मानिसको जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा के हो ?
यो प्रश्न सुन्दा साधारण लाग्छ, तर यसको गहिराई निकै विशाल छ । कसैका लागि धन सम्पत्ति ठूलो कुरा हुन्छ, कसैका लागि इज्जत प्रतिष्ठा, कसैका लागि शक्ति, पद वा सफलताको उचाई । वास्तवमा यी सबै कुरा जीवनका महत्वपूर्ण पक्ष हुन् । मानिसले आफ्नो आवश्यकता, परिस्थिति र सोच अनुसार प्राथमिकता निर्धारण गरेको हुन्छ । तर यदि गहिरिएर सोच्ने हो भने, यी सबैभन्दा माथि उभिने एउटा कुरा छ त्यो कुरा हो स्वास्थ्य ।
स्वास्थ्य राम्रो छ भने मानिसले जीवनका धेरै सपना पूरा गर्न सक्छ । ऊ मेहनत गर्न सक्छ, सोच्न सक्छ, सृजनशील बन्न सक्छ, परिवार र समाजका लागि थुप्रै कुराहरू गर्न सक्छ तर स्वास्थ्य मा समस्या आयो भने अथवा बिग्रियो भने आफैले प्राप्त गरेका धन, प्रतिष्ठा, सफलता सबै कुरा ओझेलमा पर्न थाल्छन् । बिरामी शरीर र निराश मन लिएर जीवनका अरू उपलब्धिहरू प्राप्त गर्न रहर नै रहँदैन । त्यसैले भनिन्छ, “स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो ।” आजको समयमा मानिसहरू अत्यन्त व्यस्त बन्दै गइरहेका छन् । बिहानदेखि बेलुकासम्म काम, जिम्मेवारी र प्रतिस्पर्धाको दौडमा दौडिरहेको छन् । धेरै मानिससँग आफ्नो शरीर र मनलाई समय दिने फुर्सद नै छैन । मोबाईल, इन्टरनेट, कार्यालय, व्यापार, आर्थिक दबाब र सामाजिक एवं पारिवारिक अपेक्षाले मानिसलाई यति व्यस्त बनाएको छ कि ऊ आफैलाई बिर्सिरहेको छ । शरीरले संकेत नदिँदासम्म मानिसले स्वास्थ्यको महत्व महसुस गर्दैन । जब समस्या नै देखिन थाल्छ, तब मात्र उसले अब स्वास्थ्यको ख्याल गर्नुपर्छ भन्ने सोच बनाउँछ तर कतिपय अवस्थामा त्यतिबेला धेरै ढिला भइसकेको हुन्छ । हामीले जीवनलाई केवल बाँच्ने प्रक्रियाका रूपमा होइन, स्वस्थ र सहज ढंगले जिउने यात्राका रूपमा बुझ्न आवश्यक छ । आखिर मानिसले धेरै पैसा कमाएर के गर्न सक्छ र, यदि उसले शान्त मनले खाना खान सक्दैन भने? ठूलो घर बनाएर के गर्ने, यदि त्यो घरभित्र ऊ नै रोगसँग संघर्ष गरिरहेको छ भने ? जीवनको वास्तविक सुख स्वस्थ शरीर र शान्त मनमा झल्केको हुन्छ । स्वस्थ जीवनका लागि सबैभन्दा पहिला आवश्यक कुरा हो आफैमा सचेतना । मानिसले आफ्नो शरीरलाई बुझ्नुपर्छ । शरीरले दिने संकेतलाई बेवास्ता गर्नु हुँदैन । नियमित स्वास्थ्य परीक्षण गर्ने बानी बसाल्नुपर्छ । हाम्रो समाजमा अझै पनि धेरै मानिस अस्पताल तब मात्र जान्छन्, जब रोग गम्भीर भइसकेको हुन्छ । तर रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु धेरै बुद्धिमानी कुरा हो जस्तो लाग्दछ ।
स्वास्थ्यको अर्को महत्वपूर्ण आधार हो खानपान । अचेल बजारमा पाइने धेरै खानेकुराहरू स्वादका नाममा स्वास्थ्यका लागि घातक बन्दै गएका छन् । जंक फुड, अत्यधिक तेल–मसला, रसायन मिसिएका प्याकेटका खानेकुरा, अस्वस्थ पेय पदार्थ आदिले मानिसको शरीरलाई बिस्तारै कमजोर बनाइरहेका छन् । बच्चाहरूमा त यसको प्रभाव झन् गम्भीर देखिन थालेको छ । पहिले घरमा पकाइने परम्परागत खाना, खाजा स्वास्थ्यको आधार थियो, अहिले त्यसको स्थान बजारका कृत्रिम स्वादले लिन थालेका छन् । हामीले खाने खाना शरीरमैत्री हुनुपर्छ । सफा, ताजा, पोसिलो र सन्तुलित भोजनले मात्र शरीरलाई ऊर्जा दिन सक्छ । प्रशस्त फलफूल, हरियो सागसब्जी, पर्याप्त पानी, नियमित समयको संयमित भोजन र संयमित खानपान स्वस्थ जीवनका आधार हुन् । हामीले खाने खाना स्वादका लागि मात्र होइन, स्वास्थ्यका लागि खाने संस्कारको विकास गर्न आवश्यक छ । त्यसैगरी, व्यायाम र शारीरिक गतिविधि पनि अत्यन्त आवश्यक छन् । आज धेरै मानिसको जीवन अफिसको कुर्सी र मोबाइल ल्यापटपका स्क्रिनमा सीमित हुँदै गएको छ । शरीर चलायमान नभएपछि विभिन्न रोगहरूले सजिलै घर बनाउँछन् । हामीले यस्ता रोगहरूबाट बच्न कृत्रिम रूपमा सधैं व्यस्त बनाइएको जीवनलाई बिहानको हिँडाइ, योग, ध्यान, दौड, साइक्लिङ लगायतका खेलकुद वा सामान्य अन्य व्यायामले पनि शरीर र मनलाई सन्तुलित राख्न मद्दत गर्छ । व्यायाम, योग, खेलकुद भनेको शरीर र मनलाई सुन्दर एवं शान्त बनाउने विधि हो । यो स्वस्थ जीवनको आधार हो । मानिसका लागि मानसिक स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण विषय हो । मानसिक तथा शारीरिक स्वास्थ्य एवं तन्दुरुस्तीका लागि समयसमयमा पदयात्रा, ट्रेकिङ गर्ने नयाँ नयाँ ठाउँहरू घुम्ने गर्नुपर्छ । नकारात्मक सोच, तनाव, रिस, ईष्र्या र निराशाले मानिसलाई भित्रैबाट कमजोर बनाउँछन् । सकारात्मक सोच राख्ने, अरूको भलो चाहने, मनलाई शान्त राख्ने र जीवनलाई सहज रूपमा स्वीकार गर्ने मानिसहरू तुलनात्मक रूपमा स्वस्थ देखिन्छन् । विज्ञानले पनि प्रमाणित गरिसकेको छ कि मानसिक शान्तिले शरीरलाई प्रत्यक्ष प्रभाव पार्छ ।
हामीले विशेषगरी बालबालिकालाई स्वास्थ्यप्रति सचेत बनाउन आवश्यक छ । यदि सानै उमेरदेखि सही खानपान, नियमित व्यायाम, योग, खेलकुद, छोटो छोटो पदयात्रा र अनुशासित जीवनशैलीको बानी बसाल्न सकियो भने भविष्यका पुस्ता शारीरिक एवं मानसिक रूपमा स्वस्थ बन्न सक्छन् । विद्यालयमा पनि पुस्तकको ज्ञानसँगै स्वास्थ्य शिक्षालाई अझै व्यवहारिक रूपमा सिकाइनुपर्छ । मोबाइल गेममा सीमित हुँदै गइरहेका बालबालिकालाई खुला मैदान र शारीरिक गतिविधितर्फ आकर्षित गर्नुपर्छ । आज हाम्रो देशमा खाद्य गुणस्तरको अवस्था पनि चिन्ताजनक छ । बजारमा कस्ता सामग्री प्रयोग गरेर खानेकुरा बनाइन्छ, त्यसको निगरानी प्रभावकारी रूपमा भएको देखिँदैन । सरकारी निकायहरू भए पनि तिनीहरूको काम सधैं प्रभावकारी भएको अनुभूति जनताले गर्न सकेका छैनन् । विश्व स्वास्थ्य संगठनले तय गरेका मापदण्डअनुसार खाद्य वस्तु उत्पादन हुनुपर्ने हो, तर व्यवहारमा त्यसको पालना कमजोर देखिन्छ । यसले दीर्घकालीन रूपमा जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । सरकारले खाद्य सुरक्षा, स्वच्छता र जनस्वास्थ्यलाई प्राथमिकतामा राख्न आवश्यक छ तर केवल सरकारलाई दोष दिएर मात्र पुग्दैन । सरकारी स्तरबाट गर्नुपर्ने काम आफ्नो ठाउँमा छ तर त्यसका लागि हामी प्रत्येक नागरिक पनि सचेत हुनुपर्छ । हामीले आफैँले के खाने, र कसरी बाँच्ने भन्ने कुरामा जिम्मेवार बन्नुपर्छ ।
अन्ततः, एउटा व्यक्ति स्वस्थ भयो भने परिवार स्वस्थ हुन्छ । परिवार स्वस्थ भयो भने समाज स्वस्थ हुन्छ, र स्वस्थ समाजले नै समृद्ध राष्ट्र निर्माण गर्न सक्छ । स्वस्थ मानिससँग सोच्ने शक्ति हुन्छ, सिर्जना गर्ने क्षमता हुन्छ र समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउने ऊर्जा हुन्छ ।
जीवन आफैंमा रहस्यमय छ । मानिस कहिले, कहाँ र कसरी जीवनको अन्तिम मोडमा पुग्छ भन्ने कसैलाई थाहा हुँदैन । तर जति समय बाँचिन्छ, त्यो समय स्वस्थ, शान्त र सार्थक रूपमा बाँच्न सकियो भने त्यही नै जीवनको सबैभन्दा ठूलो उद्देश्य प्राप्ति अथवा सफलता हो ।









