस्ता थिएनन् । उनी अचेतजस्तै थिए । कसैलाई चिन्न सक्दैनथे । केही बोल्दैनथे । यो मायालाई लाग्यो–सायद उनले आफ्नो छोरो भेटिनन्, केवल उसको शरीर मात्रै भेटिन् । पठाओ चलाएर आमा पाल्ने छोरा थिए मिलन । कुनै समय मिलन निकै हँसिला र जिम्मेवार युवक थिए ।
    उनी बिहानै स्कुटर लिएर निस्किन्थे । पठाओ चलाउँथे । विदेशी पर्यटक घुमाउँथे । साथीहरूसँग रमाइलो गर्थे । घर फर्किंदा आमाका लागि केही न केही बोकेर आउँथे । उनीसँग ठूलो सपना थिएन । उनी केवल यति चाहन्थे–आमाले अब दुःख नपाऊन् । एउटा सुरक्षित घर होस् । र सामान्य जीवन बिताउन पाइयोस् । जीवनले उनलाई सजिलो बाटो कहिल्यै दिएन । किशोरावस्थामा उनी नराम्रो संगतमा पनि पुगे । आमाले धेरै रात रोएर बिताइन् । तर पछि मिलन आफैं बदलिए । आमाको दुःख देखेपछि उनले बाचा गरेका थिए– ‘अब म राम्रो मान्छे बन्छु आम्मा ।’ त्यसपछि उनी साँच्चै जिम्मेवार बने । उनले त्यतिबेला घर परिवार र आफन्तसँग गरेका ब्यवहार, संस्कार र लवाई खुवाईका कारण छिमेकी सबै छक्क पर्ने गरेका थिए । 
    तर नियतिले फेरि उनीहरूलाई उभिन दिएन । डोजरको आवाजसँगै उनका सबै सपना पनि चकनाचुर भए । २२ वर्षको पसिना, केही मिनेटमै समाप्त भयो । यो माया तामाङले त्यो सानो जग्गा २२ वर्षअघि सात हजार रुपैयाँमा किनेकी थिइन् । त्योबेला उनीसँग केही थिएन । तर एउटा आशा थियो–आफ्नो भन्न मिल्ने सानो ठाउँ भए पुग्छ । त्यहीँ उनले सानो छाप्रो बनाइन् । त्यही छाप्रोभित्र उनले जीवनका सबै आँधीबेहरी झेलिन् । मिलन जन्मनुअघि नै उनका श्रीमान् बेपत्ता भएका थिए । गलैंचा बुन्ने क्रममा भेटिएका सिक्किमका ती पुरुष एकदिन अचानक हराए । त्यसपछि यो मायाको जीवनमा केवल संघर्ष बाँकी रह्यो । माइतीको आँगन पुगिन् । तर सहारा पाइनन् । अन्तत ः उनले आठ वर्षको छोरालाई साथीको जिम्मा लगाएर विदेश जाने निर्णय गरिन् । 
    साउदी अरबको तातो घाममा उनले पसिना बगाइन् । अरूको घरमा काम गरिन् । आफ्नो पीडा लुकाएर दिन काटिन् । दुई वर्षपछि फर्किँदा उनीसँग यति पैसा थियो कि एउटा सानो छाप्रो बनाउन सकियोस् । तर झ्यालढोका हाल्ने पैसा थिएन । फेरि विदेश गइन् । यसपटक कुवेत । त्यहाँबाट फर्किएपछि बल्ल घरमा झ्यालढोका जोडियो । आमा–छोराले फेरि जीवन सुरु गरे । यो माया पार्टी प्यालेसमा भाँडा माझ्न थालिन् । मिलनले पठाओ चलाउन थाले । सपनाले बिस्तारै आकार लिँदै थियो । तर अहिले त्यो घर छैन । त्यो कमाईको बाटो छैन । र पहिलाको मिलन पनि छैनन् । ‘सुकुम्बासी’ भन्ने थाहा पाएपछि अस्पतालले फर्कायो । छोराको अवस्था बिग्रँदै गएपछि यो मायाले उनलाई पाटनको मानसिक अस्पताल पु¥याइन् । बिहान अस्पतालले भर्ना ग¥यो । उनलाई लाग्यो–अब मेरो छोरो निको होला । तर साँझतिर अस्पताल प्रशासनले उनीहरूको अवस्था थाहा पायो । उनीहरू विस्थापित भएको, बस्ने ठाउँ नभएको र ‘सुकुम्बासी’ भएको जानकारी पाएपछि अस्पतालले कागज थमायो–‘घरमै लगेर उपचार गर्नुहोस् ।’ यो मायाको हात काँप्यो ।
    घर त पहिल्यै भत्किसकेको थियो । अब ‘घर लैजानुहोस्’ भन्नु भनेको कहाँ लैजानु भन्ने थियो ? त्यो रात उनी फेरि सडकमा आइन् । रातको ८ बजेको थियो । प्रहरी चौकी पछाडिको पेटीमा उनी अचेतजस्तै छोरालाई काखमा राखेर बसिरहिन् । आकाश खुला थियो । भुइँ चिसो थियो । र उनको मन पूर्ण रूपमा भत्किएको थियो । भोलिपल्ट उनी आफै बनेपा स्थित होल्डिङ सेन्टर आईन् । विरामी छोरा साथमा छन् । कुनै बेला उनको मनमा लाग्यो वेवारिसे भएर सडकमा नै बस्ने पो हो कि ? शिविरले छानो दियो । तर जीवन फर्काइदिएन । शिविरभित्र एउटा आमाको अन्तहीन रात वितिरहेको छ । सानोमा काम गर्न राजधानी आएको अवस्था देखि श्रीमानले सम्बन्ध राखेर छाडेर भागेको, बच्चा जन्मिए पछि आफन्तले गरेको ब्यवहार, छोराकै लागि गरेको दुःख, उनको नागरिकता बनाउँदा पाएको सकस कति हो कति ? 
    सरकारले अहिले एक मुष्ट २५ हजार र मासिक १५ हजार ३ महिनाका लागि दिने निर्णय गरेछ । उनीहरुसँगै शिविरमा बस्नेहरु सबैले त्यो कुरा सुन्यौं । तर पनि सन्तुष्ट हुने अवस्था छैन । सम्बन्ध टुट्यो । रोजगार टुट्यो । आफन्तहरु टुटे । राजधानीमा डेरा पाईदैन । डेरा पाए पनि नजिक छैन । रोजगार कहाँ गर्ने ? बच्चाहरुलाई कसरी पढाउने ? कहाँ पढाउने ? पढाई पनि छुटिसक्यो । अरु विद्यालयमा जाँदा सुकुम्बासीका बच्चाहरु आए भनेर होच्याउने पो हुन् कि ? शिविर भित्र यो पिरलोले छाडेको छैन । बच्चाहरु मोबाईल हेरेर आधा भन्दा धेरै त विद्यालय जानै मानिरहेका छैनन् । विद्यालय जान्न भन्छन् । पढ्दिन भन्छन् । हुन त शिविर नजिकै विद्यालयहरु रहेछन् । तर कसरी जाने ? कति दिन जाने ? पोशाक, पुस्तक । भर्ना । शिक्षक । साथीहरु । सबै समस्या नै समस्या छ । तर सरकार खुशी छ सुकुम्बासी लखेटन् पाएकोमा । 
    अहिले यो मायाको संसार एउटा ओछ्यानमा सीमित छ । उनी बिहान उठेर छोरालाई औषधि खुवाउँछिन् । दिउँसो हात समाएर बस्छिन् । रातभरी निदाउँदिनन् । किनकी मिलन कहिले काँप्छन् । कहिले झस्किन्छन् । कहिले आँखा खोलेर शून्यतिर हेरिरहन्छन् । औषधि खान थालेपछि अनुहारमा हल्का उज्यालो फर्किएको छ । तर शरीर अझै निस्क्रिय छ । यो माया भन्छिन्–‘मलाई ठूलो केही चाहिएको छैन । बस्नका लागि सानो छाप्रो भए पुग्छ । मेरो छोराको उपचार होस् । यस्तो छोरा लिएर कहाँ जाऊँ ? कसरी बचाऊँ ?’ उनको स्वरमा आक्रोशभन्दा बढी थकान सुनिन्छ । जीवनभर लडेर पनि अन्त्यमा सडकमा आइपुग्नुपरेको पीडा सुनिन्छ । घर मात्रै होइन, एउटा भविष्य पनि भत्किएको छ । डोजरले त्यो दिन एउटा घर मात्रै भत्काएन । उसले एउटा परिवारको आत्मविश्वास भत्कायो । एउटी आमाको भरोसा भत्कायो । र एउटा छोराको मानसिक संसार चकनाचुर बनायो । खुला आकाशमुनि बिताएको त्यो रात मिलनका लागि केवल विस्थापन थिएन । सायद त्यो उनको चेतनाको अन्तिम सुरक्षित रात थियो । आज उनी शिविरमा मौन छन् । तर उनको मौनताले धेरै प्रश्न गरिरहेको छ–गरिबको घर भत्काउँदा राज्यले उनीहरूको मानसिक अवस्था पनि हेर्नुपर्दैन ?
    विस्थापनसँगै उपचार, पुनस्र्थापना र मानवीय सहारा किन जोडिँदैन ? र एउटी आमाले आफ्नो जीवनभरको संघर्षको अन्त्य यस्तै देख्नैपर्ने हो ? यो माया तामाङसँग अहिले कुनै ठूलो माग छैन । उनी केवल एउटा सानो छानो चाहन्छिन् । र आफ्नो छोरो फेरि एकपटक ‘आम्मा’ भनेर बोलाएको सुन्न चाहन्छिन् । किनकि उनले जीवनमा धेरै कुरा गुमाइसकेकी छन । अब उनी आफ्नो छोरो गुमाउन चाहन्नन् । 

आयुषा तामाङ
सुकुम्बासी शिविर,बनेपा