2026 June 05/ 12:59: 15am

मोतीराम तिमल्सिना
बनेपा

    राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति अन्तर्गत बनेपा नगरपालिका वडा नम्वर १३ र १४ पेरुङ्गे डाँडामा निर्माण शुरु भएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय निर्माण र संचालन अनिश्चित बनेको छ । गठन आदेश जारी भई समिति गठन भएको ६ वर्ष ब्यतीत हुँदासम्म विश्वविद्यालय संचालन ऐन, विश्वविद्यालयका लागि आवश्यक पाठ्यक्रम तर्जुमा नभएको र भौतिक निर्माण कार्य लक्ष्यको ७४.०४ प्रतिशत सम्पन्न भएको छ । 
    महालेखा परिक्षकको कार्यालयले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको स्थापना, संचालन तथा ब्यवस्थापनका लागि भएको प्रगति र संचालनका बारेमा प्रश्न उठाएको छ । प्रतिवेदनमा भनिएको छ–‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको स्थापना, संचालन तथा ब्यवस्थापनका लागि आवश्यक भौतिक, संस्थागत तथा कानूनी पूर्वाधार तयार गर्न विकास समिति ऐन, २०१३ अनुसार राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (गठन) आदेश, २०७६ बमोजिम समितिको गठन भएको हो । गठन आदेशको दफा २५ बमोजिम पहिलो बैठक बसेको मितिले समितिको कार्यकाल २ वर्ष रहने उल्लेख भएकोमा गठन आदेश २०८२ बैशाख १२ सम्म पाँचौ पटक संशोधन भई समितिको कार्यविधि ६ वर्ष कायम भएको छ । गठन आदेश जारी भई समिति गठन भएको ६ वर्ष ब्यतित हुँदासम्म विश्वविद्यालय संचालन ऐन, विश्वविद्यालयका लागि आवश्यक पाठ्यक्रम तर्जुमा नभएको र भौतिक निर्माण कार्य लक्ष्यको ७४.०४ प्रतिशत सम्पन्न भएको छ । समितिले गठन आदेश बमोजिम जिम्मेवारी पूरा गर्नु पर्दछ ।’
    बनेपा नगरपालिकास्थित पेरुङ्गे डाँडामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निर्माणकार्य तीव्र रुपमा अघि बढेको भए पनि सम्पन्न भएको छैन । विश्वविद्यालयको विद्यार्थी आवास र पुस्तकालय भवनसहितका थप भौतिक पूर्वाधार निर्माण भएको छ । आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रमअनुसार विश्वविद्यालय सञ्चालनमा ल्याउन विद्यार्थी आवास र केन्द्रीय पुस्तकालय निर्माणका लागि प्रधानसेनापति प्रभुराम शर्माले शिलान्यास गरेका थिए । राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षाका विषयमा नीति निर्माण एवं रणनीति तयार गर्न जनशक्ति उत्पादन गर्ने उद्देश्यले निर्माण सुरु गरिएको उक्त विश्वविद्यालयको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको थियो । विश्वविद्यालय सञ्चालन विधेयकको मस्यौदासमेत तयार गरी विश्वविद्यालयको संकाय र अध्यापनको विषय छनोट गरी आवश्यक पाठ्यक्रम विकास अझै हुन सकेको छैन । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार निजामती सेवा, नेपाली सेना र अन्य सुरक्षा निकायका अधिकृतको राष्ट्रिय सुरक्षासम्बन्धी उच्च शिक्षाको आवश्यकता परिपूर्ति गर्ने हेतुले स्थापना गरिएको विश्वविद्यालयमा विभिन्न शैक्षिक कार्यक्रम तथा प्राज्ञिक गतिविधिका माध्यमबाट राष्ट्रिय सुरक्षा सम्बद्ध सञ्जाल विकसित गरिने योजना थियो । 
    राष्ट्रिय सुरक्षासम्बद्ध सञ्जालको विकास गर्नाका साथै रणनीतिक संस्कार (स्ट्रयाटेजी कल्चर) र उच्चस्तरीय नागरिक–सैनिकसम्बन्ध विस्तार गर्न सहयोग पुर्याउने महत्वकांक्षी योजनासहित विश्वविद्यालय स्थापना गर्न लागिएको थियो । आ.व. २०८०÷०८१ भित्र विश्वविद्यालयका संरचना तयार गरी पहिलो चरणको तालिम सञ्चालन गर्नेगरी प्रक्रियागत कार्यलाई तीव्रता दिइएको भए पनि आर्थिक वर्ष २०८२÷०८३ सम्म पनि निर्माण कार्य सम्पन्न भएको छैन । आव २०७६÷०७७ को नीति, कार्यक्रम तथा बजेटमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्ने घोषणा गरी वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) सहितका प्रक्रिया अघि बढाइएको थियो । प्रतिष्ठान भवन र पुस्तकालय निर्माण गर्न पहिलो वर्ष ५८ करोड बजेट विनियोजन गरिएको थियो । उक्त विश्वविद्यालयको निर्माण सम्पन्न गर्न कूल सात अर्ब लाग्ने अनुमान गरिएको छ । विश्वविद्यालय निर्माणका लागि आव २०७६÷०७७ मा विनियोजित बजेटबाट दुई दशमलव छ किलोमिटर ग्राभेल सडक, एक हजार तीन सय ८० मिटर पेरिमिटर पर्खाल, एक लाख लिटर क्षमताको पानी ट्याङ्की, डिप बोरिङ, जग्गा विकास र थ्रि फेज विद्युत्लाइन विस्तारकार्य सम्पन्न भइसकेको सेनाले जनाएको छ । निर्देशनालायका अनुसार राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति एवं रणनीति तर्जुमा, गहन खोज, अनुसन्धान तथा विश्लेषण गरी राष्ट्रिय सुरक्षालाई सुदृढ तथा समसामयिक बनाउन योगदान दिन सक्ने जनशक्ति निर्माण गर्ने उद्देश्यले उक्त विश्वविद्यालय स्थापना गरिएको हो ।  साथै रणनीतिक संस्कारको विकास तथा उच्चस्तरको नागरिक–सैनिकसम्बन्ध विस्तार गर्न सहयोग पु¥याउने उद्देश्यअनुरुप सो विश्वविद्यालयको स्थापना गरिएको जनाइएको छ । बनेपा नगरपालिकाका वडा नं १३ र १४ स्थित पेरुङ्गेडाँडा वन क्षेत्रको सात सय ५० रोपनी क्षेत्रमा विश्वविद्यालय खोल्न मन्त्रिपरिषद्ले २०७६ मा स्वीकृति प्रदान गरेको थियो ।
    यस्तै उक्त विश्वविद्यालय स्थापनार्थ सरकारले आव २०७६÷७७ मा २० करोड बजेट विनियोजन गरेको थियो । अहिलेसम्म मुलुकका लागि आवश्यक रणनीतिक तहको अध्यापनका लागि विदेशी संस्थामा निर्भर हुनुपरेको अवस्थामा उच्च प्राज्ञिक संस्थाका रुपमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय राष्ट्रहितमा कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ । सेनाका अनुसार सरकारले घोषणा गरेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्न यस्ता बौद्धिक र रणनीतिक प्राज्ञिक संरचना आवश्यक हुनेछन् । राष्ट्रिय शक्तिका रुपमा आर्थिक, कूटनीतिक, सैनिक र सूचनालाई पूर्ण सन्तुलन र सामञ्जस्यसहित समन्वयात्मक हिसाबले परिचालन गर्न यस्तो विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । 
    स्थानीय जनप्रतिनिधिले विश्वविद्यालय परिसरमा ऐतिहासिक किल्ला र गढीको महत्वका विषय तथा समग्र समेटेर अध्ययनका लागि संग्राहालय स्थापना गर्ने सोच अघि सारिएको जनाउँदै आएका छन् । तर पनि निर्माण कार्य शुरु भएको पाँच वर्ष वितिसक्दा समेत सम्पन्न नभए पछि महालेखाले समेत प्रश्न उठाएको हो । आगामी वर्षको लागि पनि प्रतिरक्षा विश्वविद्यालयलाई बजेटमा प्राथमिकतामा राखिएको छैन । यो प्रतिरक्षा विश्वविद्यालय काभ्रेबाट निर्वाचित सांसद गोकुल बास्कोटाले मन्त्री हुँदा प्रारम्भ गरेका थिए । पाँचखालमा शुरु गरिएको मदन भण्डारी विश्वविद्यालयको भने पुर्वाधार नै शुरु गरिएको छैन ।