
खै कहाँबाट सुरु गरौँ । म सँग साहस नै छैन तर पनि हिम्मत बटुल्दैछु कि आफ्नो पापको प्रायश्चित गर्न नसके पनि गुम्सिएको पीडालाई यो स्तम्भ मार्फत पोखँु । सामान्य परिवारमा जन्म भयो । आमाको गर्भमा हुँदै बाबा बितेको रे अनुहार समेत थाहा छैन मलाई । आमाले मजदुरी गर्दै समाजको अनेक लाञ्छना सहँदै हुर्काइन् पनि । एक त एकल महिला कि त्यसमाथि पनि म छोरी मान्छे थिए, गरिबी त झनै विकराल थियो । समाजले जसरी प्रयोग गर्न चाह्यो सोही अनुसार भइदिनुपर्ने रहेछ हामी महिलाले अनि गरिबले । मान्छेको जीन्दगी माथिको राजनीति पनि हामीले नै सफल बनाइदिनुपर्ने, कस्तो तितो यथार्थ छ हाम्रो समाजको । आमाको अनेक दुःखमा म अर्को दुःख थिए । नबुझ्ने हुनेखानेका परिवारका बच्चाजस्तै मेरा चाहाना र मागले मेरी आमा हैरान थिइन् । गाउँ घरका अन्य केटाकेटी साथीहरुसंँग खेल्ने क्रममा कसैलाई केहि भयो भने पनि दोष म माथि नै थोपरिन्थ्यो । उतिबेला त प्रतिशोधको भावना आउँथ्यो तर आजकाल बुझ्दै छु गल्ति नगरेपनि कमजोरहरु नै पेलिनुपर्ने रहेछ । गाउँमा सबै बालबालिकाको खेल्ने मैदान एउटै थियो । स्कुल सकेपछि भेला भएर सँगै खेल्थ्यौँ सबैजना ।
सामान्य तरिकाले चलि नै रहेको थियो । हाम्रो नियमित तालिका भनेकै उठ्यो आमाले पकाएको खाना खायो विद्यालय गयो फर्केपछि उहि खेल मैदानमा साँझ नपरुन्जेल खेल्यो र घर फर्कियो अनि गृहकार्य गर्ने, पढ्ने खाना खाने, सुत्ने । सामान्यतया हाम्रो गाउँका सबै बालबालिकाको दैनिकी नै थियो यो । रातभर झमझम पानी पर्दा पनि मन पोल्न छोडेको छैन । समय यसरी उल्टो फर्केला भनेर त मैले सोच्न समेत सकेको थिईनँ । यस्तो चंगोलमा फसेकी म त्यसको पीडा बोध भएको छ तर त्यसबाट निस्कन सकेको छैन । सायद आफूलाई जिन्दगीभर माफ गर्न सक्दिन होला । खै किन मान्छे यति सम्म क्रुर हुन्छन् होला । म त सानै थिए यस घटना र मेरो भुमिकाको असर बारे मलाई के थाहा र ? तर जान्ने बुझ्नेहरु किन पैसाको निम्ति यति धेरै पापकर्म गर्छन् मैले बुझिनँ । जब बुझ्दैछु आजकाल जीन्दगी सँंग गुनासो मात्र छ, प्रायश्चित मात्र छ । मेरा जस्तै सपनाहरु अरुका पनि थिए होलान् हुन त सम्पुर्ण घटनाको जिम्मेवार म मात्र त थिइनँ तर पनि मेरा कर्म र भूमिकाले जे ग¥यो त्यसको भागिदार म पनि हुँ भन्ने लाग्छ र म लज्जीत छु । आफ्नै शीर ठाडो पारेर हिड्न सक्ने औकात छैन म सँग । प्रायश्चितको आगो दनदन दन्किएको छ मेरो छातीमा । म आफैँ भित्र मरिरहेको छु दिनदिन । किनकिन जीन्दगी सँग कुनै आशा नै नरहे झैँ लाग्छ मलाई । उकुसमुकुस छु । न कसैलाई भन्न सक्छु न कसैलाई साट्न नै सक्छु । आफैँ भित्र तड्पिनुको विकल्प छैन आज ।
सामान्य झैँ हामी सबै सँगै खेलिरहेका थियौँ । मेरो घर भन्दा माथि घर भएकी समिता साथी आइनन्, उनी बोर्डिङ स्कुल जान्थिन् तर म भने गाउँकै सरकारी स्कुल जान्थेँ तर साँझ खेल्ने मैदान भने एउटै हो, उहि पिपलटारे मैदान । किन आइनन् भन्ने पनि लागेन किनकी कहिलेकाहिँ होमवर्क बढि हुँदा र परीक्षाको समयमा अरु बेला पनि आउँदिन थिइन् । सामान्य भैmँ नै लाग्यो । खासै अरु साथीले पनि किन आइनन् भन्ने कुराको ख्याल गरेनन् । हामी खेलि नै रहेका थियौँ । हामी भन्दा एक दुई बर्ष उमेरले दाईहरु पनि हाम्रा साथी थिए । त्यतिकैमा एक हुल प्रहरीहरु भ्यान सहित हामी खेलिरहेको ठाउँमा आए र सोधे सोहन को हो ? हामी सबै डरायौँ, कोहि पनि बोलेनौ । किनकी हामीले त्यसभन्दा अघि त्यति नजिकबाट त्यति धेरै प्रहरीहरु देखेकै थिएनौ । फेरी प्रहरीले सोध्यो सोहन को हो ? भनेर अझै हामी बोलेनौ । त्यस पछि समिता र उनकी आमा भ्यानबाट झरेर सोहन उहि हो भनेर सोहनलाई चिनाइन् त्यतिकैमा प्रहरीले सोहनलाई समात्यो र भ्यानमा राखेर लग्यो । हामी दौडेर सोहनको घरमा गएर सबै कुरा सुनायौँ । सोहनको आमा त्यहिँ ढल्नुभयो । सोहनको बुबा छिमेकका काकाहरुलाई लिएर चौकीतिर लाग्नुभयो । हामी पनि डरले आ–आफ्नो घर लाग्यौ । रातभर डरले आमाको अंगालोबाट हात समेत नझिकिकन सुतेँ खासै निद्रा पनि परेन । बिहान आमाले रातभर कत्ति बरबराईस् सात्तो गयो कि समेत भनेको याद छ । साह्रै डर लागिरहेको थियो । स्कुल जान समेत कसरी जाने झैँ भयो तर पनि जानै प¥यो । तर पनि आमालाई घरी घरी सोधिरहेँ आमा सोहनलाई किन पुलिसले लगेको ? आमाले मलाई थाहा छैन आजबाट खेल्न गइस् भने खुट्टा भाँचिदिन्छु भनेर हकारिन् । स्कुलबाट फर्कदा त घरमा एक हूल अपरिचित मान्छेहरु मलाई नै कुरिरहेका थिए । म वास्तै नगरि घर भित्र छिरेँ आमाले बोलाईन् अनि म निस्केँ । निस्केपछि म नै अपराधी जसरी सोधपुछ गरियो । मैले मलाई केहि जानकारी नभएको बताएँ । आखिर मलाई थाहा पनि त केहि थिएन । पछि आमाले भन्नुभयो कि सोहनले समितालाई जर्बजस्तिकरणी करणी गरेको रे अनि उसलाई पुलिसले पक्रेको रे । म त के भए नै थाहा छैन जब कि मैले जर्बजस्तिकरणी भनेको के हो समेत बुझेकी थिईनँ । मेरै उमेरकी समिता, खै कसरी भयो यस्तो मलाई थाहा नै भएन । दिन बित्दै गयो । हाम्रो खेल्ने थलो सुनसान बन्दै गयो घरबाट खेल्न जाने दायाँ बायाँ जाने कुरामा बन्देज झैँ लाग्यो । म लगायत खेल्ने साथीहरु सबैलाई पुलिसकोमा लैजाने कुरा भएछ । त्यसको अघिल्लो दिन मेरो घरमा फेरी एक हूल मान्छेको भिड लाग्यो रात परेपछि । नेता, बुद्धिजीवी, संघसंस्थाका प्रतिनिधि सबै थिए । म आफैँ पीडित भइसकेकी थिए । अनेक तरहले मैले जर्बजस्तिकरणी गरेको देखेको भनि दिनुपर्ने दवाब आयो जर्बजस्तिकरणी भनेको नै नजानेकी मलाई दादाले समिता लगायत मेरो पनि यहाँ चलाउनु भयो । उहाँ चलाउनुभयो यसो गर्नु भयो उसो गर्नु भयो भन्न लागाईयो । मैले देखेको छैन म भन्दिन भन्दा मलाई फकाउने, हप्काउने तर्साउने लगायतका कुरा भयो । आमालाई समेत नानाथरी भने । गाउँका नेता आए, अपराधीलाई उम्कन दिनुहुन्न तैले भन्नै पर्छ भने । मलाई किन यति धेरै गरिराछन् मेरो बाल मस्तिष्कले कसरी बुझोस् । आमालाई प्रलोभन समेत दिन पछि परेका थिएनन् तिनीहरुले । मैले अझै पनि नदेखेको कुरा भन्दिनँ । मलाई दादा र साथी दुवैको माया छ भने दुबै जना अस्ति जस्तै म सँगै खेल्न आउनुपर्छ भने । त्यसपछि मलाई झुक्याईयो मैले यो सब प्रहरीकोमा भनेमा सोहन दादा तथा समिता दुबै पहिले जस्तै खेल्न आउने भन्दै रातभर मलाई छोडेनन् आमाले त मुन्टो हल्लाउदै नभन्न आग्रह नगरेकी होईनन् तर मैले मात्र साथीहरु सँगै खेल्न पाउने स्वार्थका लागि उनिहरुको साथ लागे जसोजसो भन भने उसैउसै भन्दै गए । मलाई के थाहा कि मेरो बयानका कारण सोहन दादा कहिल्यै नआउने गरि जेल जान्छ भनेर । मलाई आजसम्म पनि थाहा छैन कि सोहनले साँच्चिकै समितालाई जर्बजस्तिकरणी गरेको थियो भनेर । र म विश्वास गरुँ कसरी जबकी मेरो आँखाले न केहि देख्यो न महसुस नै ग¥यो । विश्वास नगरुँ आफ्नै छोरीलाई जर्बजस्तिकरणी नै नगरी कोहि आमाले जर्बजस्तिकरणी ग¥यो भन्न कसरी सक्छे र ? तर समिता माथि घटना घटेको भए पनि मेरो गल्ती भनेको अरुको लहलही र झुक्यानमा परेर गलत कुरा बयान गरेँ सोहन गलत हो होइन मलाई थाहा छैन तर मैले जे बोलेँ गलत बोलेँ भन्ने कुराले म सधैँ छटपटिरहेको छु । अदालतले जेल पठाएको रे । गाउँभरी हल्ला भयो फलानो अपराधी हो भनेर । सोहनको पक्षमा बोल्ने त्यतिबेला मैले कोहि देखिनँ । उ पनि बच्चा नै थियो भन्ने सहानुभूति त परै जाओस् । यदि सोहनले गल्ति गरेकै थियो भने उसले सजाँय पायो ठिकै छ तर गल्ति थिएन भने त्यसको परिणाम के हुन्छ यो समाजले त्यो कहिल्यै सोचेन । म जस्तो अबोधलाई समेत फकाई फुलाई गलत बोल्न लगाईयो । किन स्वतन्त्र रुपमा आफ्ना कुरा समेत बोल्न दिदैन यो समाज । स्वतन्त्र रुपमा भन्न सम्म दिएको भए पनि मलाई त्यति आत्माग्लानी हुन्न थियो होला, त्यसले त्यति पोलेको छ मलाई जति आगोले किन पोल्थ्यो होला । प्रत्यक्ष रुपमा मैले गल्ति गरेको पनि होइन, देखेको पनि होइन र मलाई कसैले केहि गरेको पनि होइन भन्ने सत्य मैले मेरी आमा बाहेक कसैलाई भनिनँ ।
आमाले सोहनको परिवार मार्फत एकपटक मेरो सत्य कुरा अदालतमा सुनाउन प्रयास पनि गरेकी थिईन् तर ढिलो भइसकेको थियो । केहि फाइदा नभएको बुझेपछि म झन् पीडामा परेको छु । जति उमेर बढ्दै छ जति बुझ्ने हुँदै छु त्यो घटनाले मलाई अझै सताउँदैछ । कस्तो समाज छ हाम्रो पैसा विना त निरपराधी समेत अपराधी बन्नुपर्ने, भएको अपराध समेत छोपिने । नेता भ्रष्ट, कर्मचारी भ्रष्ट अड्डा अदालत सबै भ्रष्ट । निमुखाले निस्कलंक बाँच्न सक्ने अवस्थै छैन । आज पनि पैसाको निम्ति राजनीति गर्ने र जागिरको निम्ती आफ्नो नैतिकता समेत गुमाउनेहरु देख्दा साह्रै दुःख लाग्छ । त्यस घटना पछि समिताको परिवार अन्यत्र बसाँई सर्यो । सोहनको परिवारले पनि खै कता तराई तिर बस्न गएको भन्ने सुनेकी थिए । तत्पश्चात न त समितासँग बोलचाल र भेटघाट छ । सोहन जेलमै छ या छुट्यो मलाई थाहा छैन । मेरो बाल मस्तिष्कले गल्ति गरेको मैले महशुस त पक्के गरेँ तर एक पटक सोहन सँग भेटेर सत्य तथ्य भन्न पाए आत्माले शान्ति पाउँथ्यो कि भन्ने छ र समितासँग भेटेर प्रष्ट हुन मन छ आखिर सत्य के थियो ? अरु त यस्तै हो यो निरीह समाज सँग मेरो केहि अपेक्षा नै छैन बस् यत्ति मात्र ।
अहिले कानून बदलिएको छ । उमेर बढाईएको छ । तर ब्यवहार र आवश्यकता भने फरक छ । एउटै कोठामा बसेका ब्यक्तिहरु पनि पछि जर्बजस्तिकरणीका नाममा जेल पुगेका छन् । उमेरका नाममा । जातका नाममा । धनी र गरिवका नाममा । यो चुनौती सामना गर्न नसक्नेहरुले जीवन त्यागेका छन् । कि हत्या गरेका छन् । स्वतन्त्रता बढी भयो वा दुरुपयोग ? आवश्यकता धेरै भयो वा ब्यवस्थापन गर्न सिकाईएन ? तर प्रेमका नाममा भएका विकृती, विसगती र ब्यक्तिले त्याग्ने जीवन भने महङ्गो हुँदै गएको छ । ब्यक्तिलाई झुटो बोल्न लगाएर किन बदला लिन्छ मान्छे ? हुन त कलियुग हो । तत् तत् स्थानमा देख्न सकिन्छ । तर पनि मनले मान्दैन मैले गरेको अपराधको क्षमा कसरी हुन सक्छ ?
अंकिता खत्री
सुर्यविनायक, भक्तपुर